Comments Add Comment

म्याग्दीमा अझै चारजना बेपत्ता

४ वैशाख, म्याग्दी । बेपत्ता छानबिन आयोगले बिहीबारदेखि बेपत्ता भएकाहरुको विवरण सङ्कलन सुरु गरेको छ ।

Magdiजिल्लामा उपलब्ध तथ्याङ्कअनुसार बेपत्ताको सूचीमा बरङ्जा गाविसका दिलबहादुर थापा, ताकम–५ का रेशम मगर, बेगखोला–२ का श्यामप्रसाद रुचाल र तामबहादुर पुर्जा छन् । 

थापालाई सुरक्षा फौजले स्याङ्जा चित्रेभन्ज्याङबाट माओवादीको आरोपमा बेपत्ता बनाएको थियो ।

उनको हत्या भएको हुन सक्ने भए पनि कहाँ र कहिले भन्ने बारेमा अझै पत्ता लाग्न सकेको छैन । पश्चिम म्याग्दीको ताकमका मगरलाई छिमेकी देवीस्थान गाविसबाट माओवादी फौजले आन्दोलनमा सहभागी हुन लगेदेखि उनी सम्पर्कमा छैनन् ।

माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनका क्रममा बेपत्ता भएकाको लिखित उजुरी सङ्कलन भइरहेको छ । तथ्याङ्क सङ्कलन भएपछि यहाँ समेत बेपत्ता भएकाको खोजी सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समिति र गैरसरकारी संस्थाले तथ्याङ्क सङ्कलन गरेपछि राहतसहितको आधारभूत सुविधाबाट वञ्चित बेपत्ताका परिवारमा केही आशा पलाएको छ ।

शान्ति प्रक्रियामा आएपछि माओवादी नेताले समेत फरक फरक भनाइ सार्वजनिक गर्ने गरेकाले पनि मगरको अवस्था रहस्यमय बनेको छ । त्यस्तै रुचाल २०६० साल चैत ७ गते म्याग्दी आक्रमणमा सदरमुकाम बेनीबाट बेपत्ता भएको स्थानीय शान्ति समितिका पूर्व अध्यक्ष देवेन्द्र केसीले बताए ।

रुचाल भिडन्तमा मारिएको हुन सक्ने आशङ्का गरिएको छ तर पनि त्यसको पुष्टि अझै भएको छैन । तत्कालीन समयमा माओवादीका र बेवारिस शव कालीपुलस्थित पक्की पुलमा गाडिएको थियो । पुर्जा दोस्रो जनआन्दोलनमा बेनीबाट बेपत्ता भएका थिए । राजनीतिक दलको आन्दोलनको दिन उनलाई गाउँलेले देखे पनि त्यसपछि कसैले देखेका छैनन् ।

जनआन्दोलनमा राज्यपक्षबाट कसैलाई पनि नियन्त्रणमा लिएर राखेको देखिएको थिएन भने आन्दोलनमा समेत कोही पनि गम्भीररुपमा घाइते समेत भएका थिएनन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment