News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट डा. डिला संग्रौला पन्त पहिलो महिला महामन्त्री निर्वाचित भएकी छन् ।
- संग्रौलाले खसेको ७ हजार १३ मतमध्ये ३ हजार ११८ मत पाउँदै महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनाललाई पराजित गरिन् ।
- संग्रौलाले आफ्नो जितलाई महिलाको गौरव भन्दै पार्टीलाई युवा पुस्ताले चाहे जस्तो बनाउन प्रतिबद्ध रहने बताइन् ।
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले स्थापनाको ८० वर्षपछि पहिलो पटक महिला महामन्त्री पाएको छ । १५औं महाधिवेशनबाट डा. डिला संग्रौला पन्तले पहिलो महिला महामन्त्रीका रूपमा इतिहास रचेकी छन् ।
सोमबार बिहान सम्पन्न मतगणनाअनुसार उनी प्रतिस्पर्धीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनाललाई पराजित गर्दै महामन्त्री निर्वाचित भएकी हुन् । संग्रौलाले खसेको ७ हजार १३ मध्ये तीन हजार ११८ मत प्राप्त गरिन् ।
डिनाले २ हजार ८६४ मत पाउँदा खनालले ८०४ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।
संग्रौला गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन् । १५औं महाधिवेशनले विधान संशोधन गरी महामन्त्रीमा महिला क्लस्टर थप गरेको थियो । सोही क्लस्टरबाट उम्मेदवार बनेकी संग्रौला महामन्त्रीमा निर्वाचित भएकी हुन् ।
नेपाली कांग्रेसको पहिलो महिला महामन्त्री बन्न सफल भएकी संग्रौलाले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि महिलाको गौरवका रूपमा व्याख्या गरिन् ।
पार्टीको भ्रातृ संगठन नेपाल महिला संघमा आबद्ध दिदीबहिनीहरूले आफूलाई मत दिएर यो स्थानमा पुर्याएको उल्लेख गर्दै उनले यसलाई सबै महिलाको गौरव भएको बताइन् ।
महिला संघको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेको र संगठनका विभिन्न पद तथा निकायमा रहेर काम गरेको अनुभव आफूसँग रहेको संग्रौलाले उल्लेख गरिन् ।
सहमहामन्त्रीका रूपमा ८ महिना काम गरिसकेको अनुभवसमेत सुनाउँदै उनले पार्टीको योजना र कार्यक्रमअनुसार आफूलाई समर्पित गरेर अघि बढ्ने बताइन् ।
महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै संग्रौलाले आफूलाई खुसीसँगै जिम्मेवारीको बोध भएको बताइन् । उनले पार्टीलाई युवा पुस्ताले चाहे जस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने प्रतिक्रिया दिइन् ।
कांग्रेसलाई नयाँ उचाइमा पुर्याउँदै नयाँ बाटोमा अघि बढाउने र युवा पुस्ताको चाहनाअनुसार पार्टी निर्माण गर्ने अभियानमा आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ ।

वडा सभापतिदेखि महामन्त्रीसम्म
२०३६ सालको जनमतसंग्रहका बेला डिला संग्रौला कक्षा ९ मा अध्ययनरत थिइन् । सोही बेलादेखि नै उनी कांग्रेसको राजनीतिमा आकर्षित थिइन् । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह (आईए) अध्ययनका क्रममा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कार्यसमिति सदस्यमा निर्वाचित भइन् ।
क्याम्पसमा रहँदा उनी दाङका कांग्रेस नेताहरू खुमबहादुर खड्का, तीर्थराज ज्ञवाली (चैतु) र बलदेव मजगैंयाको व्यक्तित्वबाट प्रभावित भइन् । नेविसंघमा सक्रिय हुँदै पार्टीका स्थानीय नेताहरूसँग निकट सम्पर्कमा रहेपछि कांग्रेसको आदर्श, सिद्धान्त र राजनीतिक गतिविधिलाई नजिकबाट बुझ्ने अवसर पाएको उनी बताउँछिन् ।
संग्रौलाको राजनीतिक चेतना र सक्रियतामा २०३६ सालको जनमत संग्रहको पृष्ठभूमि र तत्कालीन राजनीतिक परिवेशले पनि प्रभाव परेको थियो । अध्ययन, पारिवारिक जिम्मेवारी र राजनीतिक आकांक्षालाई सँगसँगै अघि बढाउँदै उनले पार्टी राजनीतिसँगको आबद्धतालाई निरन्तरता दिइन् ।
२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी बनेकी संग्रौलाले त्यसको केही वर्षपछि कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरिन् । विराटनगरमा बसेर घरपरिवार र अध्ययनलाई निरन्तरता दिँदै राजनीतिमा सक्रिय भएकी उनी कांग्रेसको वडा सभापतिदेखि केन्द्रीय सदस्य र सांसदसम्मको जिम्मेवारीमा पुग्न सफल भइन् ।
२०४७ सालमा कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेकी संग्रौलाले विराटनगरको तत्कालीन वडा नम्बर १५ को महिला संघ सभापतिको जिम्मेवारी पाइन् । महिला संघमा सक्रिय भूमिका निर्वाह गरेपछि उनी कांग्रेसको वडा सभापति बनिन् । त्यसपछि नगर समिति सदस्य, महिला संघको जिल्ला सदस्य र कांग्रेसको जिल्ला सदस्य हुँदै उनले पार्टी संगठनमा आफ्नो भूमिका विस्तार गरिन् ।

२०५३ सालमा सम्पन्न कांग्रेसको नवौं महाधिवेशनदेखि डा. संग्रौला निरन्तर महाधिवेशन तथा महासमिति प्रतिनिधिका रूपमा सहभागी हुँदै आएकी छिन् । २०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई समानुपातिक उम्मेदवार बनाए पनि संविधानसभा सदस्य बन्ने अवसर भने प्राप्त भएन ।
त्यसबेला विश्वविद्यालयको स्थायी प्राध्यापन पेसाबाट राजीनामा दिएर राजनीतिमा पूर्णकालीन रूपमा होमिएकी संग्रौला पार्टीको आन्तरिक भागबण्डाका कारण सांसद बन्न नसकेकोमा असन्तुष्ट थिइन् ।
संविधानसभा सदस्य बन्ने सपना पूरा नभएपछि उनले पार्टी राजनीतिसँगै विद्यावारिधिको अध्ययनलाई अघि बढाइन् । २०६५ सालमा विद्यावारिधिका लागि त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकी संग्रौलाले २०६८ सालमा ‘विराटनगरका वैष्णव सम्प्रदायहरू’ शीर्षकमा विद्यावारिधि उपाधि हासिल गरिन् ।
यही अवधिमा उनी कांग्रेस मोरङको जिल्ला उपसभापतिको जिम्मेवारीमा समेत पुगिन् । कांग्रेसको आन्तरिक राजनीतिमा महिला नेतृत्व स्थापित गर्ने क्रममा २०६८ साल माघ २१ गते उनलाई नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिको अध्यक्ष नियुक्त गरियो ।
उनले संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाइन् । त्यसबेला लामो समयदेखि बन्द रहेको महिला संघको केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने, संगठनलाई देशभर विस्तार गर्ने र प्रशिक्षण तथा संगठन सुदृढीकरणका कार्यक्रम अघि बढाउने काममा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिन् ।
महिला संघको अध्यक्षका रूपमा उनले महिलाको राजनीतिक प्रतिनिधित्व, अधिकार र नेतृत्व विकासका मुद्दालाई प्राथमिकता दिइन् । महिला अधिकारका विषयमा अन्य राजनीतिक दलका महिला संगठनसँग सहकार्य गर्दै संविधानमा महिलाका हक सुनिश्चित गर्न पनि सक्रिय रहिन् ।
२०७२ सालको संविधान निर्माणका क्रममा महिला अधिकारको पक्षमा आवाज उठाउने तथा भूकम्पपछिको राहत र पुनर्स्थापनाका गतिविधिमा महिला संघलाई परिचालन गर्ने काममा पनि उनको भूमिका रह्यो ।
२०७३ साल भदौमा संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गराएर उनले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिन् ।
कांग्रेसको १२औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित संग्रौला २०७२ सालमा सम्पन्न १३औं महाधिवेशनमा महिलातर्फ सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्य निर्वाचित भइन् ।
पार्टी संगठनमा उनको सक्रियता र महिला संघको नेतृत्वमा गरेको कामले केन्द्रीय राजनीतिमा उनको पहिचान विस्तार गर्न सहयोग पुर्यायो ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा संग्रौला कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनिन् । संसद्मा रहँदा उनले सरकारका नीति तथा कार्यक्रम, बजेट, नागरिकतासम्बन्धी विधेयक र श्रमिकका हकहितका विषयमा आवाज उठाइन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेर विधेयकहरूमाथिको छलफलमा सहभागी भएकी संग्रौलाले कांग्रेसको छाया सरकारमा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिन् ।
सांसदका रूपमा उनले महिला सशक्तीकरण, राजनीतिक नेतृत्वमा महिलाको प्रतिनिधित्व, श्रमिकको अधिकार, सुशासन र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखिन् । महिला हिंसा, हत्या तथा बलात्कारका घटनामा न्यायको माग गर्दै संग्रौलाले विभिन्न अभियान र सार्वजनिक बहसमा सहभागिता जनाइन् ।
राजनीतिक गतिविधिसँगै लेखनमा पनि सक्रिय संग्रौलाले समसामयिक राजनीति, महिला अधिकार, सामाजिक सुरक्षा, विकास र संसदीय अभ्यासलगायत विषयमा लेखहरू प्रकाशित गरेकी छिन् । ‘नेपालका सपना अधुरै’ र ‘कांग्रेस अबको बाटो’ उनका राजनीतिक तथा वैचारिक लेखनसँग सम्बन्धित पुस्तक हुन् ।
वडा तहबाट सुरु भएको नेतृ संग्रौलाको राजनीतिक यात्रा महिला संघको केन्द्रीय नेतृत्व, कांग्रेसको केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, पार्टीको सहमहामन्त्री हुँदै पहिलो महिला महामन्त्रीसम्म पुगेको छ ।
प्रतिक्रिया 4