News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली तथा सेवा सञ्चालक कम्पनीहरूलाई करदाता प्रोत्साहन उपहार कार्यक्रम आफ्नो प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको छ।
- आन्तरिक राजश्व विभागको कार्यविधि अनुसार साउन २१ गतेदेखि जारी हुने बिलहरूलाई उक्त कार्यक्रममा समेट्ने गरी विद्युतीय प्रणालीमा अन्तरआवद्धता कायम गर्न बैंकले भनेको छ।
- सरकारले करदाता प्रोत्साहन स्वरुप मासिक एक लाख ३३ हजार ३ सय ३४ र त्रैमासिक १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।
१४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली तथा सेवा सञ्चालक कम्पनीलाई करदाता प्रोत्साहन कार्यक्रम आफ्नो प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गरेको थियो । सोही अनुसार आन्तरिक राजश्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ कार्यविधि पनि लागु गरिसकेको छ । साउन २१ गतेदेखि जारी हुने बिल उक्त कार्यक्रममा समेट्ने व्यवस्था छ । सो अनुसार विद्युतीय प्रणालीमा अन्तर आवद्धता स्थापित गर्न आवश्यक व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले सबै भुक्तानी सेवा प्रदायकको मोबाइल एपमा आवश्यकता अनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ सम्बन्धी बारम्बार सोधिने प्रश्नहरुको छुट्टै खण्ड समावेश गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
त्यसैगरी भुक्तानी प्रणाली सञ्चालकहरुको मोबाइल एपबाट ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी तथा ग्राहकलाई साउन १६ मंगलबार पठाउन बैंकले निर्देशन दिएको छ ।
साथै, सो कार्यक्रममा सहभागिताको लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा सोको जानकारी समेत ग्राहकलाई पठाउन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । सरकारले करदाता प्रोत्साहन स्वरुपमा मासिक एक लाख ३३ हजार ३ सय ३४ र त्रैमासिक १० लाख पुस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया 4