+
+
Shares

एक चालक जसलाई ट्राफिक प्रहरीले ६ वर्षमा ७२९ पटक चिट काट्यो

चालक रामबहादुर पछिल्लो ६ वर्षमा ७२९ पटक ट्राफिक कारबाहीमा परेका छन् । यसअनुसार उनलाई प्रत्येक वर्ष १२२ पटक चिट काटिएको छ । अर्थात्, सरदर ३ दिनमा १ पटक उनी ट्राफिक कारबाहीमा परेको देखिन्छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ असोज १६ गते १४:४९
Listen News
0:00
0:00
🔊

१६ असोज, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार दिउँसो निकै अचम्म लाग्दो संवाद भयो । ट्राफिक प्रहरी र गाडी चालकबीचको उक्त संवाद निकै चाखलाग्दो थियो । ट्राफिक प्रहरी चालकको कुरा उत्सुकतापूर्वक सुनिरहेका थिए । र, प्रश्न पनि गरिरहेका थिए ।

कस्तो गाडी चलाउनुहुन्छ ? कति वर्ष भयो चालक पेसा थालेको ? कसरी चलाउनुहुन्छ गाडी ? कहाँ–कहाँ चलाउनुहुन्छ ? गाडीमा के सामान बोक्नुहुन्छ ? घरपरिवारमा को–को हुनुहुन्छ ?

ट्राफिक प्रहरीले चालकसँग पेसागतलगायत तथा घरायसी–व्यक्तिगत कुरा सोधिरहेका थिए । ट्राफिक प्रहरीले निकै कौतुहलतापूर्वक सोधेका प्रश्नको जवाफ चालकले खुलेरै दिए । ट्राफिक प्रहरी र ती चालकबीच करिब आधा घण्टा जस्तो कुराकानी भयो ।

ट्राफिक प्रहरीले चालकको मनोभाव बुझ्ने प्रयास गरे । अनि, सम्झाइबुझाइ गर्दै चालकलाई बिदा गरे ।

चालक अर्थात् मकवानपुर घर भएका रामबहादुर बिष्ट । उनले चलाउने गाडी नम्बर हो बा १६ च ८०६४ । पछिल्लो केही समय रामबहादुर बारम्बार ट्राफिक प्रहरी कार्यालय धाउन थाले । रामशाहपथका ट्राफिक प्रहरीहरूबीच उनी परिचित भइसकेका थिए ।

बारम्बार कार्यालय आउने गरेको थाहा पाएपछि चालकका बारेमा ट्राफिक एसपी नरेशराज सुवेदीले आफ्ना कर्मचारीलाई सोधे ।

‘पटकपटक कारबाहीमा परिरहने चालक हुन् । ७/८ सय पटक त कारबाही नै भएको होला,’ एसपी सुवेदीले अपत्यारिलो जवाफ पाए ।

चालक रामबहादुरको रेकर्ड हेरियो, जहाँ उनी ७२९ पटक कारबाहीमा परिसकेको भेटियो । अपत्यारिलो लागेको कुरा सत्य भएपछि एसपी सुवेदीले अचम्मित हुँदै ती चालकलाई फोन गरेर कार्यालय बोलाउन निर्देशन दिए ।

‘७२९ पटक कारबाही भइसकेको भन्ने सुन्दा अचम्म लाग्यो । कसरी गाडी चलाउने रहेछन्, किन त्यस्तो भइरहेको छ, सम्झाउनुपर्‍यो भनेर हामीले बोलायौं र उहाँका कुरा सुन्यौं । ट्राफिक नियमको बारेमा बताउँदै यस्तो गल्ती नदोर्‍याउन भन्दै सम्झाएर पठाएका छौं,’ एसपी सुवेदीले अनलाइनखबरसँग भने ।

ट्राफिक प्रहरीले बोलाएपछि चालक बिष्ट बिहीबार ट्राफिक कार्यालय रामशाहपथ पुगेका थिए । एसपी सुवेदीले आफ्नो कार्यकक्षमा बोलाएर ती चालकलाई सम्झाए । ‘यसरी पटकपटक कारबाही हुने गरी सवारी नचलाउनुस्, तपाईंको व्यक्तिगत रेकर्डमा पनि नराम्रो असर गर्छ,’ एसपी सुवेदीले भने ।

पटकपटक ट्राफिक कारबाहीमा पर्दा चालक पेसामै असर पर्नेबारे आफूलाई केही जानकारी नभएको चालक रामबहादुरले बताए ।

उनले हार्डवेयर पसलका फलामजन्य सामानहरू बोक्ने गाडी चलाउँदै आएका थिए । उनले सामान बोक्दा गाडीको ढाला नै खोलेर बाहिरसमेत सामान निकालेर ढुवानी गर्ने गरेको पाइएको छ । अधिकाशंजसो ‘मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिह्न देखिने गरी नराखी चलाएको’ आरोपमा चिट काटिएको छ ।

रामबहादुरले सामान बोक्दा नम्बर प्लेट छोप्ने, गाडीको ढालाभन्दा बाहिर समान निकालेर बोक्ने, पछाडिको ढालासमेत खोलेर बाहिर रडलगायतका फलामजन्य सामानहरू निकालेर सामान ढुवानी गर्ने गरेको पाइएको छ । केही कसुर भने रातो बत्ती उल्लंघन, लेन क्रसमा पनि कारबाही भएको छ ।

यसरी रामबहादुर पछिल्लो ६ वर्षमा ७२९ पटक ट्राफिक कारबाहीमा परेका छन् । यसअनुसार उनी प्रत्येक वर्ष १२२ पटक ट्राफिक कारबाहीमा परेका छन् । अर्थात् सरदर ३ दिनमा १ पटक उनी ट्राफिक कारबाहीमा परेको देखिन्छ ।

७२८ पटकको जरिबाना उनले तिरिसकेका छन् । अन्तिम पटकको जरिबाना भने तिर्न बाँकी रहेको छ । उनले ५०० तथा १००० दरको जरिबाना तिर्दै आएका छन् । हार्डवयेरका सामान ढुवानी गर्ने गाडी चलाउने हुँदा ढाला बाहिर सामान राखेर बोक्ने गरेको र यसरी बोक्दा तोकिएको जरिबाना भने कम्पनीले तिर्ने गरेको पाइएको छ ।

जरिबाना कम्पनीले तिरेकाले आफूलाई केही असर नपरेको बुझेका चालक रामबहादुर ट्राफिक प्रहरीले सम्झाएपछि भने झस्किएका थिए । अब फेरि बारम्बार यसैगरी सवारी चलाएमा लाइसेन्ससमेत खारेज हुनसक्ने भन्दै ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउन ट्राफिकले उनलाई सम्झाएर पठाएको छ ।

७२९ पटक कारबाही हुँदा उनले मापसे (मादक पदार्थ सेवन), लापसे (लागुपदार्थ सेवन) गरेर चलाएको भने नपाइएको ट्राफिकले बताएको छ । कतिपय अवस्थामा उनी दैनिक कारबाहीमा परेको रेकर्डमा देखिन्छ ।

नेपालको ट्राफिक कारबाहीकै इतिहासमा सबैभन्दा बढी ६ वर्षमा ७२९ पटक एकै चालकलाई कारबाही भएको नै पहिलो घटना रहेको ट्राफिक प्रहरीका अधिकारीहरू बताउँछन् । बारम्बार जनचेतना जगाउने काम भइरहे पनि केही व्यक्तिहरू पटकपटक कारबाहीमा पर्नुले जनचेतना शैलीमा परिवर्तन गर्नुपर्ने हुनसक्ने यो घटनाले देखाएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?