
६ चैत, जुम्ला । चन्दननाथ गुरुकुल पाठशाला जुम्लामा पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई समस्या भएको छ ।
समयमै पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले राम्रोसँग पढ्न नपाएको प्रध्यानाध्यापक विश्वराज उपाध्यायले बताए ।
पाठशालाका विद्यार्थीहरुले हरेक वर्ष यस्तै समस्या भोग्दै आएको उनको भनाइ थियो । अहिले पाठशालामा नेपाली, सिर्जनात्मक, संस्कृत, व्याकरण गरी चार विषयमा अध्यापन भइरहेको पाठशालाले जनाएको छ ।
यता पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका पुरुषोत्तम घिमिरेले पाठशालाले लिखितररुपमा पत्र पठाइदिए पाठ्यपुस्तक उपलब्ध गराउन सकिने जानकारी दिए । स्थानीय निकायको सिफारिसका आधारमा पनि पाठ्यपुस्तक उपलब्ध गराउन सकिने उनको भनाइ छ ।
पाठशालामा आवश्यक शिक्षकको दरबन्दी तथा आर्थिक स्रोत न्यून भएको प्रधानाध्यापक उपाध्यायले बताए । पुराना २८ छात्रा र १८ छात्र तथा नयाँ भर्ना भएका १२ गरी हाल कूल ५८ विद्यार्थीले पढ्दै आइरहेको उपाध्यायले जानकारी दिए ।
विसं २०४१ बाट साविकको कार्तिकस्वामी गाविस र हालको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँमा सञ्चालन भएको उक्त पाठशालामा १० वर्षे द्वन्द्वका बेला पठनपाठन बन्द भएको थियो ।
विस्तृत शान्ति सम्झौतापछि २०६९ सालमा शान्ति सुरक्षा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय नजिकै चन्दननाथ भैरवनाथ मन्दिरको काखमा पाठशाला सारिएको प्रध्यानाध्यापक उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया 4