+
२०औं एसियन गेम्स :

१२ वर्षपछि नेपालले अफगानिस्तानसँग एसियन गेम्समै लियो बदला

२०८३ असोज  ९ गते १६:१२ २०८३ असोज ९ गते १६:१२

एसियाली खेलकुद अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पुरानो हारको हिसाब चुक्ता मात्र गरेन, प्रतियोगिताको क्वाटरफाइनल प्रवेशसमेत लगभग निश्चित बनाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एसियाली खेलकुदमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै १२ वर्षअघिको हारको बदला लिएको छ।
  • कुशल भुर्तेलले ४ विकेट र ललित राजवंशीले ३ विकेट लिएर अफगानिस्तानलाई १०२ रनमा सीमित गरे।
  • नेपालले १०३ रनको लक्ष्य १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै क्वाटरफाइनल यात्रा लगभग निश्चित बनाएको छ।

सन् २०१४ को इन्चोन एसियाली खेलकुद। क्वाटरफाइनलमा अफगानिस्तानले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल ८ रनले चुकेको त्यो क्षण नेपाली क्रिकेट प्रशंसकका लागि अझै पनि एउटा नमीठो घाउ बनिरहेको थियो । त्यही एक हारले नेपाललाई पदकको ऐतिहासिक सम्भावनाबाट टाढा धकेलेको थियो ।

तर, ठीक १२ वर्षपछि एसियाली खेलकुदकै मञ्चमा इतिहास दोहोरिएन, बरु रचियो । एसियाली खेलकुद अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पुरानो हारको हिसाब चुक्ता मात्र गरेन, प्रतियोगिताको क्वाटरफाइनल प्रवेशसमेत लगभग निश्चित बनाएको छ ।

हुन त नेपाल र अफगानिस्तान त्यस वर्ष एसियन गेम्समा खेल्नुभन्दा केही महिनाअघि पनि भिडेका थिए, टी-२० विश्वकपमा । उक्त खेलमा भने नेपाल विजयी भएको थियो ।

तर एसियन गेम्समा बेहोरेको हार नेपालका लागि पदक यात्रामा अघि बढ्न तगारो बनेको थियो, जसको बदला त लिनु नै थियो र अन्तत: त्यो पूरा पनि भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तान नेपाली स्पीन आक्रमणसामु निरिह देखिएको थियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै अफगानिस्तान १०२ रनमै समेटियो । फेसल शिनोजादाले ३३ र अनुभवी नजिबुल्लाह जाद्रानले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले नेपाली बलरविरुद्ध संघर्ष गर्न सकेनन् ।

नेपालका लागि स्पीनर कुशल भुर्तेलले करियरकै उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे । दुवैको घातक स्पीन टोलीका सामु अफगानिस्तानको मध्यक्रम पूर्ण रूपमा धराशायी बनेको थियो ।

१०३ रनको विजयी लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर सहजै पूरा गर्यो । नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे। यस्तै, दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिँदै इनिङ्सलाई सम्हालेका थिए ।

यो जितसँगै नेपालको क्वाटरफाइनल यात्रा बलियो बनेको छ । नेपालले क्वाटरफाइनलमा भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ, जसको अन्तिम टुंगो भोलि हुने जापानविरुद्धको खेलले लगाउनेछ ।

नेपालले जापानलाई पराजित गरे समूह विजेता बन्दै क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्नेछ । यदि जापानसँग पराजित नै भए पनि (अप्रत्याशित ठूलो अन्तरको हार नभएमा) नेपाल समूह उपविजेताका रूपमा क्वाटरफाइनलमा भारतसँग भिड्नेछ ।

भुर्तेल र ललितको शानदार बलिङ

खेलमा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको थियो । अफगनिस्तानले कन्डिशन अनुसार टस जितेर पहिले ब्याटिङ रोजेको थियो, तर नेपाली बलरहरू सुरुदेखि नै हावी बने ।

पहिलो ओभर नै बलिङ गर्न आएका ललितले पहिलो ओभरमै हसन ऐसाखिललाई बोल्ड गर्दै पेभेलियन फर्काए । त्यसपछि तेस्रो ओभरमा उनले मोहम्मद अकरमलाई क्याच आउट गराएपछि अफगानिस्तान दबाबमा आएको थियो ।

ललितले नै पाँचौं ओभरमा अनुभवी करिम जनतलाई शानदार बलिङमार्फत् बोल्ड गरेपछि अफगानिस्तान १६-३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि भने अफगानिस्तानले साझेदारी बनाउन थालेको थियो । तर कुशल भुर्तेलले साझेदारी तोडे । ११औं ओभर बलिङमा आएका भुर्तेलले सेट भएर खेलिरहेका फेसल शिनोजादाइलाई आउट गरे ।

भुर्तेलले १५औं ओभरमा मोहम्मद इशक र डार्विश रसूलीलाई लगातार बलमा आउट गरेपछि नेपालले खेलमा पकड बनाएको थियो । भुर्तेलले १७औं ओभरमा नजिबुल्लाह जाद्रानलाई पनि आउट गर्दै चौथो विकेट पूरा गरे ।

स्पीनरहरूको घातक बलिङपछि अफगानिस्तान २० ओभरमा ७ विकेट गुमाएर १०२ रनमै रोकियो । यो मैदानको कन्डिशन अनुसार यति स्कोर प्रतिस्पर्धात्मक भएपनि केही कम पक्कै थियो ।

खेलपछि दीपेन्द्रले नेपालले सुरुदेखि नै स्पीनरमाथि भरोसा गरेको बताए । ‘स्पीनरहरूले राम्रो गर्छन् भन्ने सोचेका थियौं। ललित र कुशलले उत्कृष्ट बलिङ गरे। कम स्कोरमा रोक्न सक्यौं, त्यसैले लक्ष्य पछ्याउन सजिलो भयो’ उनले भने ।

खराब सुरुवातपछि उत्कृष्ट मध्यक्रम ब्याटिङ

ब्याटिङमा नेपालले खराब सुरुवात गरेको थियो । कुशल भुर्तेल खाता नखोली आउट भएपछि नेपालले पहिलो ओभरको दोस्रो बलमा रन नजोड्दै विकेट गुमाएको थियो । त्यसपछि चौथो ओभरमा आसिफ पनि २ रनमै आउट भए ।

वान डाउनमा खेलेका सन्दीप जोराले राम्रो ब्याटिङ गर्दै संयमित भएर खेल्दै ३५ बलमा ३४ रन बनाए । यसबीचमा उनीसहित दुई ब्याटर रनआउट समेत भएका थिए । कुशल मल्ल ९ रनमा रनआउट भएका थिए भने हतासमा रनको प्रयासमा जोरा आफैं पनि रनआउटको शिकार भएका थिए ।

जोरा आउट हुँदा नेपाल १० ओभरमा ५६-४ को अवस्थामा थियो । त्यहाँबाट कप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल मिलेर साझेदारी बनाए । उनीहरूले ४६ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।

नेपाली ब्याटरहरूको विशेषगरी दीपेन्द्र र रोहितको रनिङ बिटविन द विकेट्स शानदार देखिन्थ्यो, फिल्डरको गल्तीमा रन चोरिहाल्ने र रिस्क नहुने गरी २ रन बटुल्ने काम उनीहरूले गरेका थिए ।

यसरी नेपालले १२ वर्षपछिको भेटमा अफगनिस्तानलाई हराउन सफल भयो ।

कुशल भुर्तेलले ब्याटिङबाट नभएपनि बलिङबाट योगदान दिन पाउँदा निकै खुसी लागेको बताए । ‘ब्याटबाट आज राम्रो हुन सकेन, तर बलिङमा योगदान दिन सकें, त्यसमा खुसी छु । म क्रिकेटमा निकै इन्जोए गर्छु सानैदेखि, त्यहीभएर जुन् फिल्डमा भएपनि योगदान दिन पाउँदा रमाइलो लाग्छ’ उनले भने ।

क्वाटरफाइनल लगभग निश्चित

नेपाल अब समूह चरणको अन्तिम खेल शनिबार जापानसँग खेल्दैछ । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

जापानसँग पराजित भए पनि नेपाल अन्तिम आठमा पुग्ने सम्भावना बलियो छ । तर जित निकाल्न सके नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा श्रीलंकासँग भिड्नेछ ।

दीपेन्द्रले पनि जापानविरुद्धको खेललाई उत्तिकै महत्त्वपूर्ण मान्दै पदक लक्ष्य अझै जीवित रहेको बताए ।

‘टिम बुस्टेड छ, अनुभव पनि छ । मेडल ल्याउन हाम्रो तर्फबाट १०० प्रतिशत दिएका छौं’ उनले भने ।

१२ वर्षअघि अफगानिस्तानसँगको हारले नेपालको पदक सपना टुटेको थियो । यसपटक त्यही प्रतिद्वन्द्वीमाथिको जितले नयाँ इतिहास लेख्ने आशालाई अझ बलियो बनाएको छ ।

२०औं एसियन गेम्स एसियन गेम्स पुरुष क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय