Comments Add Comment

काभ्रेमा प्रहरीले जवाफी कारबाही गरेको भन्नु गलत : विप्लव समूह

७ चैत, काठमाडौं । काभ्रे गोलीकाण्डमा प्रहरीले जवाफी कारबाही गरेको दाबीलाई प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले ‘वकवास’ भनेर टिप्पणी गरेको छ ।

बिहीबार मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले एक विज्ञप्ति जारी गर्दै काभ्रे गोलीकाण्डबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

यसअघि ५ चैतमा साँझ काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा दोहोरो फायरिङ भएको प्रहरीले दाबी गरेको थियो । घटनामा शिव धिमाल र विशाल तामाङलाई पक्राउ गर्न सफल भए पनि अन्य भागेको प्रहरीको भनाइ थियो ।

तर, सुदर्शनद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘निहत्थया, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको वकवास गरिएको’ भनिएको छ ।

‘यो झुटो वकवासले जनयुद्धकालमा लगाइएको संकटकाललाई स्मरण गराएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’

विज्ञप्तिमा हालको सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment