+
+
Shares

मान्छे भित्रै भएको कारमा कसरी लाग्यो आगो, किन भाग्न सकेनन् चालक ?

एक अनुसन्धान अधिकृत भन्छन्, ‘भवितव्यभन्दा पनि यो आत्महत्याको उद्देश्य हुन सक्ने आशंकामा पनि अनुसन्धान गर्दैछौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको कारभित्र जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
  • मृतकको पहिचान सुरेश चन्द श्रेष्ठका रूपमा भएको र उनी कारका धनी एवं चालक रहेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
  • प्रहरीले घटना भवितव्यभन्दा पनि आत्महत्याको उद्देश्यले आफैँ सिर्जित हुन सक्ने आशङ्कामा अनुसन्धान अघि बढाएको छ।

५ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान एउटा कारमा आगो लाग्यो । बा ५ च ३०३८ नम्बरको कारमा एक्कासी आगो लागेको थियो ।

कारमा आगो लागेको देखेपछि स्थानीयवासी घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार कारभित्र मान्छे देखेपछि ढोका खोल्ने प्रयास पनि भएको थियो । लगत्तै प्रहरीको टोली घटनास्थल पनि पुगेको थियो ।

प्रहरी पुग्दा भने कारभित्र मान्छे जलिसेकेको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कारको चालक बस्ने सिटमा सिट बेल्टसमेत लगाएर बसेको अवस्थामा कारभित्रै पुरुषको जलेर मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा सुरेश चन्द श्रेष्ठ रहेको एसपी भट्टराईले बताए । उनी कार चालक तथा धनीसमेत रहेको पाइएको छ । उक्त कार नबिल बैंकबाट ऋण लिएर खरिद गरेको भेटिएको छ ।

कारमा आगो लाग्दासमेत श्रेष्ठ भने बाहिर ननिस्की कारभित्रै जल्नुले कुनै भवितव्य नभई आफैं सिर्जित घटना हुन सक्ने प्रारम्भिक विश्लेषण प्रहरीले गरेको छ ।

‘कारमा आगो लाग्न थालेपछि मान्छे निस्कनै नभ्याउने भन्ने हुँदैन । अनि एकै पटक कारको सबै भागमा आगो लाग्ने भन्ने पनि हुँदैन,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘भवितव्यभन्दा पनि यो आत्महत्याको उद्देश्य हुन सक्ने आशंकामा पनि अनुसन्धान गर्दैछौं ।’

प्रारम्भिक अनुसन्धानमा प्रहरीले आफैं सिर्जित घटना हुन सक्ने विश्लेषण गरे पनि यकिन पहिचान हुन भने बाँकी नै छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?