Comments Add Comment

विप्लवका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ पक्राउ

९ चैत, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ९ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट पक्रेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले काभ्रेबाट बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेका ओलीसहितका ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ गरिएको अनलाइनखबरलाई जानकारी दिए ।

‘हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्ता प्रहरीको नियन्त्रणमा पर्नु भएको छ,’ रानीपोखरीमा कार्यरत एक उच्च प्रहरी अधिकारीले अनलाइनखबरसँग भने ।

पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने सबै मध्यकमाण्डका हुन् ।

प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।

यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । ओली प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि चार नेता कार्यकर्ता पक्राउ परेका थिए ।   तथापि, उनी त्यसको केही दिनपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।

सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने ओली सबैभन्दा उच्च तहका नेता हुन् । ओलीले सम्हालेको मध्यकमाण्ड अहिलेसम्म सबैभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ पर्ने क्षेत्र बनेको छ । एकपछि अर्को नेता–कार्यकर्ता पक्राउपछि विप्लवको मध्यकमाण्ड क्षेत्रमा धक्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment