+
+
Shares

प्रधानमन्त्रीसँग एक घण्टा छलफलपछि तयारी पोसाक उद्योगी किन भए उत्साहित ?

प्रधानमन्त्री शाहले नेपालको तयारी पोसाक क्षेत्रले बंगलादेश, चीन, भियतनाम, भारत र श्रीलंकाको तुलनामा अपेक्षित प्रगति गर्न नसकेकोमा चासो व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि तयारी पोसाक उद्योगीहरू उत्साहित भएका छन् ।
  • प्रधानमन्त्री शाहले रुग्ण उद्योगलाई पुनः सञ्चालन गरी निर्यात प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • प्रधानमन्त्री शाहले उद्योगीका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयलाई तत्काल निर्देशन दिएका छन् ।

५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एक घण्टा छलफल गरेपछि तयारी पोसाक उद्योगी उत्साहित भएका छन् ।

प्रधानमन्त्री शाहले मुलुकको तयारी पोसाक उद्योगलाई पुनर्जीवित गराइ अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेपछि उद्योगी उत्साहित भएका हुन् ।

मंगलबार बिहान साढे ११ बजेदेखि एक घण्टासम्म नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री शाहले नेपालको तयारी पोसाक क्षेत्रले बंगलादेश, चीन, भियतनाम, भारत र श्रीलंकाको तुलनामा अपेक्षित प्रगति गर्न नसकेकोमा चासो व्यक्त गरे ।

छलफलमा नेपालको उत्पादन क्षेत्र पछि पर्नुका कारण र यसलाई अगाडि बढाउने उपायबारे उद्योगीहरूसँग शाहले जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई देश विकासको मुख्य संवाहकका रूपमा चित्रण गरेको संघ अध्यक्ष पशुपतिदेव पाण्डेले छलफलपछि सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बताए ।

‘देश तपाईंहरूले नै ड्राइभ गर्ने हो, हामी त मध्यस्थकर्ता मात्रै हौं, तपाईंहरूले नै काम गर्नुपर्‍यो भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै संघ अध्यक्ष पाण्डेले भने, ‘सरकारले तपाईंहरूलाई सहज वातावरण बनाइदिन्छ ।’

अध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँगको भेट निकै आत्मीय र पारिवारिक वातावरणमा सम्पन्न भएको बताए । ‘आजको मिटिङ एकदमै आत्मीय भयो, हामीलाई प्रधानमन्त्रीसँग नभई आफ्नो परिवारको मान्छेसँग कुरा गरेको जस्तै वातावरण मिल्यो,’ पाण्डेले भने ।

छलफलकै क्रममा संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अड्किएका तत्काल गर्नुपर्ने कामबारे जानकारी गराएको थियो । लगत्तै प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रालयमा फोन गरेर उद्योगीहरूसँग तत्काल छलफल गरी समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष पाण्डेका अनुसार रुग्ण उद्योगलाई पुन: सञ्चालनमा ल्याउने, उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धनका लागि प्रधानमन्त्रीले सक्रियता देखाएका छन् ।

‘तयारी पोसाकका रुग्ण उद्योग पनि खुलाउने र उत्पादन बढाइ आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने विषयमा काम गर्न उहाँले मन्त्रालयलाई तत्कालै फोन गरेर निर्देशन दिनुभएको छ,’ पाण्डेले भने ।

यस्तै नेपालको खुला सीमानाका कारण हुने चोरी पैठारीले स्वदेशी उद्योगलाई पुर्‍याएको असरबारे पनि छलफल भएको थियो । प्रधानमन्त्रीले यसलाई नियन्त्रण गर्ने उपाय र विगतको समयमा जस्तै तयारी पोसाक क्षेत्रलाई नेपालको अर्थतन्त्रको बलियो खम्बा बनाउने विषयमा चासो देखाएका थिए ।

यस्तै अमेरिकासँगको व्यापार बढाउने, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र ठूला बहुराष्ट्रिय कम्पनीलाई नेपालमै उत्पादनका लागि आकर्षित गर्ने विषयमा पनि गहन छलफल भएको अध्यक्ष पाण्डेले बताए ।

प्रधानमन्त्री शाहले यो उद्योगमा ‘जेनजी’ अर्थात् नयाँ युवापुस्तालाई कसरी आकर्षित गर्न सकिन्छ र रोजगारीका अवसरहरू कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा समेत निजी क्षेत्रको सुझाव मागेका थिए ।

अहिले नेपालले वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको तयारी पोसाक निर्यात गर्दै आएको छ । वातावरण सहज भए र सरकारले नीतिगत सहयोग गरे यो परिमाण उल्लेख्य रूपमा बढाउन सकिने संघको भनाइ छ ।

अध्यक्ष पाण्डेले नेपाली बजारले माग गरे अनुसार कपडा उत्पादन गर्न संघ सक्षम रहेको बताउँदै प्रधानमन्त्रीको निर्देशनपछि अब उद्योग मन्त्रालयमा थप छलफलका लागि जान लागेको जानकारी दिए ।

लामो समयपछि प्रधानमन्त्री स्तरबाटै उद्योगी बोलाएर यति गहिरो चासो र आश्वासन पाउनु इतिहासमै सह्रानीय काम भएको संघको निष्कर्ष छ ।

छलफलमा संघ अध्यक्ष पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?