खोटाङ, १८ कात्तिक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको ज्यान गएको हो ।
तीन महिनाअघि बिरालोले खुट्टामा टोकेका थापाको कात्तिक १८ गते मृत्यु भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रवक्ता भुपेन्द्र बस्नेतले बताए ।
कात्तिक १६ गते स्वास्थ्यचौकी बतासेका एचए रमेश यादवले चेकजाँज गर्दा रेबिज लागेको आशंकामा बिरामीलाई अस्पताल रेफर गरिएको थियो । आफन्तले बिरामीलाई तत्काल बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा पुर्याएका थिए ।
रेबिज लागेको पूष्टि भएपछि बिराट टिचिङले नोबेल मेडिकल कलेजमा रेफर गरेको थियो तर नोबेल मेडिकल कलेजले उपचार सम्भव नहुने भन्दै भर्ना गर्न अस्वीकार गरेको थियो । त्यसपछि घर फर्काउने क्रममा बिरामीको मृत्यु भएको प्रवक्ता बस्नेतले बताए । थापाले तीन महिनाअघि रातको समयमा बिरालोले खुट्टामा कोतरेको बताएकी थिइन् ।
यसैबीच, रेबिज संक्रमितलाई अस्पताल पठाउनेक्रममा खटिएका तथा छोएका २८ स्थानीयलाई रेबिज बिरुद्धको खोप लगाइएको छ । बिरामीको सम्पर्कमा पुगेका स्थानीयलाई कात्तिक १८ गते आधारभूत अस्पताल ओख्रेबाट रेबिज बिरुद्धको खोप दिइएको हो ।
बिरामीको चेकजाँच गरेका एचए यादवले समेत खोप लगाएका छन् । संक्रमणको आशंका गरिएका १० जनालाई खोप दिन बाँकी नै छ ।
दोस्रो डोजका लागि भने आधारभुत अस्पतालमा खोपको अभाव भएको छ । खोप व्यवस्थापनका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय सुरु गरिसकेको प्रवक्ता बस्नेतले बताए ।
प्रदेश सरकारबाट खोप प्राप्त नभए गाउँपालिका आफैले खोप खरिद गरेर व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4