+
+
Shares

ट्राफिकसँग त्रिपुरेश्वरमा अर्जुनको किन भयो विवाद ? के भन्छ उनको परिवार ?

त्रिपुरेश्वर आगलागी घटनामा मृत्यु भएका चालक दोङको पृष्ठभूमि पनि विवादित रहेको प्रहरीले जनाएको छ । करिब तीन महिनाअघि काठमाडौंकै मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग उनले अभद्र व्यवहार गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते २१:४१
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा सोमबार ट्राफिकसँग विवादपछि रिद्धिसिद्धि यातायातको बसमा आगो लाग्दा चालक अर्जुन दोङ गम्भीर घाइते भई उपचारका क्रममा मंगलबार बिहान मृत्यु भयो।
  • प्रहरीले चालकसँग बसभित्र अरू कोही नभएको र विवादपछि दोङले आफैंले आगो लगाएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
  • घटनापछि काठमाडौं उपत्यका प्रहरी र जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै छानबिन समिति गठन गरी तथ्य, प्रमाण र सूचना संकलन थालेका छन्।

६ असोज, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको सडक अगाडि सोमबार दिउँसो सवा १२ बजेतिर रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बस करिब १० मिनेटसम्म तेर्स्याएर रोकियो ।

पिक आवर रहेकाले सवारी आवागमनमै असर गरेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरी उक्त बस भएको ठाउँमा पुगे ।

सवारी आवागमन नै प्रभावित हुने गरी रोकिएको बसलाई बस पकेट क्षेत्रमा लैजान ट्राफिक प्रहरीले भन्यो । त्यसको केही समयमै बसभित्र दनदनी आगो बल्यो

अनलाइनखबरले जिज्ञासा राखेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले घटनाबारे जानकारी गराए । प्रहरीका अनुसार १० मिटेनसम्म बस तेर्स्याएको र सवारी आवागमनमै असर परेपछि ट्राफिक प्रहरीले बस हटाउन भनेको सीसीटीभी फुटेजमा समेत देखिन्छ ।

बस जल्नुअघिको भिडियो समेत सार्वजनिक भएको थियो । जहाँ तीन ट्राफिक प्रहरी (दुई महिला र पुरुष), दुई सशस्त्र प्रहरी समेत फिल्डमा देखिन्छन् । केही सर्वसाधारण समेत भिडियोमा देखिन्छ ।

सार्वजनिक भिडियोमा चालकको अभिव्यक्ति सुन्दा ट्राफिक प्रहरीले चिट काट्न खोजे जस्तो देखिन्छ । ‘मलाई विना कसुर फाइन हान्न खोजे उहाँहरूले’ सार्वजनिक भिडियोमा चालकले भनेको सुनिन्छ ।

तर चिट भने नकाटिएको ट्राफिक प्रवक्ता सुवेदी बताउँछन् । सिटमै बसेर झ्यालबाट मुन्टो निकाल्दै निकै आक्रोशित हुँदै चालकले बोलेको सुनिन्छ । त्यहाँ रहेका सर्वसाधारणले समेत बस बीच सडकमा रोकिएको भन्दै साइड लगाउन भनेको पनि सुनिन्छ ।

सशस्त्र प्रहरीका कर्मचारीले चालकलाई सम्झाउन खोजेको पनि देखिन्छ । चालक भने ट्राफिक प्रहरीतर्फ देखाउँदै आफूले ‘रेस्पेक्ट’ गरेको, माफी मागेको तर जरिवाना तिराउन खोजेको भन्दै आक्रोशित हुन्छन् ।

‘हामी काम गर्ने मान्छे हो । म मर्न तयार छु । जे गर्न सक्छ गर’ चालक भन्छन् । त्यसपछि बसका झ्याल, ढोका बन्द हुन्छन् । अनि बसभित्र आगोको लप्का देखिन्छ ।

आगलागीबाट गम्भीर घाइते भएका बस चालकलाई प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । उनको उपचारकै क्रममा आज मंगलबार बिहानीपख मृत्यु भएको छ ।

ट्राफिक प्रहरीका अनुसार सडकमा बस तेर्स्याएका बेला ट्राफिक प्रहरी पुग्दा भने बसभित्र एक जना पनि यात्रु थिएनन् । बस तेर्स्याउनुको कारणबारे पनि यकिन नभएको प्रहरीको भनाइ छ ।

प्रहरीको अहिलेसम्मको अनुसन्धान अनुसार चालकले नै बसभित्र आगो लगाएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरे भन्छन्, ‘बसभित्र अन्य कोही व्यक्ति नरहेको पाइएको छ । विवाद भएपछि ढोका थुनेर आफैंले आगो लगाए जस्तो देखिन्छ । यद्यपि यसको विस्तृत अनुसन्धान र छानबिनपछि यथार्थ विवरण सार्वजनिक होला’ उनी भन्छन् ।

यता यातायात व्यवसायीहरूले प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे धारणा सार्वजनिक गरेका छन् ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, उक्त बस मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै थियो । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुग्दा आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण आवागमन अवरुद्ध भएपछि चालकले हर्न बजाएका थिए ।

हर्न बजाएकै निहुँमा ट्राफिक प्रहरीले बस रोकी कागजात मागेर कारबाही गर्न खोजेको र चालकले आफूबाट गल्ती नभएको बताएपछि विवाद शुरु भएको विज्ञप्तिमा दाबी छ ।

लाइसेन्स दावाको, चालक अर्जुन

ट्राफिक प्रहरीसँग विवाद भएका चालकको साथबाट प्रहरीले काभ्रे ठेगाना भएको दावा लामा नामको चालक अनुमति पत्र लाइसेन्स प्राप्त गरेको थियो । सोहीअनुसार उनी दावा लामा रहेको प्रहरीले बताएको थियो ।

तर अर्कै व्यक्तिले दावा लामा आफू रहेको र त्यो घटनामा संलग्न नरहेको बताएपछि घटनामा ट्वीस्ट आएको थियो । अन्तत: प्रहरी अनुसन्धान र परिवारसँगको सोधखोजपछि अनुसन्धानका क्रममा उनी दावा लामा नभएर मकवानपुरका अर्जुन दोङ रहेको खुलेको छ । उनको घर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका रहेको प्रहरीले बताएको छ ।

परिवारसँग जन्मदर्ता समेत मगाएर हेर्दा चालक अर्जुन दोङ रहेको खुलेको एसपी सुवेदी बताउँछन् । उनले दावा लामाको लाइसेन्स बोकेर बस चलाएको खुलेको छ । ट्राफिक प्रहरीका अनुसार उनले बस चालकको लाइसेन्स समेत प्राप्त नगरेको भेटिएको छ । सवारी चालक अनुमतिपत्र नभई अर्कैको लाइसेन्स बोकेर उनले बस चलाएको प्रहरीले बताएको छ ।

विवादित पृष्ठभूमि

त्रिपुरेश्वर आगलागी घटनामा मृत्यु भएका चालक दोङको पृष्ठभूमि पनि विवादित रहेको प्रहरीले जनाएको छ । करिब तीन महिनाअघि काठमाडौंकै मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग उनले अभद्र व्यवहार गरेका थिए ।

त्यतिबेलाको भिडियोमा उनले फलामको लिभर बोकेर चालक सिटबाट हामफाल्दै आक्रमण गर्न खोजेको देखिन्थ्यो । अर्का चालकले पेलेर गाडी ल्याएको निहुँमा विवाद हुँदा दोङले फलामको लिभर बोकेको भिडियोमा देखिन्छ ।

त्यसपछि घटनास्थल पुगेको ट्राफिक प्रहरीसँग समेत अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ । त्यतिबेला पनि उनले दावा तामाङ नामकै लाइसेन्स बोकेको पाइएको प्रहरीले बताएको छ ।

यसभन्दा अघिको अर्को दुर्घटनामा उनी फरार रहेको परिसर काठमाडौंका एसएसपी घिमिरे बताउँछन् । २०८२ कात्तिकमा बालाजुमा बस पल्टिंदा तीन जना घाइते भएका थिए । त्यतिबेलाका बस चालक पनि उनै दोङ रहेको खुलेको एसएसपी घिमिरे बताउँछन् ।

त्यतिबेला दोङले सुनिल तामाङ नामको लाइसेन्स प्रयोग गरेको प्रहरीको भनाइ छ । यो घटनामा उनी फरार रहेको प्रहरीले बताएको छ ।

दुई छानबिन समिति

घटना सार्वजनिक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशील सिंह राठौरले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति बनाएका छन् । समितिलाई पाँच दिनको समय दिइएको छ ।

समितिमा ट्राफिकदेखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रतिनिधि गरी पाँच जना राखिएको छ ।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैह्रेको संयोजकत्वमा पनि सात सदस्यीय समिति गठन भएको छ । यो समितिलाई भने सात दिनको समय दिइएको छ ।

समितिमा प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, ट्राफिकका डीएसपी शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धि यातायात प्रालिका प्रतिनिधि लव केसी समावेश छन् ।

समितिले घटनासँग सम्बन्धित तथ्य, प्रमाण तथा सूचना संकलन र विश्लेषण गर्ने बताइएको छ । आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन अपनाउनुपर्ने पूर्वसावधानी तथा नियन्त्रणका उपाय समेत समितिले सुझाव खण्डमा पेश गर्ने बताइएको छ । यी छानबिनपछि मात्रै घटनाको यकिन विवरण सार्वजनिक हुने बताइएको छ ।

किन हुन्छ ट्राफिक–चालक विवाद ?

ड्युटीमा खटिएका ट्राफिक प्रहरी र चालक बीच पटक-पटक विवादका घटनाहरू सार्वजनिक भइरहेका छन् । करिब एक महिनाअघि ९ भदौमा काठमाडौंको नयाँबानेश्वरमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको थियो ।

ट्राफिक प्रहरी र प्रहरी संयुक्त रुपमा ड्युटीमा खटिएका थिए । जथाभावी बाटो नकाट्न भन्दै आग्रह गर्दा एक युवकले प्रहरीमाथि नै आक्रमण गरेका थिए । आक्रमण गर्ने जुम्लाका राज कठायतलाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा समेत चलाएको थियो ।

हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय (जिट्रापका) अगाडि गत पुस १७ गते साँझ ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँच गरिरहेको थियो । त्यही क्रममा चितवनतर्फबाट आइरहेको बा ६ च ८४०९ नम्बरको कारलाई ट्राफिक प्रहरीले जाँचका लागि रोक्यो । ट्राफिक प्रहरी विजयप्रताप साहले मापसे जाँच मेशिन मुख नजिक पुर्‍याउँदा नपु‍र्‍याउँदै चालक वासुदेव आचार्यले सिसा लक गर्दै कार हुइँक्याए ।

सिसामा हात च्यापिएका साहलाई कारले पाँच मिटरसम्म घिसारेको थियो । साहको टाउकोमा १८ वटा टाँका लगाउनु परेको थियो ।

प्रहरी तथा ट्राफिक प्रहरीमाथि चालक र सर्वसाधारणबाट हुने आक्रमणका यी दुई घटना प्रतिनिधि मात्रै हुन् । सडकमा चालक र ट्राफिक बीच विवाद भइरहेको दृश्य प्रशस्तै देखिन्छ ।

३ जेठमा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र ट्राफिक प्रहरी बीच थापाथली चोकमा विवाद भएको थियो ।

सार्वजनिक भिडियोमा सांसद आशिका गाडीबाट झेरर अर्का ट्राफिक प्रहरीलाई सम्झाउनु है तपाईंका मान्छेलाई भनेको सुनिन्छ । आशिका गाडीबाट उत्रिएर ट्राफिकसँग विवाद गर्दा केही मिनेट ट्राफिक समस्या समेत भएको थियो ।

ट्राफिक प्रहरीले पनि चालकमाथि गरेको दुर्व्यवहार पनि उत्तिकै देखिन्छ । त्रिपुरेश्वरको हिजोको घटनामा ट्राफिकको भूमिका के थियो भन्ने बारे अनुसन्धान भइरहेको छ । जसकारण त्यो घटनामा ट्राफिकले चालकमाथि ज्यादती गरेको थियो/थिएन अहिले नै भन्न सक्ने अवस्था छैन ।

तर विगतमा सार्वजनिक भएका केही घटनाहरु हेर्ने हो भने ट्राफिकले चालकमाथि पनि दुर्व्यवहार गरेको देखिन्छ ।

एक वर्षअघि ट्राफिक प्रहरीका सहायक हवल्दारले मोटरसाइकल चालकलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । सो घटना सोह्रखुट्टेको रहेको खुलेको थियो । करिब दुई वर्षअघि भिडियो गत वर्ष भाइरल भएको थियो ।

न्यूरोडमा पनि ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटेको भिडियो सञ्जालमा भाइरल भएको थियो । यस्ता घटनाहरूले सडकमा खटिने ट्राफिक प्रहरीको व्यवहार सुध्रनुपर्ने विषयहरू पनि सार्वजनिक हुँदै आएका छन् ।

पर्याप्त मात्रामा तालिम दिनुपर्ने, चालक तथा सर्वसाधारणसँग कसरी व्यवहार गर्ने जस्ता विषयहरू सिकाउनुपर्ने र तनावरहित ड्युटी हुनुपर्ने सुझाव ट्राफिकमा बसेर लामो समय काम गरी अवकाश भएका पूर्वएआईजी उमेशराज जोशी बताउँछन् ।

अन्य ठाउँको तुलनामा काठमाडौंमा ट्राफिकलाई चालकले टेर्छन् । अन्यत्र भने ट्राफिकलाई नटर्नेसम्मको अवस्था रहेको उनको बुझाइ छ ।

अर्कोतर्फ अहिले युवाहरूमा धैर्यको कमी भएको जस्तो देखिन थालेको उनी बताउँछन् । त्रिपुरेश्वरको दुवै घटनामा ज्यान गुमाउने युवाहरु नै छन् । उनीहरूलाई संयमित हुन सिकाउनुपर्ने बेला आएको उनको बुझाइ छ ।

काठमाडौंमा ट्राफिक प्रहरीले १२ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्थाले पनि तनाव सिर्जना हुने उनको बुझाइ छ ।

यता चालकको व्यवहार पनि सुध्रन आवश्यक रहेको जानकारहरूले औंल्याउँदै आएका छन् । जाँच गर्दा वा कागजात माग्दा नै आक्रोशित हुँदै ट्राफिकमाथि नै आक्रमण हुने घटनाबाट अहिले आफैंलाई आगो लगाउनेसम्मका घटनाहरू हुन थालेका छन् । यस्ता घटनाहरूले चालकहरूलाई मनोसामाजिक परामर्शको आवश्यक रहेको जानकारहरू औंल्याउँछन् ।

यता ट्राफिक प्रवक्ता सुवेदी ट्राफिक आवागमनलाई सहज बनाउँदै नागरिकको सुरक्षित यात्राको सुनिश्चितता गर्नको लागि ड्युटिमा खटिएका ट्राफिक प्रहरीसँग कुनै पनि सवारी चालकले द्वन्द्वात्मक अवस्था सृजना गर्नुपर्ने कुनै कारण नै नरहेको औंल्याउँछन् ।

‘ट्राफिक नियम कसैको व्यक्तिगत स्वार्थको लागि बनाइएको नभई सार्वजनिक हित र सामूहिक सुरक्षाको लागि बनाइएको हुँदा यसको पालना गर्नु सबैको कर्तव्य हो । सडक सुरक्षामा चालकको भूमिका र जिम्मेवारी जहिले पनि स्पष्ट हुनुपर्छ’ उनी भन्छन्, ‘एउटा चालकको लापरवाहीको कारणले गर्दा धेरैको जीवन जोखिममा पर्न सक्ने भएकोले चालक पनि शारीरिक र मानसिक रुपमा स्वस्थ रहनु उत्तिकै जरुरी रहन्छ ।’

यो विषय संसद्‌मा पनि उठेको छ । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले युवामा निराशा देखाएको भन्दै घटनाबारे सरकारसँग जवाफ मागे ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले पुलिसिङ गर्ने शैलीका सन्दर्भमा ध्यान दिन आवश्यक रहेको बताउँदै चालकहरूको मनोसामाजिक अवस्थालाई व्यवसायी र सरकारका निकायहरुले ख्याल गर्नुपर्ने बताइन् ।

अर्जुनका दाजु विपिन भन्छन्- मैले भाइ गुमाएँ, अब कसैले यसरी आफन्त गुमाउनु नपरोस्

भाइको घटना सुनेपछि दाजु विपिन दोङ झापाबाट अहिले काठमाडौं आएका छन् । पेशाले उनी पनि चालक हुन् । झापा बसेर चालकको काम गर्ने गरेको उनी बताउँछन् ।

श्यामबहादुर दोङका दुई श्रीमतीबाट ८ सन्तानको जन्म भएको थियो । अहिले श्यामबहादुर भने छैनन् । मृतक अर्जुनका आमा बिनु सहित दाजु विपिन र आफन्त अहिले काठमाडौंमै छन् ।

अनलाइनखबरको सम्पर्कमा आएका विपिनका अनुसार अहिले मृत्यु भएका अर्जुन सबैभन्दा कान्छा हुन् । उनी २२ वर्षका थिए । उनका अनुसार भाइले चालकको रुपमा काम गर्न थालेको अन्दाजी तीन वर्षजति भयो । तर लाइसेन्स भए/नभएको बारे आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

उनी विवाहित छन् । दुई श्रीमती भएको विषयहरु बाहिर आएका छन् । दाजु विपिनका अनुसार पनि भाइ अर्जुनले दोस्रो विवाह पनि गरेका हुन् ।

अहिले प्रशासनसँग छलफल भइरहेको उनको भनाइ छ । तर आफ्नो मागहरु पूरा नभएसम्म शव नबुझ्ने अडान उनको छ । ‘भाइले न्याय पाउनु पर्‍यो अनि मात्रै शव उठाउँछौं’ उनी भन्छन् ।

अहिले आफ्नो भाइले ज्यान गुमाएको त्यो पीडा आफू भोग्नेलाई मात्रै थाहा भएको उनी बताउँछन् । ‘अहिले मेरो भाइ गयो । यस्तै शैली हो भने भोलि कसैको जाला । अब यसरी कोही मान्छे नमरोस्’ उनी भन्छन् ।

घरको आर्थिक अवस्था पनि कमजोर रहेको उनी सुनाउँछन् । सरकारले क्षतिपूर्ति दिनुपर्‍यो भाइले न्याय पाउनु पर्‍यो भन्ने आफूहरुको माग रहेको उनी बताउँछन् । अर्जुनले कक्षा ५ सम्म अध्ययन गरेको उनले बताए । यसअघि पनि ट्राफिकसँग विवादमा परेको, दुर्घटना गराएर फरार भएको विषय सार्वजनिक भएपछि यसबारे जिज्ञासा राख्दा दाइ विपिनले यसबारे आफूलाई केही जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?