News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको कोलकाताबाट पहिलो पटक व्यावसायिक कार्गो रेल विराटनगर आइपुगेपछि मोरङ-सुनसरी करिडोरका उद्योगी व्यवसायी उत्साही भएका छन् ।
- कार्गो रेल सेवाले ढुवानी खर्चमा ४० प्रतिशतसम्म कटौती हुने र सडक मार्गको सास्ती अन्त्य हुने विश्वास उद्योगीहरूले व्यक्त गरेका छन् ।
- नीतिगत जटिलता हटेपछि सुरु भएको यस सेवाले तेस्रो मुलुकबाट कच्चापदार्थ आयात सहज बनाउँदै नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउनेछ ।
५ साउन, विराटनगर । भारत कोलकाताबाट पहिलो पटक व्यावसायिक कार्गो रेल विराटनगर आइपुगेपछि निजी क्षेत्र हर्षित भएको छ ।
शुक्रबार कोलकाताबाट छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगर आइपुगेको हो । नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयातित कच्चापदार्थ बोकेको कार्गो रेल पहिलो पटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुग्दा निजी क्षेत्र उत्साहित भएको हो ।
पहिलो पटक नियमित सेवाका रूपमा आएको यो कार्गो रेलमा मोरङ सुनसरी औद्योगिक करिडोरको ‘स्वस्तिक आयल इन्डस्ट्रिज’ का लागि कच्चापदार्थ ल्याइएको छ ।
सडकबाट ल्याउँदा लागत महँगो तिर्दै आएका व्यावसायी कार्गोमा ४० प्रतिशतसम्म ढुवानी खर्च घट्ने र जोखिम पनि कम हुने बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत कार्गो रेल विराटनगरसम्म आउनु निजी क्षेत्रको ठूलो सफलता भएको बताउँछन् । कार्गो रेलले निजी क्षेत्रलाई उत्साहित बनाएको उनले बताए ।

‘जुन हिसाबको निजी क्षेत्रले पहिलेदेखि नै माग गरिराखेका थियौं र आज माग पूरा भएको छ, उद्योगीको हौसला बढेको छ,’ उनले भने, ‘सडकबाट आउँदा भोग्नुपर्ने सास्ती अन्त्य हुन्छ ।’
सडक मार्गबाट आउँदा ढिलो हुने, चोरी हुने र दुर्घटनाको जोखिम हुने बताउँदै उनले कार्गोबाट सामग्री आयात गर्दा पूर्वका उद्योगले बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बताए । उपभोक्तालाई पनि राहत हुने उनको भनाइ छ ।
‘पहिले वीरगञ्जसम्म मात्र कन्टेनर कार्गो आउँथ्यो, विराटनगरमा त बथनाहासम्म बल्क कार्गोमात्र आउने गरेको थियो, कन्टेनरमै सामान सिधै विराटनगर आउँदा ढुवानी खर्चमा भारी कटौती हुन्छ,’ उनले भने, ‘यसले वस्तुको ल्यान्डेड कस्ट घटाउँछ र नेपाली उत्पादनलाई भारतीय तथा अन्य अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ ।’
उनले खाली कन्टेनर फिर्ता लैजाने प्रक्रिया व्यवस्थित गर्नुपर्ने र साना व्यवसायीका लागि क्लबिङ गरेर सामान ल्याउने वातावरण बनाउनुपर्ने बताए ।
मोरङ उद्योग व्यापार संघ अध्यक्ष अनुपम राठीका अनुसार कार्गो रेल सेवाले ढुवानी भाडा कम्तीमा ३० प्रतिशतसम्म घटाउने छ । ढुवानी अवधि पनि घट्ने छ । यसले उपभोक्तालाई समेत राहत पुग्ने उनले बताए ।
‘ट्रकमा कोलकाताबाट सामान ल्याउन ५ देखि ७ दिन लाग्थ्यो, बर्खामा त झन् बढी समय लाग्थ्यो तर रेलबाट ३ दिनमै सामान आइपुग्यो,’ उनले भने, ‘यो धेरै खुसीको कुरा हो, अब सिपिङ लाइनहरूले विराटनगरमै आफ्नो कार्यालय खोलेर कन्टेनर यहीँ उपलब्ध गराउनुपर्छ, जसले गर्दा यहाँबाट हुने निर्यात पनि निकै सस्तो र छिटो हुनेछ, अन्य क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्छौं ।’

कार्गो सेवा निरन्तरता दिन राज्यले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘यसलाई निरन्तरता दिन ग्राउन्ड ह्यान्डलिङ कम्पनी, ट्रान्स्पोर्टले पनि आफ्नो पूर्वाधार बढाउनुपर्यो र दर–रेट प्रतिस्पर्धी गरिदिनुपर्यो,’ उनले भने, ‘जसले गर्दा भोलिका दिनमा बढीभन्दा बढी मालसामान कार्गोबाट आउँछ, हामीलाई सहज बनाउँछ ।’
कार्गो रेल सेवाको व्यावसायिक सुरुवातले निजी क्षेत्रको मनोबल बढाएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी बताउँछन् । रेल्वे यार्ड उद्घाटन भएको लामो समयसम्म कानुनी जटिलताका कारण व्यावसायिक ढुवानी नभए पनि अब भने नियमित हुने आशा पलाएको उनले बताए ।
‘पहिले क्लिंकर, सिमेन्ट, कोइला र मलखाद मात्र ल्याउन पाइन्थ्यो, हामीले सबै सामान ल्याउन पाउनुपर्छ भनेर माग गरेका थियौं,’ उनले भने, ‘भारत र नेपाल दुवै तर्फबाट कानुनी बाधा हटेका छन्, जसले गर्दा तेस्रो देशबाट कच्चापदार्थ ल्याउन सहज भयो ।’
रेल्वे ढुवानी भरपर्दो र छिटो पनि हुने उनले बताए । ‘रेलमा ट्र्याकिङ सिस्टम हुने भएकाले सामान कहाँ पुग्यो भनेर मोबाइलबाटै हेर्न सकिन्छ, यसले सुरक्षित र भरपर्दो हुन्छ,’ उनले भने, ‘सुनसरी–मोरङ करिडोरका उद्योगलाई एकदम सहज हुन्छ, हामी बजारसँग प्रतिस्पर्धा गर्न सक्छौं ।’

उनले कार्गोमा सामग्री ल्याउँदा मात्रै ४० प्रतिशतसम्म ढुवानी खर्च जोगिने दाबी गरे । ‘अब यसलाई नियमित बनाउनुपर्छ,’ उनले भने, ‘नियमित हुँदा उपभोक्तालाई पनि राहत मिल्ने छ ।’
कार्गो रेल सेवा औपचारिक सुरुवात शुक्रबार कोलकातामा नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी र भारतीय कन्टेनर निगम लिमिटेडका प्रतिनिधिहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर रेललाई बिदाइ गरेका थिए । विराटनगरमा निजी क्षेत्र र भन्सारका कर्मचारीले रेलको स्वागत गरे ।
विराटनगरको एकीकृत जाँच चौकीसम्म कार्गो रेल ल्याउने लक्ष्यसाथ २०८० जेठमा परीक्षण गरिएको थियो । तर, नीतिगत जटिलता र प्रक्रियागत समन्वय अभावमा उक्त कार्गो सेवा नियमित हुन सकेको थिएन । दुई देशबाट नीतिगत गाँठो फुकाएका कारण विराटनगरसम्मको कार्गो ढुवानी नियमित हुने निजी क्षेको अपेक्षा छ ।
प्रतिक्रिया 4