Comments Add Comment

चितवनको जंगलमा सेनाको सीसी क्यामरा !

cc-camara-chitawan-national
४ वैशाख, चितवन । वन्यजन्तुको चोरी शिकार शुन्यमा झार्न नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा शनिबार सीसी क्यामरा जडान गरेको छ । यहाँ लाग्ने मेलामा समेत सेनाले क्यामेरा फिट गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा ६ सयवटा रहेका छन् । यस्तै, पाटे बाघ १ सय २५ वटा  छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीजंग गणको टोलीले शनिबार विभिन्न ठाउँमा क्यामरा जडान गरेको हो ।

ठूलो रुखमा राखिएका सीसी क्यामेरालाई चाहिने ऊर्जाका लागि सोलार र ब्याट्रीहरु फिट गरिएका छन् । विगतमा तीन पटकसम्म निकुञ्जमा ‘शून्य चोरी-शिकार वर्ष’ मनाइएपछि ७ सय १४ दिनदेखि यहाँ कुनै पनि वन्यजन्तुको चोरी-शिकार नभएको सुरक्षा निकायको दाबी छ ।

यही उपलब्धिलाई रिनन्तरता दिन श्रीजंग गणको पहलमा परीक्षणकालागि निकुञ्जका ५ स्थानमा क्यामरा जडान गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । सम्वेदनशील क्षेत्रमा सीसी क्यामरामार्फत चौबिसै घण्टा अनुसन्धान तथा अनुगमन गरिने कँडेलले बताए ।

नेपाली सेनाले वन्यजन्तुको संरक्षणमा विशेष फोर्स परिचालन गर्दै आएको छ । वन्यजन्तु सुरक्षाका लागि स्र्माट पेट्रोलिङ्ग र रियल टाइम मोनिटरिङ्ग प्रविधिसँगै अब सीसी क्यामेरा जडान गरिएको श्रीजंग गणका गणपति एवं प्रमुख सेनानी माधव थापाले अनलाइनखबरलाई जानकारी दिए ।

सीसी क्यामेराबाट संवेदनशील घाट तथा नाकाहरुमा को के गर्दै छन् भनेर निगरानी गर्न सकिने गणपति थापाको भनाइ छ ।
 
विक्रमबाबा मेलामा पनि क्यामरा

चितवन राष्ट्रिय निकुञ्जभित्र लाग्ने एकमात्र मेला विक्रमबाबा मेलामा पनि क्यामेरा जडान गरिएको छ । विक्रमबाबा मेलामा गणले ३ ठाउँमा क्यामेरा जडान गरेको छ ।

cc-camara-in-cnp
मेलाका कारण वन्यजन्तुलाई असर परे/नपरेको हेर्नुका साथै वन्यजन्तुका अखेटोपहारको कारोबारलाई समेत निगरानी गर्न सकिने सेनाको विश्वास छ ।

चोरी शिकार शुन्यमा झारिएको सेनाको दाबी

चितवन राष्ट्रिय निकुञ्ज देशकै पहिलो राष्ट्रिय निकुञ्ज हो । एक सिङ्गे गैडा र पाटे बाघका लागि प्रख्यात रहेको यो निकुञ्ज ०३० सालमा स्थापना भएको हो  । निकुञ्ज ०४० सालमा विश्व सम्पदा सूचीमा सूचिकृत भएको छ ।

निकुञ्जको सुरक्षा ०३२ सालदेखि नै नेपाली सेनाले लिएको इतिहास छ । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा वन्यजुन्त संरक्षणमा निकै चुनौती खेपेको सेनाले ०६७ सालपछि प्रकृति संरक्षणलाई  प्रथामिकतामा राखी नयाँ अवधारणा अपनाउन थालेको छ । यही क्रममा सेनाले  शून्य चोरी शिकार बर्ष मनाउन थालेको हो ।

chitwan-national-park's-arm
तत्कालीन नन्दाबक्स गणका गणपति रामचन्द्र केसी रहँदा सन् २०११ म्ा पहिलो पटक शुन्य चोरी शिकारी बर्ष मनाइएको थियो । त्यसलगत्तै  सन् २०१३ मा तत्कालीन गणपति चक्र शाह रहँदा पनि शुन्य चोरी शिकार बर्ष मनाइयो । ०७० चैतमा श्रीजजंग गण निकुञ्जमा आएपछि तत्कालिन समयका गणपति सञ्जय देउजाको पहलमा वन्यजन्तुका लागि आधुनिक सूचना प्रविधि अपनाइयो ।

गणपति देउजाकै पालामा सुरक्षा तालिम प्राप्त कुकुर, ड्रोन, महिला नेपाली सेना प्रयोग, मार्ट पेट्रोलिङ्ग र रियल टाइम मोनिटरिङ्ग प्रविधिबाट सुरक्षा गर्न थालियो ।

निकुञ्जमा सुरक्षाका लागि सेनाले थालेको अभियानलाई थप प्रभावकारी एवं गतिशील बनाउन सीसी क्यामेराले संरक्षण कार्य अझै मजबुत बनाउने दाबी गर्छन् गणपति थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment