Comments Add Comment

दोश्रो एकिकृत बस्ती बनाउने तयारीमा धुर्मुस सुन्तली

Sitaram-8-(1)

काठमाडौं । भूकम्प पीडितका लागि काभ्रेमा १८ परिवारको लागि एकिकृत नमुना बस्ती बनाएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले दोश्रो एकिकृत बस्ती बसाउने योजना अघि सारेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८, गिदानचौरमा एकिकृत बस्ती बसाउने योजना बनाएका धुर्मुश सुन्तलीले ६५ नमुना घर बनाउने भएका छन् । जहाँ भूकम्प पिडित ६५ तामाङ परिवारका ५ सय १५ जना अहिले अस्थायी छाप्रोमा बसिरहेका छन् । ‘पहिलो एकिकृत बस्ती भन्दा यो निकै ठूलो बस्ती बन्नेछ । यो बस्तीलाई हामी सफा र बालमैत्री नमुना गाउँ बनाउने योजनामा छौँ ।’ अनलाइनखबरसंग कुरा गर्दै धुर्मुसले भने ।

सुरक्षित घरका साथै घरमा एक चर्पी, एउटा धारा, र बगैँचा समेत बनाउने योजना छ । बस्तीलाई होम स्टेको रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउने उनीहरुको उद्देश्य रहेको छ ।

उनीहरुले सुरु गर्ने यो अभियानमा जो कोहि पनि हिस्सेदार र सहयोगी बन्न सक्नेछ । पहिलो बस्ती निर्माण पनि सहयोगी हातहरुकै कारण सम्भव भएको उनले बताए ।

राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणले समयमा काम नगर्दा भूकम्प पीडित निराश हुँदै अनुभव गरेका छन् धुर्मुसले । १२ बैशाखमा भूकम्प आएपछि अमेरिकाको विभिन्न राज्यको कार्यक्रम छाडेर स्वदेश फर्किएका थिए धुर्मुस सुन्तली ।

उनीहरुले तत्काल भूकम्प प्रभावित ११ जिल्लामा राहात सामग्री वितरण गरेका थिए भने ६० भन्दा बढी परिवारका लागि शौचालय बनाएका थिए । भूकम्प गएको केहि महिनाभित्रै १८ परिवारको लागि काभ्रेमा बनाएको एकिकृत नमुना बस्तीले चौतर्फी प्रसंसा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment