+

हिमालय स्पोर्टस्‌मा एनपीएल प्रसारणको ‘टाइटल स्पोन्सर’ बन्यो रेड बुल

२०८३ असोज  ९ गते २१:४९ २०८३ असोज ९ गते २१:४९

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको हिमालय टेलिभिजनमार्फत हुने प्रत्यक्ष प्रसारणका लागि रेड बुल ‘टाइटल स्पोन्सर’ का रूपमा आबद्ध भएको छ ।

९ असोज, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको हिमालय स्पोर्टस्‌ टेलिभिजनमार्फत हुने प्रत्यक्ष प्रसारणका लागि रेड बुल ‘टाइटल स्पोन्सर’ का रूपमा आबद्ध भएको छ ।

यस सहकार्यसँगै हिमालय स्पोर्टस्‌मा टेलिभिजनमा एनपीएलको प्रसारण रेड बुलको मुख्य प्रायोजनमा प्रस्तुत हुनेछ ।

नेपालमा क्रिकेटप्रतिको बढ्दो उत्साह र एनपीएलको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित रेड बुल र हिमालय टेलिभिजन नेटवर्कबीच यो सहकार्य भएको हो ।

प्रत्यक्ष खेलसँगै प्री–म्याच र पोस्ट–म्याच कार्यक्रम तथा विशेष खेल सामग्रीमार्फत दर्शकलाई उत्कृष्ट र आकर्षक प्रसारण अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।

‘नेपाल प्रिमियर लिगको हाम्रो प्रसारण यात्रामा रेड बुलजस्तो विश्वव्यापी र ऊर्जावान ब्रान्डलाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ सहकार्यबारे हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले भने ।

नेपाली क्रिकेटले अहिले अभूतपूर्व उत्साह र सम्भावना बोकेको बताउँदै उनले हिमालय टेलिभिजन र हिमालय स्पोर्ट्समार्फत एनपीएललाई उत्कृष्ट प्रसारण, आकर्षक प्रस्तुति र व्यापक पहुँचसहित दर्शकमाझ पुर्‍याउन प्रतिबद्ध रहेको बताए । ‘रेड बुलसँगको यो सहकार्यले त्यस यात्रालाई अझ बलियो बनाउनेछ,’ उनले भने ।

रेड बुल नेपालका तर्फबाट सरस बेभरेजेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले रेड बुल सधैं ऊर्जा, खेलकुद र उत्कृष्ट प्रदर्शनसँग जोडिएको ब्रान्ड रहेको बताए ।  ‘क्रिकेटप्रति नेपाली दर्शकको जुन उत्साह र ऊर्जा छ, त्यससँग रेड बुलको स्वभाविक सम्बन्ध छ,’ उनले भने, ‘एनपीएल आज नेपाली खेलकुदको एउटा महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुँदैगएको छ र हिमालय टेलिभिजनसँग यसको प्रसारणमा टाइटल स्पोन्सरका रूपमा जोडिन पाउँदा हामी उत्साहित छौं ।’

यो साझेदारीमार्फत क्रिकेटको उत्साहलाई अझ धेरै दर्शक र समर्थकसम्म पुर्‍याउन चाहेको उनले बताए ।

हिमालय टेलिभिजन नेटवर्कले एनपीएलको प्रत्यक्ष खेल प्रसारणसँगै खेलअघि र खेलपछिका विशेष कार्यक्रम, विश्लेषण तथा प्रतियोगिताका प्रमुख क्षणहरूलाई समेट्दै दर्शकलाई सम्पूर्ण क्रिकेट अनुभव प्रदान गर्ने बताइएको छ ।

रेड बुल र हिमालय टेलिभिजनबीचको यो साझेदारीले ब्रान्ड, खेलकुद र दर्शकलाई एउटै प्लेटफर्ममा जोड्दै नेपालमा खेलकुद प्रसारण तथा स्पोर्ट्स मार्केटिङको विकासमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको सम्बन्धित कम्पनीले बताएका छन् ।

हिमालय स्पोर्ट्सले एनपीएलको तेस्रो संस्करणको प्रसारण अधिकारका लागि करसहित झण्डै १७ करोड २४ लाख रुपैयाँको कीर्तिमानी रकम तिरेर अधिकार प्राप्त गरेको थियो । नेपाली खेलकुद प्रसारणको क्षेत्रमा गरिएको यो अहिलेसम्मकै महत्वपूर्ण लगानीमध्ये एक हो ।

यस वर्ष हिमालय स्पोर्ट्सले एनपीएलको प्रसारणलाई अझ व्यापक र समावेशी बनाउँदै अंग्रेजीसँगै नेपाली र मैथिली भाषामा समेत कमेन्टरी उपलब्ध गराउने बताएको छ ।

एनपीएल प्रसारण टाइटल स्पोन्सर रेड बुल हिमालय टेलिभिजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय