News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले बैंग्लुरुमा पानामासँग १–१ गोलको बराबरी खेलेको छ ।
- भारतका लागि रायन विलियम्सले ४१औँ मिनेटमा गोल गरे भने पानामाका ओमार भ्यालेन्सियाले ६८औँ मिनेटमा बराबरी गोल फर्काए ।
- भारतले अब ३ अक्टोबरमा कोलकातामा ब्राजिलसँग र त्यसको तीन दिनपछि उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ । शुक्रबार बैंग्लुरुको श्री कान्तिरवा रंगशालामा भएको खेलमा भारतका लागि रायन विलियम्सले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा ओमार भ्यालेन्सियाले पानामाका लागि बराबरी गोल फर्काए ।
भारतलाई खेलको ४१औँ मिनेटमा विलियम्सले अग्रता दिलाएका थिए । आकाश मिश्राले अगाडि पठाएको लामो पासलाई सदुपयोग गर्दै पानामाको रक्षापंक्तिको पछाडि पुगेका विलियम्सले गोलरक्षक मार्कोस रेयेसलाई छलाउँदै भारतलाई १–० को अग्रता दिलाए ।
पहिलो हाफमा भारतले केही राम्रा अवसर सिर्जना गरेको थियो । आठौं मिनेटमा आकाश मिश्राको कटब्याकमा विलियम्सले प्रहार गर्ने अवसर पाए पनि सफल हुन सकेनन् । त्यसको १० मिनेटपछि विलियम्सको प्रहार थोरैले बाहिरियो भने आशिक कुरुनियनको प्रहार पनि पोस्टको बाहिरी जालीमा लाग्यो ।
दोस्रो हाफमा पानामाले आक्रमण बढायो । भारतका गोलरक्षक गुरप्रीत सिंह सन्धुले ५०औं मिनेटमा जियोभानी हर्बर्टको प्रयास रोकेर टोलीलाई अग्रता कायम राख्न मद्दत गरे ।
तर ६८औं मिनेटमा ओमार भ्यालेन्सियाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको लामो दूरीको प्रहार गोलमा परिणत गर्दै पानामालाई खेलमा फर्काए ।
त्यसपछि पानामाले अग्रता लिन दबाब बढाएको थियो । पानामाको एक प्रहार पोस्टमा लाग्यो भने गुरप्रीतले अर्को महत्वपूर्ण बचाउ गरे । भारतले पनि खेलको अन्तिमतिर गोलका अवसर बनाएको थियो ।
वैकल्पिक खेलाडी एडमन्ड लालरिन्दिकाको पासमा मनवीर सिंह गोलको नजिक पुगे पनि सफल हुन सकेनन् । अभिषेक सिंह टेकचामको प्रहार पनि लक्ष्यमा पुग्न सकेन ।
फिफा वरीयतामा १३८औं स्थानमा रहेको भारतले ४४औं स्थानको पानामाविरुद्ध बराबरी खेलेको हो । यसअघि भारतले बैंग्लुरुमै सन् २०२३ मा साफ च्याम्पियनसिप जितेको थियो ।
भारतले अब अक्टोबर ३ मा कोलकातामा पाँचपटकको विश्व विजेता ब्राजिलसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसको तीन दिनपछि सोही मैदानमा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4