Comments Add Comment

प्रधानमन्त्रीको पत्रको तरंग: मधेसी मोर्चा जीवित छ कि छैन ?

Madhesi-morcha

११ जेठ, काठमाडौं । वार्ताको आह्वान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चालाई पत्र पठाएपछि आन्दोलनरत संघीय गठबन्धनभित्र विवाद चुलिएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार मधेसी मोर्चालाई औपचारिक पत्र पठाएर वार्ताको आहृवान गरेका थिए । प्रधानमन्त्रीले ‘पि्रय मित्र’ भन्ने सम्बोधनसहित पठाएको पत्रले मधेसी मोर्चामा भने ‘अपि्रय’ स्थिति ल्याएको हो ।

प्रधानमन्त्रीको आहृवानमा मंगलबार त्रिपक्षीय बैठक समेत आहृवान भएको थियो । सत्तारुढ दल र कांग्रेससहितको बैठकमा मधेसी मोर्चा उपस्थित हुन सकेन ।

आन्दोलनकारी दलहरुमा अब संघीय गठवन्धनलाई पत्र नआएसम्म वार्ता नगर्ने कि मधेसी मोर्चालाई आहृवान गर्दै आएको पत्र स्वीकार गर्ने भन्ने विवाद सुरु भएको छ ।

मधेसी मोर्चा जीवित छ कि छैन ?

नयाँ संविधानलाई लिएर नेपाल-भारत सीमा नाकामा धर्नासहित मधेसमा ६ महिना लामो आन्दोलन गरेको मधेसी मोर्चा अहिले फ्रन्टमा छैन । मोर्चामा आवद्ध दलहरुले जनजातिहरुसँग मिलेर संघीय गठवन्धन बनाएका छन् र त्यसकै ब्यानरमा काठमाडौं केन्दि्रत आन्दोलन भइरहेको छ ।

तर, प्रधानमन्त्रीले वार्ताको आहृवान गर्दा संघीय गठवन्धन नभई मधेसी मोर्चालाई पत्र काटे । यो स्वभाविक पनि थियो । अहिलेसम्म भएका सबै वार्ता मधेसी मोर्चाको नाममा भएको थियो ।

र, हालै मधेसी मोर्चाले पठाएको पत्रको जवाफमा नै प्रधानमन्त्रीले अर्को पत्र लेखेका हुन् । तर, प्रधानमन्त्री ओलीको पत्र स्वीकार गर्ने नगर्ने विवाद हुनुले मधेसी मोर्चा जीवित छ कि छैन भन्ने प्रश्न उब्जिएको छ ।

उपेन्द्र भर्सेज राजेन्द्र

मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपाल गठवन्धनको पक्षमा छ । मधेस केन्दि्रत मधेसी जनअधिकार फोरम र जनजातिहरु बाहुल्य रहेको संघीय समाजवादीसँग पार्टी एकतापछि बनेको यो पार्टीर्को अध्यक्ष उपेन्द्र यादव छन् ।

अशोक राई संसदीय दलको नेता बनेका छन् । उपेन्द्र यादवले आफ्नो पार्टीको दीर्घकालीन राजनीतिक स्वार्थलाई हेरेर मधेसी मोर्चाको सट्टा संघीय गठवन्धनलाई जोड दिएका छन् ।

तर, मधेस केन्दि्रत राजनीति गर्दै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत भने मधेसी मोर्चाको अस्तित्व कायम राख्नुपर्नेमा जोड दिन्छन् ।

मधेसी मोर्चाकै नाममा ६ महिनाभन्दा बढी आन्दोलन भयो । ५६ जनाले ज्यान गुमाए । राष्ट्रिय/अन्तर्राष्ट्रियरुपमा पनि मधेसी मोर्चा नै स्थापित भएको छ ।

त्यसैले गठवन्धनका नाममा मधेसी मोर्चाको अस्तित्वलाई नै समाप्त पार्न नहुने उनीहरुको तर्क छ । मोर्चाका एक नेता भन्छन्, ‘मधेसी मोर्चाका नाममा भएको कुर्वानीलाई केही पनि होइन भनेजसरी बढ्नु गलत हुनेछ ।’

के भन्छन् नेताहरु ?

सदभावना पार्टीका अध्यक्ष महतो प्रधानमन्त्रीको पत्रबारे मधेसी मोर्चाको बैठक बसेर छिट्टै जवाफ दिनुपर्ने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘संघीय गठवन्धनलाई पनि कायम राख्नुपर्छ, तर, मधेसी मोर्चाको आफ्नै अस्तित्व छ, हामी छिट्टै बैठक बसेर यसबारे धारणा बनाउँछौं ।’

तर, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ भने अहिले संघीय गठवन्धनले आन्दोलन गरिरहेको भन्दै प्रधानमन्त्रीले गठवन्धनलाई नै वार्तामा बोलाउनुपर्ने बताउँछन् । उनले भने, ‘मधेसी मोर्चालाई वार्तामा बोलाउनु भनेको त फुटाउ र राज गर भन्ने नीति हो, यो वार्ता आहृवान स्वीकार्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment