News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले शुक्रबार सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ।
- मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको जानकारी दिए।
- बैठकले मठ, मन्दिर र मस्जिदमा लाउडस्पिकर बजाउन निषेध गर्ने जिल्ला प्रशासनको निर्णयको समेत स्वागत गरेको छ।
१४ साउन, काठमाडौं । विराटनगरमा सद्भाव र्याली आयोजना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको हलमा आयोजना गरेको सर्वदलीय बैठकले सदियौंदेखि हिन्दू र मुस्लिम समुदायबीचको सामाजिक एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने कार्य निन्दनीय भएको निष्कर्ष निकाल्दै शुक्रबार सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा उपस्थित सहभागिहरुले सामाजिक र धार्मिक सद्भाव कायम गराउन तथा शान्ति सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा निकायहरुलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सो सवदलिय बैठकले सामाजिक र धार्मिक सद्भाव कायम गराउन शुक्रवार सद्भाव र्याली आयोजना गरिने र त्यसमा सबैको सहभागिता रहने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।
सर्वदलीय बैठकमा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरु, धार्मिक संघ संगठनका प्रतिनिधिहरु र उद्योगी व्यवसायी र युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले जिल्ला प्रशासन कार्यालय मोरङले मठ, मन्दिर, मस्जिद र अन्य ठाँउमा राखिएका माइक, लाउडस्पिकर बाहिर बजाउन निषेध गरिएको स्वागत गरेका थिए ।
प्रतिक्रिया 4