Comments Add Comment

एमाओवादी नेताको दृष्टिमा कांग्रेस र देउवाको जित

-राम कार्की

नेपाली कांग्रेसका दुई आयाम छन्- अन्तर्राष्ट्रिय र राष्ट्रिय आयाम । अन्तर्राष्ट्रिय रुपमा हेर्दा प्रजातान्त्रिक समाजवादलाई आफ्नो सैद्धान्तिक आधार मान्ने ढंगले नेपाली कांग्रेसको जन्म भएको देखिन्छ । राष्ट्रिय रुपमा हेर्दा तत्कालीन सत्ता अपदस्थ गर्ने उद्देश्यले कांग्रेस आएको हो ।

ram-karkiप्रजातान्त्रिक समाजवादप्रतिको निष्ठाका कारण कम्युनिस्टहरूसँग राजनीतिक रुपमा मञ्चहरू साझा बनाउने, कार्यगत एकता गर्ने, संयुक्त मोर्चा बनाउने कुराबाट जहिले पनि बीपी कोइराला बच्ने कोसिस गरे । तर, तत्कालीन सत्ताविरोधी आन्तरिक चरित्रका कारण गणेशमान, कृष्णप्रसाद भट्टराईको नेतृत्वमा कम्युनिस्ट पार्टीहरूसँग अलाइन्स गरेर कांग्रेस सत्ताविरुद्ध जाइलाग्यो ।

अहिले सुशील कोइरालाको हठात् निधनपछि कांग्रेसले १३औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । तर, यो महाधिवेशन नीतिमा आधारित देखिएन, नेपाललाई डोर्याउने एउटा सुस्पष्ट चिन्तन देखा परेन । नीति सिद्धान्तबिना नेता वा व्यक्तिहरूलाई मात्रै उभ्याइएकाले यो महाधिवेशन व्यक्तिहरूबीचको एउटा सत्ता संघर्षजस्तो मात्रै देखियो । त्यो प्रतिस्पर्धाबाट शेरबहादुर देउवा कांग्रेसको नेतृत्वमा आएका छन् । अब कांग्रेसको ‘राइलिङ पोइन्ट’ के हुन्छ त ? के नीति वा विचारलाई लिएर नेपाली कांग्रेस घुम्छ त ? यस प्रश्नमा भने कांग्रेसले आफ्नो धुरी तत्कालका लागि गुमाएको छ ।

खासगरी दुई-चार वर्ष युरोप-अमेरिका बसेर आएका अलि पढे-लेखेकाहरूको एउटा तप्का छ कांग्रेसमा । विदेश बसेकाले उनीहरूले त्यहाँको पुँजीवाद, निजीकरणलाई अन्धानुकरण गरेको, त्यस्तो विचार व्यक्त गरेको देखिन्छ ।

केही पहिले कांग्रेस कोइरालालाई परिवारलाई धुरी बनाएर घुम्ने गथ्र्यो- सिद्धान्त, विचार केही नहुँदा पनि यो चल्थ्यो । खासगरी दुई-चार वर्ष युरोप-अमेरिका बसेर आएका अलि पढे-लेखेकाहरूको एउटा तप्का छ कांग्रेसमा । जो खासगरी हिजोको जेल-नेल नसहेको, कष्ट नव्यहोरेको तर वैचारिक रुपमा अलिकति ‘सार्प’ भनेर चिनिन्छ । विदेशमा बसेकाले उनीहरूले त्यहाँको पुँजीवाद, निजीकरणलाई अन्धानुकरण गरेको, त्यस्तो विचार व्यक्त गरेको देखिन्छ । उनीहरूले यो बुझेनन् कि युरोप-अमेरिका जहाँको कुरा उनीहरू गर्दैै छन्, त्यहाँ सयौँ वर्ष पुराना राज्य छन्, ती राज्यका संयन्त्र असाध्यै बलिया र शक्तिशाली छन् ।

त्यसैले ती देश निजीकरण इत्यादिमा जति नै अगाडि गए पनि त्यसलाई अनुगमन गर्ने संयन्त्र राज्यसँग छ । नेपालजस्तो देश जहाँ राज्यको संयन्त्र असाध्यै कमजोर छ । यहाँ सरकारकै नियन्त्रणमा भएका कार्यको पनि राम्ररी अनुगमन हुन नसक्ने अवस्था छ, सीडीयो कार्यालय खरदार-सुब्बाले चलाउनुपर्ने अवस्था छ । यो अवस्थामा निजीकरणको विचार कांग्रेसमा आयो, जसले देशको आर्थिक गतिविधिमा कुनै प्रभाव पार्न सकेन ।

त्यस विचारलाई विराम दिएर नेपाललाई एउटा विशिष्ट आर्थिक, राजनीतिक बाटोमा हिँडाउने सोच कांग्रेसमा देखापरेको छैन । त्यसैले आगामी दिनमा पनि कांग्रेसभित्र व्यक्तिगत आपसी टक्कर, त्यही भद्रगोल नै देखिन्छ जस्तो मलाई लाग्छ ।

अब कांग्रेसले एउटा राजनीतिक धुरी, सैद्धान्तिक धुरी निर्माण गर्न सकेन भने देउवा कोइराला परिवारकै अर्को मान्छेका निम्ति अहिले कुर्सीलाई तातो बनाइराख्ने एक पात्र मात्रै पनि बन्न सक्छन् ।

अहिलेको नेपाली कांग्रेस खासगरी अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंकहरूले दिने निर्देशनलाई चुपचाप पालना गर्ने एउटा राजनीतिक एजेन्ट मात्रै बन्न पुगेको छ । पुरानो, सिद्धान्तनिष्ठ पार्टी भएको जुन कांग्रेसको साख थियो, त्यो अहिले खस्कँदै गएको छ । तर, अरु डेमोक्रेटिक पार्टीहरू विकल्पमा नभएको र कम्युनिस्टहरूको संगठन गर्ने शैली, संगठनात्मक सिद्धान्तहरू धेरै पुरानो भइसकेको अवस्थामा कांग्रेसले देशमा एउटा स्पेस पायो । नेपालमा कम्युनिस्टको अवस्थालाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनेर भन्ने गरिन्छ ।

लेनिनले नै आफ्नो कार्यनीति रुसका लागि मात्रै हो, अरु देशका क्रान्तिकारीले आफ्नै संगठन बनाउनुपर्छ भनेका थिए । त्यही लेनिनका पुराना कुरालाई सिद्धान्त बनाएर, त्यसलाई म्याग्निफाइड गरेर नेपालका कम्युनिस्टले लागू गरेकाले यहाँ एउटा ठूलो डेमोक्रेटिक स्पेस कांग्रेसले कब्जा गर्न पाइरहेको छ । विकल्पमा अलिकति वामपन्थीभन्दा दक्षिणपन्थी र अहिले कांग्रेस जस्तो दक्षिणपन्थी छ, त्योभन्दा अलि वामपन्थी खालको निष्ठा भएको एउटा नयाँ पुस्ता अगाडि आयो भने नेपाली कांग्रेसले आफ्नो जमिन गुमाउँदै जाने जस्तो मलाई लाग्छ ।

नेपाली कांग्रेसले अर्को वैकल्पिक राजनीतिक धुरी निर्माण गर्न सकेन भने, शेरबहादुर देउवा लालबहादुर शास्त्री बन्न पनि सक्छन् । अब कांग्रेसले एउटा राजनीतिक धुरी, सैद्धान्तिक धुरी निर्माण गर्न सकेन भने देउवा कोइराला परिवारकै अर्को मान्छेका निम्ति अहिले कुर्सीलाई तातो बनाइराख्ने एक पात्र मात्रै पनि बन्न सक्छन् ।

कम्युनिस्ट घोषणा पत्रबारे एउटा लामो भूमिका लास्कीले लेखेका छन् । त्यही भूमिकालाई आफ्नो प्रस्तावनाको रुपमा प्रजातान्त्रिक समाजवादीहरूले विश्वभरि लिएको पाइन्छ । यसैले बीपीलाई कम्युनिस्टहरूको नजिक जानबाट सधैँ रोक्यो । तर, आन्दोलनकारी खालको पृष्ठभूमि र चरित्र भएका गणेशमानहरूको अगुवाईमा नेपालमा संयुक्त आन्दोलन हुन सक्यो । पछि गएर न गणेशमानको जस्तो निष्ठा वा एक्सन ओरिन्टेड नेतृत्व देखियो, न त बीपीहरूजस्तो सिद्धान्तको व्याख्या गर्न सक्ने, आफ्ना कुरालाई तार्किक निष्कर्षमा पुर्याउन सक्ने त्यस्तो बौद्धिकता भएको नेता नै आए ।

यसरी खासगरी गिरिजाप्रसाद कोइरालाको पालामा आइसक्दा कांग्रेस गन्जागोल हुन पुग्यो । र, त्यही गिरिजाप्रसादको लिगेसी नै अहिलेसम्म कांग्रेसमा चलिरहेको छ । नेपाली कांग्रेस पनि कमसे कम कुनै न कुनै सैद्धान्तिक राजनीतिक मियोमा घुमोस्, देश र समाज बनाउन उसको पनि भूमिका रहोस् र कांग्रेससँग प्रतिस्पर्धा गर्न पाइयोस् भन्ने हामी चाहन्छौँ । तर, हाम्रोमा राजनीतिक भद्रगोल जुन छ, राजनीतिक दलको राम्रो मियो नहुँदा, त्यसले कर्मचारीले पनि, व्यापारीले पनि राजनीति गर्ने देखिएको छ । यो भद्रगोलको अन्त्यका निम्ति नेपाली कांग्रेसका अहिलेका जति कर्णधार छन्, उनीहरूले ध्यान दिनुपर्छ ।
(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment