+
+
Shares

महासमितिको निर्णय नउल्ट्याउन पराजुलीले गराए देउवाको ध्यानाकर्षण

तल्लो तहबाटै निर्वाचित भएर आउने व्यवस्था यथावत राख्न माग

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते १०:१९

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीले पार्टी केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउनु पर्ने निर्णय गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् ।

हालै काठमाडौंमा सम्पन्न महासमितिको बैठकको निर्णय केन्द्रीय समितिको बैठकले उल्टाएको भन्दै उनले त्यसो नगर्न ध्यानाकर्षण गराएका हुन् ।

गत पुस २८ गते काठमाडौंमा आयोजित कांग्रेसको महासमिति बैठकले पार्टी ‘केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउनु पर्ने’ निर्णय गरेको थियो । तर, फागुन १२ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सो कुरालाई उल्ट्याई ‘केन्द्रीय पदाधिकारी एवं सदस्यहरु एकपटकका लागि स्वतः महाधिवेशन प्रतिनिधि रहने’ भन्ने निर्णय गरेको थियो ।

महाधिवेशन प्रतिनिधिसमेत रहेका डा. पराजुलीले पार्टी सभापति शेरबहादुर देउवामार्फत् केन्द्रीय कार्यालयका मुख्य सचिवलाई पठाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘महासमितिको बैठकबाट अनुमोदित निर्णयहरु जस्ताको तस्तै अनुशरण गर्न केन्द्रीय कार्यसमिति समक्ष सादर एवं विनम्र ध्यानाकर्षण गरेको छु ।’

महासमिति बैठकबाट भएको निर्णयलाई केन्द्रीय कार्यसमितिले फेरबदल एवं थपघट गर्नु विधान विपरितको कार्य हुने भन्दै उनले ध्यानाकर्षण गराएका छन् । उनले यो निर्णय नेपालको संविधान र निर्वाचन ऐनको बर्खिलापसमेत भएको डा. पराजुलीले तर्क गरेका छन् ।

राजनैतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धमा संविधानको धारा धारा २६९ को ४ (ख) मा राजनीतिक दलको विधानमा कम्तीमा ५ वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने भन्ने व्यवस्थालाई उनले ध्यानाकर्षण पत्रमा समेटेका छन् । यसैगरी निर्वाचन आयोग ऐन २०६३ को दफा २४ मा राजनैतिक दलको दर्ता खारेज सम्बन्धी व्यवस्था को १(ग) अनुसार ‘संविधान वा निर्वाचन सम्बन्धी प्रचलित कानुन बमोजिम राजनैतिक दल दर्ता गर्न पूरा गर्नु पर्ने शर्त पुरा नगरेमा’ भन्ने व्यवस्था रहेको तर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसले विगत स्थानीय तह एवं संसदीय निर्वाचनमा निर्वाचन आयोगमा दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई मनोनयन पत्र दर्ता गर्ने औपचारिक पत्र प्रदान गर्न अधिकार पाएका पदाधिकारीको नामथर, पद र निजको दस्तखतको नमूना पठाउँदा केन्द्रीय सदस्यहरुलाई पदाधिकारीको जिम्मेवारी दिइएकाले सोअनुरुप केन्द्रीय सदस्यहरुलाई पदाधिकारी कायम गरिएको स्पष्ट उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?