News Summary
Generated by OK AI. Editorially reviewed.- सशान कँडेल निर्देशित ‘बेहुली’ को समीक्षा गर्दै लेखमा फिल्मलाई वैचारिक र संरचनात्मक अलमलयुक्त भन्दै कमजोर ठहर गरिएको छ।
- समीक्षामा कास्टिङ, अभिनय, छायांकन, सम्पादन र संगीत कमजोर रहेको तथा दृश्यहरू कृत्रिम र लज्जाजनक देखिएको उल्लेख गरिएको छ।
सिनेमा मनोरञ्जनको साधन मात्र होइन । यो निर्देशकको वैचारिक चेतना, सौन्दर्यबोध र संरचनात्मक स्पष्टताको परीक्षण पनि हो । जब कुनै निर्देशक आफ्नो कथाको मूल धरातल बिर्सेर अनेकौं विधाका तत्त्वहरूलाई जबर्जस्ती मिसाउन थाल्छ, अथवा पात्र निभाइरहेको कलाकारलाई सिनमा राख्न खोज्छ, तब पर्दामा एउटा सन्तुलित सिनेमा होइन, भद्धा खिचडी निर्माण हुन्छ ।
सशान कँडेलद्वारा निर्देशित बेहुली हेरिरहँदा दर्शकले यही वैचारिक र संरचनात्मक अलमलको सामना गर्नुपर्छ । बरू यो फिल्मलाई लिएर नेपाली सिनेमाको लेखन र निर्देशकीय परिपक्वतामाथि पुनः प्रश्न उठाउन सकिन्छ ।
कथानक र विधागत अलमल
फिल्मको उठान एउटा नाटकीय मोडबाट गरिएको छ –
काठमाडौंको एक पार्टी प्यालेसमा विवाह भइरहेको हुन्छ । दृश्य (पारस बम) र उसको साथी राधे (पदम तामाङ) दृश्यकी प्रेमिकालाई मण्डपबाटै भगाउन सोही पार्टी प्यालेसमा गएका हुन्छन् ।
तर, त्यहाँ दृश्यकी प्रेमिका नभएर अर्कैको बिहे हुँदै गरेको हुन्छ । त्यो भेउ नपाएका उनीहरूले अन्जानमै अर्काकी बेहुली दिव्या (दिव्या रायमाझी) लाई उठाएर लैजान्छन्।
ती बेहुली कुनै साधारण युवती नभई मन्त्री (घनश्याम जोशी / धीर बस्नेत) की छोरी हुन्छिन् । अनि उनको बिहे प्रहरी अधिकृत (सुशान्त कार्की / राघव थापा) सँग विवाह हुन लागेको हुन्छ ।
खासमा दिव्या पनि त्यो विहे गर्न इच्छुक थिइनन् । बुबाको जबरजस्तीले बिहे गर्न बाध्य थिइन् । यसरी अन्जान व्यक्तिहरूले आफूलाई मण्डपबाट उठाएकोमा उनी खुसी नै देखिन्छिन् ।

त्यसपछि दिव्यालाई के हुन्छ ? उनका बुबा र हुनेवाला श्रीमानले के-के गर्छन् ? आइलागेको नयाँ आपतलाई दृश्य र राधेले कसरी सम्हाल्छन्, यी प्रश्नहरूको उत्तर नै बाँकी फिल्मको कथा हो ।
निर्माण पक्षले प्रेम, द्वन्द्व, पीडा, धोका र उद्देश्यलाई फिल्मको मुल विषयको रुपमा प्रस्तुत गरेको छ । जसको सोझो अर्थ यो फिल्म प्रेम कथा हो ।
पौराणिक कलामा राम र रावण होस् या महाभारतमा पाण्डव र कौरव सबैले कहीँ न कहीँ नारी कै लागि युद्ध गरेका थिए । यो त कलियुग हो । यहाँ हरेक टोल, गल्ली तथा घरमा कति युद्ध हुन्छन् होला मायाका लागि ?
ट्रेलरमा राखिएको यो न्यारेसनले पनि फिल्म लभस्टोरी विधामा आधारित छ भन्ने जनाउँछ ।
तर, फिल्ममा निर्देशकले आफ्नो मुल विधा बिर्सेका छन् । उनले एउटा रोचक कथालाई देखाउन क्राइम, फेमिली ड्रामा र कमेडी विधाहरू मिसाएका छन् । यसले गर्दा बेहुली न त प्रेम कथा बन्न सकेको छ न त रोमान्टिक क्राइम थ्रिलर नै, न त रोमान्टिक कमेडी थ्रिलर नै । विधागत रूपमा भन्दा यो फिल्ममा स्वयं निर्देशक नै अलमलिएको देखिन्छ ।
त्यस्तै, यो फिल्मको कथानक पनि खास छैन । कथानकको मूल मर्म रोचक भए पनि त्यसलाई पटककथामा उतार्न सकिएको छैन । जब पटककथा गतिलो हुन्न, फिल्म गतिलो कसरी हुनु ।

एउटा स्मरणीय लभ स्टोरी फिल्म बन्नका लागि सबैभन्दा पहिले पात्रहरूबीचको बलियो क्यामिस्ट्री र उनीहरूको चरित्र निर्माण बलियो हुन आवश्यक हुन्छ । जब मुख्य पात्रहरूका इच्छा, कमजोरी र पृष्ठभूमि स्पष्ट हुन्छन्, तब मात्र दर्शकले उनीहरूको सम्बन्धलाई महसुस गर्छन् र कथामा आफूलाई जोड्न सक्छन् । तर, बेहुली मा यी पाटो असाध्यै कमसल छन् ।
प्रेमको यात्रा सहज हुँदा कथा खुकुलो बन्ने भएकाले त्यसमा सामाजिक, पारिवारिक वा आन्तरिक द्वन्द्वको उपस्थिति उत्तिकै महत्त्वपूर्ण हुन्छ । यस्ता बाधा र चुनौतीहरूले नै कथामा उत्सुकता जोगाइराख्छन् र पात्रहरूको प्रेमलाई थप अर्थपूर्ण बनाउँछन् ।
यो पाटोमा बेहुलीमा काम गर्न खोजिएको छ । तर, कथानकले धोका दिएको छ ।
यसका साथै, उत्कृष्ट सङ्गीत, पार्श्व ध्वनि र आकर्षक सिनेमाटोग्राफीले लभस्टोरी फिल्मको मेरुदण्डको काम गर्छन् । कथाको मुडअनुसारका गीत र दृश्य भाषाले रोमान्टिक परिवेश निर्माण गर्दै फिल्मलाई लामो समयसम्म दर्शकको सम्झनामा बचाइराख्छन् । तर, यी कुरालाई लिएर बेहुलीले सम्झिरहन योग्य काम केही पनि गरेको छैन ।
फितलो शिल्प
एउटा झुर पटकथालाई कहिलेकाहीं कास्टिङले ठूलो गुण लगाउन सक्छ । तर, बेहुलीमा यो पाटो पनि छुकेको छ । फिल्ममा सही कास्टिङ नहुँदा पात्रहरूले कथालाई न्याय गर्न सकेका छैनन् ।
उदाहरणका लागि, एसपीको भूमिकामा रहेका सुशान्त कार्कीलाई अनावश्यक रूपमा रिसले चुर भएको र जो पायो त्यसलाई झापड लगाउने पात्र बनाइएको छ । दिव्याका बुबा पात्र धीर बस्नेतको हाल पनि करिब उस्तै छ । अन्य प्रहरीको भूमिकामा रहेका पात्रहरूको अवस्था त्यस्तै ।

राधेको भूमिका रहेका पदम तामाङको पात्रलाई जबरजस्ती दर्शक हँसाउने माध्यम बनाउन खोजिएको छ । त्यो चलाखीले हलमा केही काम गरेता पनि त्यो आफैंमा बडो कृत्रिम र लज्जाजनक देखिन्छ ।
यतिसम्म गरिएको छ कि उनलाई अस्वभाविक खान लगाएर, पाद्न लगाएर दर्शक हँसाउने चेष्टा गरिएको छ । यी दृश्यले सिनेमाको सौन्दर्यलाई निकै तल झारेको अनुभव हुन्छ ।
राम्रो पाटोको कुरा गर्दा पारस बम, दिव्या रायमाझीले मौका पाए र मेहनत गरे भविष्यमा केही राम्रो गर्न सक्ने छन् । कुल ब्वाय कुरा गर्दा उनी अझैं पनि रिल्सका लागि बनाइएको कन्टेन्ट जसरी अभिनय गरिरहेका छन् ।
प्राविधिक रूपमा पनि फिल्मले निराशाबाहेक केही दिँदैन । एकाधबाहेक सम्झनलायक सिनेम्याट्रोग्राफी छैन । अझ क्यामेरा वर्कको फितलोपनले धेरै दृश्यहरू फिल्मका भन्दा पनि टेलिसिरियलका जस्ता लाग्छन् । फिल्मको आफ्नै कलर ग्रेडिङ छैन ।

सम्पादन पनि कमजोर छ । धेरै ठाउँमा जर्क छ । यसले दर्शकलाई बेचैन बनाउँछ । फाइट सिनहरूमा जबर्दस्ती कमेडी घुसाएर क्रिन्ज बनाइएको छ । ब्याकग्राउन्ड स्कोर र फिल्ममा प्रयोग गरिएको संगीत सम्झनलागयक बन्न सकेको छैन।
अन्त्यमा, बेहुली कमजोर निर्देशकीय क्षमताको उपज मात्र बन्न पुगेको छ । यसले गर्दा यो सिनेमा सस्तो कमेडी, झूर प्रेम कथासहित एउटा फितलो र कमसल सिनेमा बन्न पुगेको छ ।
अरू कुनैपनि बेला नगरिएको श्रृंगार बेहुली हुँदा गरिन्छ । बेहुली आकर्षक र चिटिक्क हुनुपर्छ भन्ने मान्यता छ । जब सिप नभएको कुनै व्यक्तिले श्रृंगार गरिदिन्छ तब बेहुलीको ‘लुक्स’ भद्धा र लथालिंग हुन सक्छ ।
हो यहाँ ठ्याक्कै त्यही भएको छ । सिप नभएको ब्युटिसियनको हातबाट सिँगारिएकी बेहुलीजस्तै ।
प्रतिक्रिया 4