Comments Add Comment

ठेकदार र सडक कार्यालयको विवादले घुमाउनेघाटमा पुल बनेन

१४ चैत, चितवन । ठेकदार र सडक कार्यालयबीचको विवादले चितवन र तनहुँ जोड्ने गरी घुमाउनेघाटमा बन्न लागेको पुल अलपत्र परेको छ । त्रिशुली नदीमाथिको उक्त पुल निर्माणको लागि तनहँुतर्फको भागमा जग खन्न शुरु भए पनि चितवनतर्फ केही काम भएको छैन ।

पुलको संरचना बनाउँदा सडक भासिने भन्दै नारायणगढ मुग्लिन सडक आयोजनाले मागेको सुरक्षा प्रत्याभूतिको ग्यारेन्टी ठेकेदारले नदिएका कारण काम रोकिएको हो । सडक डिभिजन कार्यालय दमौलीले समेत ठेकेदार मृत सञ्जिवनी निर्माण कम्पनीसँग पुलदेखि नारायणगढ मुग्लिन सडकखण्डसम्मको सडकको डिजाइन माग गरेको छ ।

तर, ठेकेदार कम्पनीले अहिलेसम्म नदिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णु काफ्लेले जानकारी दिए । ३÷४ पटक पत्र पठाउँदा पनि ठेकेदारले आलटाल गरेको उनले बताए ।

सो पुल डिजाइन एण्ड विल्ड (डिजाइन र निर्माण) का आधारमा ४ बर्षभित्र निर्माण गर्न गतबर्ष हेटौंडाको मृत सञ्जिवनीलाई जिम्मा दिइएको हो । उसले काम गर्न भनेर १० प्रतिशत पेश्कीसमेत लिइसकेको छ ।

ठेकेदार कम्पनीका प्रवन्धक गौरी उप्रेतीले आफूहरुले पहिले नै डिजाइन स्वीकृत गरिसकेको दावी गरे । ‘पहिला नै डिजाइन गर्दा उहाँहरुले के हेर्नुभयो र ठेक्का स्वीकृत गर्नुभयो’ प्रवन्धक उप्रेतीले अनलाइनखबरसँग भने, ‘हामीले बुझाएको डिजाइनसहितको सबै कागजात उहाँहरुसँग नै छ ।’

प्रबन्धक उप्रेतीले नारायणगढ मुग्लिन आयोजनालाई पनि डिजाइन बुझाएको दावी गरे । उनले सडक डिभिजन कार्यालय दमौली र नारायणगढ–मुग्लिन सडक आयोजनाले आवश्यक समन्वय गरेर ठेकेदार कम्पनीलाई जानकारी गराउनुपर्ने बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहित विसुरालले निर्माण सम्पन्न भइसकेको सडकलाई असर नपर्ने आधार माग गरिएको बताए । ‘पुल निर्माण गर्दा सडकलाई असर पदैैन भन्ने ग्यारेन्टी ठेकेदारले दिनुपर्छ’ उनले भने ।

चितवनलाई पोखरासँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गलाई जोड्न घुमाउनेघाटमा त्रिशुली नदीमाथि पुल निर्माण गर्न गत बर्ष ठेक्का लगाइएको हो ।

तनहुँको सदरमुकाम दमौलीदेखि घुमाउनेसम्मको दूरी ३२ किलोमिटर छ । सेती नदीको किनारै किनार घुमाउनेघाट, प्युघर, सराङघाट, मासीघाट, सुँढे, बेलवास हुँदै दमौली पुग्न सकिन्छ । यहाँ पुल बने नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली सम्मको दूरी अहिलेको भन्दा २५ किलोमिटर छोटो हुनेछ ।

अहिले मुग्लिन, आबुँखैरेनी, डुम्रे हुँदै दमौली जानुपर्छ । यो पुल निर्माण भएमा नारायणगढबाट घुमाउनेघाटको पुल तरेर बुद्धसिंह मार्ग हुँदै पुगिन्छ । अहिले उक्त मार्गमा सडक स्तरोन्नती पनि भइरहेको छ । घुमाउनेघाटमा १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने ‘मोटरेवल पुल’ सडक विभागको पुल महाशाखाले ८ करोड २६ लाख रुपैयाँको लागतमा निर्माण ठेक्का सम्झौता गरेको हो  ।

दुई लेनको पुलमा ७.५ मिटर गाडी गुड्ने भाग रहने डिजाइनमा उल्लेख छ । यो पुल अत्याधुनिक प्रविधिको आर्क डिजाइनमा बनाउने सम्झौता छ । मोटरेवल पुल नहुँदा तनहुँको धरमपानी, प्यूघर, सराङघाटलगायतका स्थानीयलाई आउजाउमा समस्या छ ।

अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू आउने जाने गरेका छन् । तर पुल नहुँदा ती बस नारायणगढ–मुग्लिन सडकखण्डसम्म आउन सक्दैनन् ।

घुमाउनेघाटमा भएको झोलुङ्गे पुलबाट स्थानीयहरू त्रिशुली वारीपारी गर्ने गर्दछन् । पुलको निर्माणपछि नारायणगढ आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आँबुखैरेनी र मुग्लिनसम्मको सडक प्रयोग गर्नुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment