+
+

‘काफलडाँडा’ अपरेशन: हेमन्तप्रकाशलाई समाउन खोज्दा चश्मा र औषधिमात्रै भेटियो

स्थानीय प्रहरीले सूचना पायो, सर्चको तयारी गर्दागर्दै अपराध महाशाखा पुग्यो !

गौरव पोखरेल गौरव पोखरेल
२०७५ चैत ८ गते १०:४८

७ चैत, काठमाडौं । ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को मुख्यालय अगाडि एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी भएको शक्तिशाली विष्फोटपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली अनुसन्धानमा खटिएको थियो ।

उपत्यकाभित्र हुने जघन्य प्रकृतिको अपराध अनुसन्धानको जिम्मेवारी पाएको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरको नेतृत्वमा भएको अनुसन्धान एनसेलकै दुई जना सुरक्षागार्डमाथि केरकारबाट सुरु भएको थियो । उनीहरुले एनसेलको कार्यालयभित्र रहेको शंकास्पद झोलालाई गेटबाट बाहिर फ्याँकेका थिए, त्यसको केहीवेरमा विष्फोट भएको थियो ।

अनुसन्धानका क्रममा सुरक्षागार्डले बम बाहिर मिल्क्याउँदा क्षति झन् कम भएको देखियो र उनीहरुको विप्लव समूहका नेता/कार्यकर्तासँग पनि कुनै पनि कनेक्सन देखिएन । त्यसपछि प्रहरीले अनुसन्धान एनसेलमा राखिएको सीसी क्यामेरामा देखिएका ४ वटा मोटरसाइकलतर्फ केन्द्रीत भयो ।

त्यही क्रममा विप्लव समूहका पूर्वअंगरक्षक एवं मध्यकमाण्डका सदस्य सुर्य भुजेल पक्राउ परे, जसको योजनामा नख्खु विष्फोट भएको प्रहरी दाबी थियो । तर, उनीबाट प्रहरीले कुनै क्लू पाउन सकेको थिएन ।

अनुसन्धानकै क्रममा सोमबार भने प्रहरीले महत्वपूर्ण सुराक हात पार्‍यो, ‘मध्य कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश वलीलगायतका लागि आवश्यक सामाग्री खरिद गर्ने एक कार्यकर्ता बालाजु आएका छन् ।’ सूचनापछि त्यसतर्फ दौडिएको प्रहरी टोलीले मोटरसाइकलसहित डिकेन्द्र राईलाई पक्राउ गर्न सफल भयो । तर, उनी सुराकीले दिएको हुलियासँग मेल खाने व्यक्ति नभएको अनुसन्धान अधिकारीहरुको दाबी छ ।

समूहका कमाण्डर वली बसेको भनिएको शंकास्पद घरलाई प्रहरीले घेरा हाल्यो तर, त्यहाँ घरमुली वीरबहादुर लामा र उनकी श्रीमतीबाहेक कोही भेटिएनन् । बरु, वली त्यहाँ बसेका थिए भन्ने प्रमाणको रुपमा उनको चस्मा र डाइबेटिजको औषधि बरामद भयो । उनी त्यो घरमा विगत दुई दिनदेखि बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ

राईलाई पक्राउ गरेपछि अगाडि आएका व्यक्तिको विषयमा प्रहरीले सोधिखोजी थाल्यो । त्यसक्रममा नुमबहादुर विक भन्ने व्यक्ति पक्राउ परे, जो प्रतिबन्धित विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली उर्फ सुदर्शनका सहयोगी भएको प्रहरीको भनाइ छ ।

उनीहरुकै बयानबाट प्रहरीले इञ्चार्ज वलीसहितको टोली काभ्रेको विकट गाउँमा लुकेर बसेको सूचना उम्कायो ।

काफल डाँडामा २० घन्टे अपरेशन

यो सूचना पाउने वित्तिकै अनुसन्धान अधिकारीले महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालसँग छलफल गरे । तत्काल यो सूचना माथिल्लो निकाय महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीसमक्ष पुर्‍याइयो ।

उनले महाशाखाकै टोलीलाई काभ्रे अपरेशनमा जान संकेत गरेपछि मंगलबार बिहान ८ बजे एसपी राठौरको नेतृत्वमा नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरसहितको टोली काभ्रेतर्फ मुभ भयो । ब्याकअपमा अतिरिक्त प्रहरीको पनि व्यवस्था गरिएको थियो भने अघिल्लो दिन समातिएका सुदर्शनका सहयोगी नुमबहादुर पनि प्रहरीसँगै थिए । जसको सहयोगमा कमाण्डर बसेको ठाउँसम्म पुग्ने प्रहरीको लक्ष्य थियो ।

त्यसो त प्रहरीले दोहोरो फायरिङ भएको दाबी गरेको ठाउँ नजिकै रहेको खहरेपाँगु प्रहरी चौकीले गाउँमा हतियारसहित एउटा टोली छिरेको सूचना केहीदिन अघि नै पाएको थियो । ‘जिल्लामा पनि हतियारसहित टोली छिरेका छन् भन्ने सूचना आएको थियो’, काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले अनलाइनखबरसँग स्वीकारे, ‘हामी अपरेशनको तयारीकै क्रममा थियौं, त्यही क्रममा काठमाडौंबाटै टोली आयो ।’

महाशाखाको अपरेशनबारे काभ्रेको टोलीले पनि सञ्चार माध्यममा समाचार आएपछि मात्रै थाहा पाएको थियो । अपराध महाशाखालाई भने विप्लव समूहका निःशस्त्र समूह त्यहाँ बसेको सूचना रहेको अधिकारीहरुको दाबी छ । एसपी राठौर नेतृत्वको टोली संकित क्षेत्र रोशी गाउँपालिका प्रवेश गर्दा झमक्क साँझ परिसकेको थियो ।

विप्लवका एक जना कमाण्डर सुदर्शनलाई समात्न गएको टोली उनी बस्ने ठाउँसम्म पुग्नलाई माध्यम थिए, सोमबार काठमाडौंबाट पक्राउ परेका नुमबहादुर । संकित घरसम्म पुग्नुअघिसम्म नुमबहादुर र सदुर्शनको कुराकानी भइरहेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

उनले नुमबहादुरलाई भेट्न चण्डीगाउँ–५, शिखर आम्बोटेमा रहेको ग्रामोत्थान प्रा.वि.मा बोलाएका थिए । तर, त्यहाँ उनी नआएपछि प्रहरी टोली उकालो लाग्छ ।

माथि उक्लिएको केहीवेरमै एउटा शंकास्पद मोटरसाइकल प्रहरी टोलीबाट क्रस हुन्छ । रोकेर सोधपुछ गर्दा सुरुमा उनले गलत परिचय बताएर फुत्किने कोशिश गरे पनि उनको ढाँट प्रहरीसँग लामो समय छिप्न सकेन । अन्ततः उनी विप्लव समूहका सदस्य सिन्धुपाल्चोकका विशाल तामाङ भएको खुल्यो ।

उनलाई पक्राउ गरेर प्रहरी काफलडाँडातर्फ अघि बढ्यो । त्यसको केही मिनेटमै प्रहरीमाथि आक्रमणको प्रयास भएको अनुसन्धान अधिकारीहरुको दाबी छ । ‘विशाललाई पक्राउ गरेर अघि बढ्ने वित्तिकै केही व्यक्तिको समूहले हामीमाथि गोली प्रहार गर्न थाले’, एक अनुसन्धान अधिकारीले दाबी गरे, ‘त्यसक्रममा हामीले पनि जवाफी फायर खोल्दा केही व्यक्ति भाग्न सफल भए भने झापाका शिव धिमाल पक्राउ परे ।’

त्यसक्रममा प्रहरीको तर्फबाट ४ राउण्ड गोली प्रहार भएको प्रहरीको भनाइ छ भने विप्लव समूहबाट कति गोली चल्यो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । कमाण्डर सुदर्शनले जारी गरेको विज्ञप्तिमा भने उनीहरुसँग हतियारै नभएको दाबी गरिएको छ ।

विप्लवका नेता खोज्दा, चस्मा र औषधी भेटियो !

दुईजनालाई त्यहाँ पक्राउ गरेपछि पनि अपरेशन रोकिएको थिएन । उनीहरु मध्यकमाण्डका नेता सुदर्शनलाई नै पक्राउ पर्ने दाउसहित अघि बढिरहेका थिए ।

धुलिखेलबाट करिब ४ घन्टा हिँडेपछि पुगिने विकट क्षेत्र काफल डाँडामा प्रहरी टोली मध्यरातितिर पुग्यो । र, समूहका नेता वली बसेको भनिएको शंकास्पद घरलाई घेरा हाल्यो तर, त्यहाँ घरमुली वीरबहादुर लामा र उनकी श्रीमतीबाहेक कोही भेटिएनन् । बरु, वली त्यहाँ बसेका थिए भन्ने प्रमाणको रुपमा उनको चस्मा र डाइबेटिजको औषधि बरामद भयो । उनी त्यो घरमा विगत दुई दिनदेखि बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘हतारमा औषधि र चस्मा छाडेरै भागेका रहेछन्’, अपरेशनको नेतृत्व गरेका एसपी राठौरले अनलाइनखबरसँग भने, ‘त्यहाँबाट हामी फर्किँदा बिहान ४ बजिसकेको थियो ।’

त्यतिवेलासम्म वली भागिसकेका थिए । वली पक्राउ परेको भए समूहलाई ठूलो धक्का पुग्ने प्रहरी अधिकारीहरु सुनाउँछन् । ‘राजनीति जोडिएको नख्खु विष्फोट जस्ता घटनामा संलग्न यति ठूलो संख्यामा पक्राउ पर्नु प्रहरीको ठूलो सफलता हो’, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘अरु संलग्नमाथि पनि हाम्रो कडा निगरानी छ ।’

‘अपराधमा संलग्न यो समूहमाथि सुक्ष्म निगरानी र खबर संकलनमा हामी गम्भीर भएर लागेका छौं’, उनले भने । अनुसन्धान अधिकारीहरु काभ्रे घटनाले पनि बाहिर सार्वजनिक भएजस्तो विप्लव समूह बलियो नभएको देखाएको दाबी गर्छन् ।

‘त्यहाँ न त कुनै हतियार भेटियो न त उनीहरुको केही तयारी नै’, ती अधिकारीले आफ्नो विश्लेषण सुनाए, ‘३ वटा भागमा विभाजित एउटा महत्वपूर्ण कमाण्ड झण्डैझण्डै ध्वस्त भइसकेको छ ।’ यो अर्थमा प्रहरी यो अपरेशन महत्वपूर्ण रहेको उनले अथ्र्याए ।

अनुसन्धान अधिकारीहरु विप्लव समूहका कारण काभ्रेका गाउँगाउँमा उच्च त्रास रहेको देखिएको सुनाउँछन् । तर, विप्लव समूहको वास्तविताका त्यस्तो नभएको उनीहरुको दाबी छ ।

को हुन् शिव र विशाल ?

काभ्रेबाट पक्राउ परेका विशाल तामाङको वास्तविक नाम राजीव भएको महाशाखाका एक अधिकारीले बताए । उनी तत्कालीन माओवादीको योङ कम्युनिष्ट लिग (वाईसीएल) का पूर्वइञ्जार्ज भएको प्रहरी बताउँछ ।

उनी १८ मंसिर ०७४ मा कांग्रेस नेता गगन थापालाई लक्षित गरेर भएको बम विष्फोटमा पनि संलग्न रहेको प्रहरीको आरोप छ । प्रहरीले घटनाको ३ दिनपछि तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो । तर, पछि उनी छुटेका थिए ।
उनी बम बनाउने विषयको जानकार रहेको प्रहरीको दाबी छ । यद्यपि, तामाङले भने यो कुरा स्वीकारेका छैनन् । उनले वयानका क्रममा एउटै अडान राख्ने गरेका छन्, ‘घुम्न गएको मान्छेलाई किन समातेको ?’

पक्राउ परेका अर्का व्यक्ति धिमाल तत्कालीन विद्रोही माओवादीका कार्यकर्ता हुन् । उनी नख्खुमा भएको बम विष्फोटमा संलग्न देखिएको प्रहरीको दाबी छ । उनी नख्खु विष्फोटको समयमा घटनास्थलमा समेत उपस्थित भएको प्रहरी दाबी छ ।

काभ्रेको काफलडाँडा अपरेशनबाट बरामद ६ वटा मोबाइल, कालो लेदर ब्याग र ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ लेखिएको दस्तावेज लगायतबाट महत्वपूर्ण सूचना हात लागेको प्रहरीको दाबी छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?