Comments Add Comment

ताप्लेजुङ दुर्घटनामा खोज र उद्दारमा खटिने ३ प्रहरी पुरस्कृत

६ चैत, काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनापछि खोजतलास र उद्दारमा सक्रिय ३ जना कनिष्ठ प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

१ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरले अस्थाई प्रहरी चौकी, माथिल्लो फेदी ताप्लेजुङमा कार्यरत प्रहरी हवल्दार वेदकुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र मनोजकुमार चौधरीलाई पुरस्कृत गरेको हो ।

उनीहरुलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको प्रदेश १ का डीएसपी सिद्धराज न्यौपानले बताए ।

प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) केदार रिजालद्वारा हस्ताक्षरित प्रमाण पत्रमा उनीहरुले कर्तव्य पालनाको सिलसिलामा आफ्नो जिउ ज्यानको पर्वाह नगरी अति जोखिमपूर्ण अवस्थामा अनवरत रुपमा प्रतिकुल भौगोलिक अवस्था र मौसमका बाबजुत बहादुरी तथा उच्च मनोवलका साथ उद्दार र खोजतलास एवं संकलन कार्यमा खटेर प्रशंसनीय काम गरेको भनिएको छ ।

यो पुरस्कार प्रहरी अधिकारीको बढुवा अंकमा पनि जोडिन्छ भने पुरस्कृत प्रहरीको विवरणसहितको फ्लेक्स प्रिन्ट विराटनगरमा रहेको प्रहरी स्तम्भ र १ नम्बर प्रदेशभरिका इलाका प्रहरी कार्यालयमा एक महिनासम्म राखिँदै आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment