Comments Add Comment

प्रतिस्पर्धात्मक होइन, प्रेरणादायी शिक्षाले बदल्छ समाज

अलिक अगाडिको घटना । एक हुल शिक्षक हातमा फूलको बुके, माला बोकेर शिक्षा मन्त्रालय जाँदै थिए । केही शिक्षकसँग यस पंतिकारको भेट भयो ।

‘पहिलेको शिक्षक अहिले शिक्षामन्त्री हुनुभएको छ । बधाई दिन हिँडेको । शिक्षक शिक्षामन्त्री जस्तो उच्च पदमा पुग्नु भनेको हामी सबै शिक्षकको सम्मान हो, गौरव हो,’ यति भन्दै ती शिक्षक हतारिँदै दगुरे ।

शिक्षण पेसा छोडेेर मन्त्री बन्दा शिक्षकको सम्मान कसरी भयो ? बरु अपमान भएन र ? शिक्षामन्त्रीको पद खुस्किएपछि मन्त्रीले गर्वका साथ पुनःशिक्षण पेसा अंगालेमा पो शिक्षक पेसा सम्मानित हुने होइन र ? मेरो मनमा यस्तै प्रश्नहरु उब्जिए ।

भारतीय वैज्ञानिक एपीजे अब्दूल कलाम सन् २००२ देखि ०७ सम्म भारतका राष्ट्रपति बने । पदावधि सकिएपछि भारतका दूरदराजका विद्यालयहरूमा पढाउँदै हिँडे । विद्यार्थीहरूले सोधेको प्रायः सबैजसो जिज्ञासाको उनी इमेलबाट जबाफ दिन्थे भन्ने विश्वास गर्छन् भारतीय नागरिक । ८३ वर्षको उमेरमा सन् २०१५ मा इन्डियन इन्स्टिच्यूट अफ म्यानेजमेन्ट, सिलोङमा विद्यार्थीहरूलाई पढाइरहेका बेला नै उनी परमात्मामा लिन भए ।

फरक प्रसङ्ग । छोरो ‘नाईं-नाईं स्कूल नजाने…’ भन्दै चिच्याउँदै रोइरहेको थियो । आमाले छोरोलाई घिच्याउँदै स्कूलतिर लाँदै थिइन् । पख तँलाई मिसले कुटेपछि थाहा पाउँछस्, भन्दै थिइन् आमा । छिटो हिँड भन्दै छोरालाई हकार्दै थिइन् ।

विपरीत दिशाबाट कसाईले एउटा खसी घिसार्दै ल्याइरहेको थियो । खसी म्याँ-म्याँ गर्दै कराउँदै थियो । खसी कराएको देखेर बालक टोलायो । उसले त्यो खसी किन रोएको आमा भन्दै सोध्यो ।

‘नचाहिने थाङ्ने कुरा के सोधेको ? स्कूल जान ढिलो भइसक्यो,’ झर्किंदै आमाले भनिन् ।

बालकको कौतुहलता मेटिएको थिएन । त्यो खसी किन कराएको भन्नु अनि मात्र स्कूल जान्छु भनेर अड्डी लिन थाल्यो उसले । आमाले भनिन्- त्यो कसाईले खसी किन्यो । खसीलाई पसलमा लगेर काट्छ, मार्छ । अनि मासु बनाएर बेच्छ । हो, त्यो कुरा खसीले थाहा पाएर कराएको ।

बालकले भन्यो, ‘त्यस्तो जाबो ! म त मलाई जस्तै समातेर स्कूल लगेको होला कि भनेर !’

****

विद्यालय जाने उमेर समूहका बालबालिकाको भर्नादर ९७ प्रतिशतभन्दा बढी छ । तर दश कक्षामा पुग्दा भर्ना भएकामध्ये करिब चार लाख जति मात्र बाँकी हुन्छन् । ६ लाखजति बालबालिका बीचैमा विद्यालय छोड्न बाध्य छन् । (शिक्षाविभाग २०१५) । हाम्रा विद्यालय बालबालिकालाई आकर्षण गर्ने थलो किन हुन सकेका छैनन् त ? के गरिबीमात्रै हो कारण ?

बालबालिकालाई केका लागि पढाउने ? भाषा फरक पर्ला तर उत्तरको सार भनेको सहज तथा इज्जतिलो जीवन बाँच्न भन्ने नै हुन्छ । पढेपछि राम्रो जागिर पाइन्छ । व्यवसाय गर्न सकिन्छ । धनआर्जन हुन्छ । नाम, इज्जत प्रतिष्ठा बढ्छ । सबैले मान्छन् । धेरै कमाउन तथा मान-सम्मानको लागि शिक्षामा अब्बल हुनुपर्छ भन्ने आमधारणा बनेको छ । त्यसैले सबैलाई पछार्दै कसरी प्रथम बन्ने भनी सिकाउँछौं हामी । शिक्षामा प्रतिस्पर्धा गर्न सिकाउँदैछौं ।

प्रतिस्पर्धामा महत्वकांक्षा हुन्छ । इस्र्या हुन्छ । द्वेष हुन्छ । अहंकार हुन्छ । घृणा हुन्छ । जब बाल-मष्तिस्कमा शिक्षाको नाममा इष्र्या, घृणा तथा महत्वकांक्षाको विष घुसाउँछौं भने यसको परिणाम के होला ? फलतः कसैको भौतिक सम्पत्तिमा वृद्धि त होला तर धनी र गरीबबीचको खाडल झनै बढ्छ । साथै, आत्मिक शान्ति तथा मानवीयताको चीरहरण त्यही रफ्तारमा बढ्नेछ । अहंकारी तथा विवेकहीन जमात बढाउँदै छौं हामी शिक्षित बनाउने नाममा ।

यस प्रतिस्पर्धी शिक्षाको दुनियाँमा असफल व्यक्तिको कुनै गुञ्जायस छैन । सफल हुनै पर्दछ । जसरी भए पनि आफू उत्कृष्ट भए पुग्छ । सफल भएपछि सबै दोष माफ हुन्छ । समाजले इज्जत, सम्मान गरिहाल्छ । यही सोच्छौं हामी । जब हाम्रो शिक्षाले केवल सफलतालाई मूल्याङ्कनको प्रमुख आधार मान्छ, त्यहाँ जालझेल, बेइमानी हुर्कन्छ । समाजमा नैतिक मूल्य-मान्यता हराउन थाल्छ ।

शिक्षित बनाउने नाममा भय-त्रास र दवाव थोपर्नु हुँदैन । बाल-मस्तिष्कमा पास तथा फेल हुने भय-त्रास के हामीले नै लादेका हैनौ ? पास मात्र भएर भएन, कसरी प्रथम हुने भन्ने दवाव । कक्षामा प्रथम भएर भएन, विद्यालयमा सबैभन्दा उत्कृष्ट कसरी हुने दवाव । त्यत्तिले पुग्दैन, कतिलाई कसरी जिल्ला फस्र्ट, प्रदेशमा फस्र्ट हुने तथा कसरी नेपाल टप हुने भन्ने दवाव । नेपालमा मात्र टप भएर भएन । एसियामा कसरी टप हुने ? यतिले पुगेन, विश्वमा कसरी टप हुने ? एउटा विषयमा मात्र टप भएर भएन धेरैवटा विषयमा कसरी टप गर्ने ? दौडको अन्तहीन यात्रा । प्रतिस्पर्धा, प्रतिस्पर्धा, केवल प्रतिस्पर्धा मात्र !

प्रतिस्पर्धाको नाममा त्रास, भय सिर्जना गरिरहेका छौं हामी । अरूलाई पछारेर आफू कसरी प्रथम हुने दौडमा छौं । जबसम्म मानिस-मानिसबीच तुलना गरिन्छ, मानव गरिमाको सम्मान हुन सक्दैन । प्रत्येक व्यक्ति अद्भूत हुन्छ । व्यक्तिपिच्छे फरक क्षमता हुन्छ । यो सत्य हो । सत्यलाई आत्मसात गर्न सक्नुपर्छ ।

हामी सबैले अब्राहम लिंकनको नाम सुनेकै छौं । उनका बुबा मोची थिए । जुत्ता सिलाउँथे । उनी गरीब परिवारमा जन्मे, हुर्के । उनले जीवनमा धेरै असफलता भोगे । आठपटक चुनाव हारेका थिए । अनि व्यवसाय सुरू गरे । दुई-दुईपल्ट टाट पल्टे । साथीभाइसँग लिएको ऋण सत्र वर्ष लगाएर तिरे । जीवन साथीसँग बिहे गर्ने पक्का भएपछि उनी बितिन् । यसले लिंकन गम्भीर बिरामी परे । ६ महिना थला नै परे । बल्लबल्ल बाँचे । तर, उनले हिम्मत कहिल्यै हारेनन् ।

लिंकन सन् १८६० मा राष्ट्रपति बने । मोचीको छोरो राष्ट्रपति भएकोमा इर्स्या हुने नै भयो । अमेरिकी सिनेटमा पहिलो भाषण गर्दै थिए । सिनेटका केही सदस्यलाई असहृय भयो । मोचीको छोरोको यस्तो फूर्ती ! मन-मनै भन्दै थिए तर ओकल्न सकेका थिएनन् । सिनेटको एउटा सदस्यले आफूलाई सम्हाल्नै सकेनन् । उठेर भने- ‘बढी फूईं नदेखाऊ, तिम्रा बाउ जुत्ता सिलाउँथे ! थाहा छ कि छैन ?’

जुत्ताप्रायः सबैले लगाउँछन् । जुत्ता नलगाउनेलाई भन्दा लगाउनेलाई नै सम्मान गरिन्छ । जुत्ता लगाउनु राम्रो तर जुत्ता सिलाउनु घटिया काम ! कस्तो विडम्बना !
लिंकनले के जवाफ फर्काए त ? उनी बुद्धिमान थिए । उनमा करूणा थियो । सद्भाव थियो । उनी प्रतिस्पर्धा होइन, सह-अस्तित्वमा विश्वास गर्थे । लिंकनले भनेे- ‘तपाईँले भनेको सही हो । मेरो बुबा जुत्ता सिलाउनुहुन्थ्यो । मलाई अझै सम्झना छ उहाँ मन लगाएर जुत्ता बनाउनुहुन्थ्यो । त्यसैमा रमाउनुहुन्थ्यो । त्यसैले उहाँले बनाएका जुत्ता गतिला र आरामदायी हुन्थे । तपाईँ महाशयले मेरो बुबाले बनाएको जुत्ता सायद लगाउनु भएकै होला । तपाईंले ठीक समयमा मेरो बुबाको सम्झना गराउनुभयो । अहिले म सोच्दै छु मेरा बुबा जसरी दक्ष मोची बन्न सक्नुभयो के त्यसैगरी म राष्ट्रपति बन्न सकूँला त ? मेरो चिन्ता यसैमा छ ।’

सन् २०१५ मा अमेरिकन पोलिटिकल साइन्स एशोसिएसनले राजनीतिशास्त्रका विद्धानहरूबीच गरेको सर्वेक्षणले यिनै लिंकनलाई अहिलेसम्मको अमेरिकाको इतिहासमा लोकप्रिय राष्ट्रपति देखाएको थियो । सन् २०१८ वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि नाम समावेश गरिएको फलोअप सर्भेक्षणमा ट्रम्प लोकपि्रयताका हिसाबले सबैभन्दा पुछारमा परेका थिए ।

कुन देशमा छ त उत्कृष्ट शिक्षा ? विश्वमा गरिएका सर्भेक्षणले फिनल्याण्डकोे शिक्षालाई विश्वको उत्कृष्ट मानेको छ । करिब ४५ वर्ष अगाडि देशलाई कसरी आर्थिक रूपमा सम्मुनत बनाउने भनेर योजना बनाइँदा कस्तो शिक्षानीति अँगाल्ने भन्ने छलफल भएको थियो । त्यहाँ योजना बनाउने सामान्य व्यक्ति नै थिए । विश्वमा नाम कहलिएका विज्ञहरू थिएनन् । तर अहिले विश्वको उत्कृष्ट शिक्षा प्रणाली भएको देश मानिन्छ फिनल्यान्ड ।

हेलसिन्की कम्पि्रहेन्सिभ स्कूलका पि्रन्सिपल अर्जारिता भन्छन्, ‘फिनल्याण्डको शिक्षा विश्वमै उत्कृष्ट छ भन्ने मलाई विश्वासै लाग्दैन ।’

उनीहरूले कहिल्यै विश्वमा एक नम्बर हुने सोचेनन् । कसरी बालबालिकालाई उपयुक्त शिक्षा दिने भन्नेमा नै केन्दि्रत भए । प्रथम बन्ने होडमा होइन बरू कसरी सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर सिर्जना गर्न सकिन्छ भनेर लागे तिनीहरू ।

फिनल्याण्डका विद्यालयमा प्रतिस्पर्धा होइन सहकार्य गर्न सिकाइन्छ । वास्तविक विजेताले कहिल्यै प्रतिस्पर्धा गर्दैन भन्ने मान्यतामा विश्वास गर्दछन् फिनिसहरू । शिक्षालाई समाजमा भएका असमानता हटाउने औजारको रूपमा लिएका छन् उनीहरूले । बालबालिका सात वर्षको भएपछि मात्र विद्यालयमा भर्ना गरिन्छ ।

जब बालबालिका सिक्न सक्ने हुन्छन् अनि विद्यालय आउँछन् । बालकवाबालिकाले बालापनमा रमाउनुपर्छ भन्ने मान्यता राख्छन् त्यहाँका शिक्षक र अभिभावक ।

फिनल्याण्डका विद्यालयमा विद्यार्थीको जाँच लिने चलन नै छैन । प्राथमिक र माध्यामिक विद्यालयमा पढुञ्जेल नौ वर्षमा जम्मा एक पटक मात्र विद्यार्थीले जाँच दिनुपर्दछ । जाँच पनि कति नम्बर वा प्रतिशत ल्याउने भनेर होइन । यो जाँचले त फिनिस समाजको लागि एक शिक्षित तथा परिपक्व व्यक्ति निर्माण भयो या हुन बाँकी रहेको छ भनेर हेर्छ । माथिल्लो तहको अध्ययन गर्नको लागि मार्ग प्रशस्त गर्छ । एक फिनिस शिक्षक भन्छन्- परीक्षाले विद्यार्थीको योग्यता जाँच्न सक्दैन । को विद्यार्थीको कस्तो क्षमताको छ हामी शिक्षकले राम्ररी बताउन सक्छौं । फिनल्याण्डमा शिक्षा पेसालाई अत्यन्त सम्मानित रूपमा लिइन्छ ।

हाम्रो शिक्षा कस्तो हुनुपर्दछ ? शिक्षामा प्रतिस्पर्धा होइन, करूणाभाव प्रेरित गर्नुपर्दछ । असहिष्णुता होइन, सहिष्णुता हुर्काउन प्रोत्साहन गर्नुपर्दछ । सहानुभूति प्रकट गर्नसक्ने बनाउनुपर्दछ । घृणा हैन, प्रेम प्रस्फूटन हुने वातावरण बनाउनुपर्छ । विश्वास जगाउन मद्दत गर्नुपर्दछ । एकको सफलता होइन सहअस्तित्वको अंकुरण हुनुपर्दछ । सूचना मात्र होइन ज्ञान र विवेक पलाउन प्रोत्साहन पाउनुपर्दछ । सिर्जनात्मक सोच्न, मनन् गर्न प्रेरित गरिनुपर्दछ ।

जबसम्म पेसा तथा श्रमलाई राम्रो, नराम्रो वा सानो-ठूलो भन्ने गरिन्छ तबसम्म प्रतिस्पर्धा कायमै रहन्छ । प्रतिस्पर्धा होइन, सद्भाव, पे्रम, सहकार्य, करूणा र सहअस्तित्व सिकाउने शिक्षानीति आजको आवश्यकता हो । यसो गरेमा देश मात्र हैन सबै नागरिक सम्मुनत हुन्छन् । समृद्ध हुन्छन् । सबैले एक अर्काको पेसालाई सम्मान गर्छन् । आदर गर्दछन् । नैतिक मुल्य-मान्यताको जग बलियो बन्दछ । अनि त्यहाँ प्रतिस्पर्धाको, दौडको कुनै गुञ्जायसै हुँदैन । यसलाई नै शिक्षामा ‘क्रान्ति’ भनिन्छ । यस्तो क्रान्तिले मात्र ल्याउँदछ शिक्षामा आमूल परिवर्तन । सर्वे भवन्तु सुखिनः ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment