News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले सप्तरी कांग्रेस अधिवेशनमा आफूलाई क्षेत्रीय प्रतिनिधिबाट हटाएर दबाबमा उम्मेदवारी फिर्ता गराइएको र त्यसलाई ‘सेलेक्सन’ भनेका छन्।
- उनले जिल्ला नेतृत्व र निर्वाचन अधिकृतले चुनाव गराउन नचाहेर सर्वसम्मतको नाममा लोकतान्त्रिक प्रक्रिया रोकेको आरोप लगाएका छन्।
- लेखकले गगन-विश्व नेतृत्वलाई जिल्ला तहमा आन्तरिक लोकतन्त्र संस्थागत गर्न र युवालाई साथ दिन आग्रह गरेका छन्।
‘नेपाली कांग्रेस लास र दासहरूको पार्टी होइन।’
विशेष महाधिवेशनमा गगन थापाले भनेको यो वाक्यले कांग्रेस भित्रकाहरूको मन त तान्यो नै, कांग्रेस बाहिरकाहरूलाई पनि आकर्षित गर्यो। म व्यक्तिगत रूपमा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट २२ वर्षको उमेरमा क्रियाशील सदस्य बनेको थिएँ। नेपाल विद्यार्थी सङ्घमा विभिन्न एकाइको सभापतिलगायत पदमा काम गरेर केन्द्रीय सदस्यसमेत भइसकेको थिएँ।
आफू महाधिवेशन प्रतिनिधि नभएकाले उक्त विशेष महाधिवेशनमा जाने वा नजाने कुराले खासै अर्थ नराख्ने भएकाले म सहभागी भने भएको थिइनँ, तर मन कतै न कतै उक्त भेलाकै समर्थनमा थियो। गगन थापाको उक्त भाषणपछि उहाँप्रति सम्मान झनै बढेको थियो। पुराना ‘बुढा’ नेताहरूलाई गरिएको व्यवहारप्रति थोरै चित्त नदुखेको भने होइन। किनकि, पुराना भनिएका कतिपय नेताहरूलाई नखाएको विष लगाइएको थियो।
कयौँ पटक सांसद भएका शशांक कोइरालाहरू कहिल्यै मन्त्री भएनन्, तर पनि उनीहरूलाई ‘अपराधी’ करार गरियो; किनभने उनीहरू शेरबहादुर देउवाको साथमा उभिए। तर मन्त्री भइसकेका गगनहरू भने त्यस दोषबाट उम्किन सफल भए।
मलाई गुनासो एउटै कुराको हो- नखाएको विष कसैलाई लाग्नु हुँदैन। तर गल्ती गर्ने सबैलाई सजाय हुनैपर्छ। यी सबै घटना हेर्दाहेर्दै निर्वाचन आयोगको फैसलादेखि सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विवादसम्म हेरियो। यो सब हेर्दै गर्दा कहिले यो सही लाग्ने त कहिले त्यो। तर पनि मनले भने ‘गगन-विश्वले केही त आँटे, युवाका लागि केही त गरे है’ भन्ने चाहिँ सधैँ परिनै रह्यो।
यति हुँदाहुँदै १५औं महाधिवेशन आयो र अरू जस्तै मैले पनि आफ्नो सदस्यता अद्यावधिक गरेँ। त्यसमा पनि गगन-विश्वले अन्तिमतिर गएर ‘अद्यावधिक गर्ने र नगर्ने दुवै किसिमका सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने’ भन्दै गर्दा मनमा एउटा प्रश्न नजन्मिएको होइन- यदि सबैलाई भाग गराउनै थियो भने यत्रो ठूलो नाटक मञ्चन केका लागि थियो? तर पनि ‘ठिकै छ त’ भनेर अगाडि बढियो।
केही दिनमै महाधिवेशनको कार्यतालिका प्रकाशित भयो र संशोधित विधान पढेर मन प्रफुल्ल भयो। ओहो! युवा पङ्क्तिलाई यत्रो ठूलो अवसर? अनि यति धेरै स्थान? भन्ने प्रश्न आफैँलाई गर्दै मख्ख परियो। साँच्चै गगन-विश्वले त ठूलै अवसर दिए भन्ने लागेर उहाँहरूप्रति झनै गर्व गरेँ; जुन साँच्चिकै गर्व गर्नलायक कै कुरा थियो।
यहाँसम्म आउँदा खासै मन दुखेको थिएन। तर जब जिल्ला-जिल्लामा महाधिवेशनको मिति नजिकिँदै गयो, तब मनमा लाग्यो- के शेरबहादुर देउवाका समकालीन नेताहरू गगनलाई मन पराएर वा गगनको बाटोलाई मानेरै यो महाधिवेशनमा सहभागी हुँदैछन् त? किनभने मेरो जिल्ला सप्तरीमा शेरबहादुर देउवा टिमको कुनै प्रभावशाली नेता बाँकी रहेनन्।
फेरि मनमा सोचेँ- हुनसक्छ, पाका नेताहरू पनि यो परिवर्तनको साथमा छन् र त्यहीअनुरूप अगाडि बढिरहेका छन्।
मेरो जिल्ला सप्तरीमा सधैँजसो दुई वटा टिम यथावत छन्। १४औं महाधिवेशनबाट स्थापित भएका ती दुई टिम भनेको एउटा दिनेशकुमार यादवको टिम हो, जुन शेरबहादुर देउवा नजिक थियो भने अर्को टिम रामदेव साहको हो, जुन शेखर-गगन नजिक मानिन्छ।

१५औं महाधिवेशनमा आउँदा ती दुवै टिमले आफ्नो नेता परिवर्तन गरेर गगनलाई मानेर अगाडि बढेको देखियो। जुन कुरा सुखद पनि थियो। तर जब महाधिवेशन लाग्यो, तब मैले मेरो वडाबाटै फेस गर्नुपरेको समस्या भने शेरबहादुर सभापति भएको बेलाभन्दा पनि धेरै परको जस्तो देखेँ। ती अनुभव यस्ता छन्:
सर्वप्रथम, असोज ३ गते संविधान जारी भएको दिनको शुभ अवसरमा वडा अधिवेशन राखियो। जब मैले आफ्नो वडाका कार्यवाहक सभापतिलाई सम्पर्क गरेँ, उहाँले कति मिठो तरिकाले मलाई भन्नुभयो, ‘बाबु, तिमी टेन्सन गर्नुपर्दैन, हामी सर्वसम्मत तरिकाले जाने हो, तिम्रो नाम ३५ वर्षमुनिको युवा खुला कोटाबाट जान्छ।’
उहाँले थप्नुभयो, ‘तिमी जत्तिको मान्छे जो सधैँ सबै पार्टीको कार्यक्रममा पनि काठमाडौँबाट आउँछौ, चुनावमा सहभागी हुन्छौ र विद्यार्थी राजनीतिमा भएकाले तिमीलाई क्षेत्रीय प्रतिनिधि बनाउन कुनै समस्या हुँदैन।’
उहाँको कुरा सुन्दा मेरो मन प्रफुल्ल भयो।
तर, ३ गतेको वडा अधिवेशन ५-६ गते हुँदासम्म पनि नसकिएको कुरा सुन्दा भने अचम्म लाग्यो। हरेक दिन फोन गर्दा ‘आज सहमति हुन्छ, भोलि हुन्छ’ भन्ने कुरा सुनियो। तर जब समयमा भएन, तब मनमा शङ्का लाग्न थाल्यो। त्यसपछि उहाँले फोन उठाउन छोड्नुभयो।
पछि आफ्नै तरिकाले पत्ता लगाउँदा उहाँले मलाई क्षेत्रीय प्रतिनिधिमा नलाने निधो गर्नुभएछ र मलाई पार्टीले दिएको कोटामा एउटा वडा सदस्यको छोरालाई हाल्नुभएछ। त्यो देखेर/सुनेर म छानाबाट खसेको जस्तो भएँ।
म क्षेत्रीय प्रतिनिधिमा आउन नपर्ने कुनै कारण मैले देखेको थिइनँ। तर मलाई उहाँहरूका लागि खतरा हुने देखेर त्यसो गर्नुभएको हो भन्ने बुझ्न मलाई समय लागेन। त्यसपछि मैले त्यहाँ खटाइएका निर्वाचन अधिकृतलाई फोन गरेर कानुनी विषयमा प्रश्नहरू गरेँ।
उहाँले मलाई आफूलाई जानकारी नभएको र त्यहाँका सम्बन्धित मान्छेलाई जिल्लाले भनेअनुसार लिस्ट मागेर बुझाएको भन्ने बुझियो, जुन कुरा मलाई स्वीकार्य थिएन।
मैले उहाँलाई त्यस विषयमा जिल्ला कार्यसमिति र जिल्ला निर्वाचन अधिकृतलाई पनि जानकारी गराउन आग्रह गरेँ र त्यस निर्णयमा आफू क्रियाशील भएको नाताले कुनै समर्थन नभएकाले चुनाव गराउन चुनौती दिएँ। यति गरेर जिल्लाका विभिन्न नेता एवं पार्टीका जिम्मेवार व्यक्तिहरूलाई आफूमाथि भएको अन्यायको विषयमा जानकारी गराएँ।
मलाई त्यस समयमा बदलिएको/रूपान्तरित नेपाली कांग्रेसभित्र ठूलो अन्याय भएको महसुस भइरहेको थियो। जुन आफैँमा दुःखद विषय थियो। आफूले मान्ने र माया गर्ने नेतृत्व हुँदाहुँदै यस्तो होला जस्तो भने लागेको थिएन।
तर, ममाथि भएको अन्यायको भने यो सुरुवात हो भन्ने जस्तो लागेको थिएन। मैले निर्वाचन अधिकृतलाई प्रतिरोध गरेपछि भने निर्वाचन अधिकृतले मेरो वडाको सम्बन्धित व्यक्तिलाई या त मेरो पनि नाम समावेश गर्नुपर्ने नत्र ऊ चुनाव गराउन बाध्य हुने किसिमको अडान लिएपछि भने खाली राखिएको एक स्थानमा मलाई क्षेत्रीय प्रतिनिधिमा राखियो।
देशकै एउटा पुरानो र लोकतान्त्रिक पार्टीमा गरिएको यो अलोकतान्त्रिक रवैया भने सह्य थिएन। तर तत्कालका लागि अगाडि बढ्नुको विकल्प थिएन।
काम-कुरो अगाडि बढ्दै गयो र नगर अधिवेशन सम्पन्न भयो, जुन आफैँमा सर्वसम्मत गरिएको थियो। मेरो क्षेत्र सप्तरी-३ मा पर्ने ५ पालिकामध्ये शम्भुनाथ नगरपालिकामा मात्रै चुनाव गराएको जस्तो गरेर नेतृत्व चयन गरियो भन्ने कुरा स्वयं उम्मेदवारको मुखबाट सुन्नुपर्दा खासै राम्रो भने लागेन। तर यो कुरा सत्य साबित भयो जब क्षेत्रको चुनावको दिन आयो।
क्षेत्रको चुनावको दिन बिहानैबाट दिनेश यादवको घरमा चहलपहल भइरहेको देखेँ। म पनि क्षेत्रको नेता भएकाले के-कस्तो तयारी छ भन्ने बुझ्नका लागि क्षेत्रीय सभापतिलाई भेट्न त्यहाँ पुगेको थिएँ। उहाँले तयारी पूरा छ र चुनावमार्फत प्रदेश कार्यसमिति, क्षेत्रीय कार्यसम्पादन, प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि छनोट हुने कुरा भनेको सुन्दा खुसी भएँ।
मेरो इच्छा भनेको महाधिवेशन प्रतिनिधि (३५ वर्षमुनिको क्लस्टर) बाट जाने थियो। तर म आफू सर्वसम्मत जाने कुरामा सहमत थिइनँ किनकि मलाई थाहा छ- सर्वसम्मतको बाटो लोकतान्त्रिक होइन र कुनै पनि लोकतान्त्रिक पार्टीले त्यस कुरालाई प्रोत्साहन गर्दैन।
हो, जहाँ कसैको उम्मेदवारी पर्दैन, त्यहाँ निर्विरोध निर्वाचित हुन्छन्, तर सर्वसम्मतको नाममा लोकतान्त्रिक प्रक्रियालाई लत्याउन मिल्दैन।
मैले आफ्नै ढङ्गले कुनै टिमबिना केही मतदाता र अग्रजसँग सल्लाह गरेर उम्मेदवारी दिएँ। खल्तीबाट बिना कुनै गुनासो आफ्नो दस्तुर तिरेँ।
तर, त्यहाँ सबै दस्तुरको पैसा नेताले तिरेको देख्दा पनि अचम्म लागेको थियो। त्यस्तो किन गरेको होला? जो आफ्नो दस्तुर आफैँले तिर्दैन, त्यस्ता मान्छे नेताको दास बन्दैन भनेर कसरी पत्याउनु?
सबै कुरा राम्रै चल्दै थियो, तर मलाई उम्मेदवारी फिर्ता लिन दबाब आउँछ भन्ने मैले मनको कुनै कुनामा सोचेको थिइनँ। किनकि, जो मान्छेहरू मलाई उम्मेदवारी फिर्ता लिन भन्दै थिए, ती सबैलाई मैले उहाँहरूलाई चाहिएअनुसारले सहयोग गरेको थिएँ। तर त्यस दिन उहाँहरूको रवैया देख्दा मन दुखेको थियो।
मलाई अर्को महाधिवेशनमा क्रियाशील नै काट्नेसम्मको दबाब परेको कुरा सम्झिँदा गगन थापाले अङ्कमाल गरेको ‘ल्याटरल इन्ट्री’ को कुरा के हुन्छ होला भनेर सोचेँ। मलाई नेताहरूले मात्रै होइन, आफ्नै नजिकका र वडाका नेताहरूले उम्मेदवारी फिर्ता गर्न र उनीहरूले चाहेअनुसार गर्न भने।
म आफ्नो पढाइको सिलसिलामा काठमाडौँ बस्ने भएकाले र उनीहरूले भनेअनुसार नगरी चुनावमा गए मेरो जमानत पनि जफत गराइदिनेसम्म भने।
तर, उनीहरूको दबाबलाई मैले मानिनँ। बरु चुनाव लड्ने र १० मत आए पनि आफू पछि नहट्ने भन्ने कुरामा दृढ रहेँ। उम्मेदवारी दिएको दिनदेखि २ दिनसम्म नेताको घरमा घम्साघम्सी चलिरह्यो। विभिन्न पदमा उम्मेदवारी दिएकाहरू आउँदै बैठक बस्दै छलफल गर्दै र आफ्नो स्वार्थ पूरा भए उम्मेदवारी फिर्ता लिँदै गए।
निर्वाचनमा खटिएका केही निर्वाचन अधिकृत पनि त्यहीँ बसेर उम्मेदवारी फिर्ता गराउन र निर्विरोध गराउनतर्फ लागेको देख्दा कठै मेरो पार्टी भन्ने पनि लाग्यो। एउटा लोकतान्त्रिक पार्टीको आत्मा भनेको चुनाव हो र त्यही चुनाव पनि नहोस् भन्ने कुरा यति धेरै मान्छेले चाहँदा रहेछन् भन्ने देख्दा कांग्रेसको अवस्था किन यस्तो आयो भन्ने कुरा बुझ्न गाह्रो थिएन।
विस्तारै घण्टा बित्दै गए, धेरै पदमा सर्वसम्मतको नाटक फिट पनि भयो। तर अन्तिममा युवा खुला (३५ वर्षमुनि) को क्लस्टरमा कुरा अझै मिलेन। हामी उम्मेदवारी दिएका ४ जनामा सहमति गराउने प्रयास खुबै भयो, तर मैले आफ्नो उम्मेदवारी फिर्ता नलिने अडान कायम नै राखेँ।
४ जनामध्ये ३ जना असली उम्मेदवार थियौँ भने एक जना एउटा नेताले आफ्नो माग पूरा गराउन आफ्नो छोरालाई पछि फिर्ता लिने गरी उम्मेदवार बनाएका थिए। ३ जनामा २ वटा सिट थियो। त्यसमा म आफूले आफूलाई सबैभन्दा उपयुक्त पात्रका रूपमा मानेको थिएँ र अझै पनि छु।
जब सबै सिटमा सहमति भयो, मैले उम्मेदवारी दिएको क्लस्टरमा सहमति भएन। मैले आफू चुनावबाट हार्न तयार भएको तर उम्मेदवारी फिर्ता नलिने अडान कायम राखेँ। मेरो अडानले गर्दा मतदान अधिकृतहरू पनि चुनावमा जानैपर्ने कुरामा कन्भिन्स भए र भोलिपल्ट चुनाव हुने कुरा तोकियो। मतपत्र छाप्न पनि लगाइयो।
हाम्रो युवाहरूमा चुनाव हुने कुराको जब हल्ला बजारमा फैलियो, पुनः महाधिवेशन प्रतिनिधि (खुलातर्फ) १० पदको लागि र महाधिवेशन प्रतिनिधि (समानुपातिक आदिवासी जनजाति) मा पनि चुनाव हुने कुरा तय भयो।
हामीलाई क्रम सङ्ख्या नम्बर पनि दिइयो। जसमा मेरो क्रम सङ्ख्या ३ (महेन्द्र इसर) थियो। म बल्ल ढुक्क भएँ। फोन र सामाजिक सञ्जालमार्फत र केही व्यक्तिगत सम्पर्कमार्फत मैले भोट पनि माग्न थालेँ। पार्टीभित्रै रहेका न्यायप्रेमी नेता-कार्यकर्ताले मलाई ढाडस पनि दिए र मतमार्फत मलाई समर्थन गर्ने प्रतिबद्धता पनि जनाए।
५ पालिकामध्ये एक नगरपालिका र एक गाउँपालिका मेरो समर्थनमा पनि थिए। त्यसो गर्दा म भारी उम्मेदवार पनि थिएँ र जित्छु भन्ने विश्वास पनि मनमा थियो।
यही बीचमा मैले तत्कालीन उपसभापति विश्वप्रकाश शर्मालाई फोनमार्फत निर्वाचन गराउनका लागि जिल्लालाई आग्रह गरिदिन पनि भनेको थिएँ। तर अन्य क्षेत्रमा सर्वसम्मत भएकाले हाम्रो ३ नम्बर क्षेत्रमा पनि सर्वसम्मत हुनुपर्ने, नत्र यो क्षेत्रका नेता-कार्यकर्ताको बेइज्जत हुने कुरा पनि सुनेँ।
मनमनै सोचेँ- लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्वलगायत पदमा मान्छे छानिँदा कसरी बेइज्जत हुन सक्ला?
भोलिपल्ट मतदान केन्द्र तोकिएको पथडगाढामा पुगेँ। सबै कुराको तयारी हुँदै गरेको देख्दा खुसी लाग्यो। तर मेरो खुसी धेरै बेर टिक्न सकेन। युवा खुलाभन्दा बाहेकका पदमा पुनः सहमतिको प्रयास हेतु छलफल सुरु भयो।
मेरो मनमा डर पस्यो- अब मैले उम्मेदवारी दिएको क्लस्टरमा पनि सहमति खोजिने भयो। तर म पछि हट्दिनँ भन्ने कुरामा म दृढ थिएँ। नभन्दै ११ बजेदेखि हुने भनिएको चुनाव ३ बजेपछि ‘युवा खुला बाहेकको पदमा सहमति भयो’ भन्ने जानकारी आयो।
त्यसबीचमा युवा खुलामा पनि विभिन्न चरणमा उम्मेदवारहरूलाई केही सिनियर नेताहरू बसेर सहमति गराउने प्रयास गरे, तर सहमति जुटेन। मैले बारम्बार भोटिङ गराऊँ, समय हुँदै गराऊँ भनेँ, तर मेरो कसैले सुनेन। न नेताहरूले, न त निर्वाचन गराउनेहरूले।
मैले भोट हाल्न बोलाएका प्रतिनिधिहरू विस्तारै आ-आफ्नो बाटो लागे। त्यहाँ उपस्थित भएका धेरैजसोले चुनाव नहुने कुरा घोषणा गर्न थाले। चुनाव भए रगतको खोला बग्नेसम्मका चेतावनीहरू आउन थाले।
जब बेलुकाको ५ बज्यो, तब त्यहाँ भद्रभलादमी कुनै कार्यकर्ता थिएनन्। बाँकी थिए त केवल गुण्डागर्दी शैलीमा उत्रिन तयार रहेका केही गुण्डाहरू। धेरैजसोले मदिरापान गरेका थिए। मधेश जस्तो ठाउँमा बेलुकाको ६ बजे कस्तो माहोल हुन्छ, धेरैले बुझ्न सक्छन्।
निर्वाचन आयोग अँध्यारो हुन लागेकोले निर्वाचन गराउन गाह्रो हुने भन्दै थियो। उहाँहरूले मलाई सहमति गर्न निकै ठूलो दबाब दिनुभयो। म ‘नलिने’ कुरा भनिरहेँ।
जब झमक्क साँझ पर्यो, कुनै भोटरहरू बाँकी थिएनन्। जिल्लाका ठूला नेताहरू सबै गए, अनि कुरा आउन थाल्यो- राति नै चुनाव गराउने र कसले भोटर बोलाउँछ हामी पनि हेर्छौं। कसको हिम्मत छ चुनाव गराउने त्यो पनि हेर्छौं।
केही बेरमा त्यस ठाउँमा विभिन्न उद्देश्य लिएर आएका युवाहरू देखेँ। मनमा चिसो पस्यो। मन भारी भयो। केन्द्रमा गगन-विश्वले गरेको परिवर्तन याद गरेँ। १२ वर्षको आफ्नो विद्यार्थी राजनीति याद गरेँ। मेरो बाबु-आमालाई याद गरेँ। यो दुनियाँमा आफ्नो ज्यानभन्दा प्यारो केही नहुने रहेछ।
मलाई उनीहरूले घेरेर उम्मेदवारी फिर्ता लिने अवस्था सिर्जना गरे। म केही बोल्न सकिनँ। मनमनै आफैँप्रति रिस उठ्न थाल्यो। यो घटना गगन-विश्व दाइलाई सुनाउँछु भन्ने सोच्न थालेँ। कुनै राष्ट्रिय मिडियामा भन्छु भन्ने सोचेँ। म एक्लो थिएँ। म निरीह महसुस गर्दै थिएँ।
त्यहाँका अग्रज नेताहरूलाई ‘चुनाव समयमै गराइदिँदा तपाईंहरूको के जान्थ्यो र?’ भन्ने प्रश्न गर्न चाहन्थेँ। मन भारी गर्दै म त्यहाँबाट बाहिरिएँ। मसँग दबाब सिर्जना गरेर लिइएको हस्ताक्षरले उनीहरूले मेरो उम्मेदवारी उनीहरूकै शैलीमा फिर्ता गराए।
मन अमिलो बनाएर घर गएँ र मन हल्का हुने गरी रोएँ। मैले मानेका नेताहरूलाई फोन गरेर केहीलाई आफ्नो अनुभव पनि सुनाएँ।
कुरा यहीँ सकिँदैन। मलाई लाग्यो- सायद यसमा मेरै गल्ती थियो कि? मैले नै तयारी त्यहीअनुसारले गर्नुपर्थ्यो कि? तर यो सोचाइ गलत रहेछ। किनभने, भोलिपल्ट जब सबै काठमाडौँ जाने तरखरमा थिए, मैले अत्यन्तै गम्भीर कुरा थाहा पाएँ।
जिल्लामा त दुवै टिम मिलेर भागबन्डा ५५-४५ को पो गरेका रहेछन्। म उनीहरूको लिस्टमा नपरेको रहेछु। उनीहरू चुनाव गराउँदा परिणाम आफ्नो पक्षमा आउने सम्भावना कम रहेकाले ‘इलेक्सन’ नभएर ‘सेलेक्सन’ को आधारमा काम गर्दै रहेछन्।
म बाहेकका अन्य दुई उम्मेदवार पहिल्यै नै तय भइसकेका रहेछन्। त्यसैले दुवै उम्मेदवारहरूले आफ्नो गुरुले सिकाएअनुसार मलाई धम्क्याएर पठाएका रहेछन्। ‘चुनाव नगरी जसरी हुन्छ बिनाविवाद आउनुस् है’ भन्ने केन्द्रीय नेताकै निर्देशन रहेछ।
जिल्लाको भागबन्डामा केन्द्रबाट एक जना महामन्त्रीले पनि आफ्नो मान्छे घुसाउन सफल भएछन्।
अब, यी सबै कुरा देख्दा चुप लागेर बस्न सकिएन। आफूमाथि भएको अन्याय मनोभावको रूपमा यो लेख लेख्दैछु। यो सबैको मुकदर्शक एक जना प्रदेशका गृहमन्त्रीज्यू पनि हुनुहुन्थ्यो। कठै ती गृहमन्त्रीज्यूले आफ्नो प्रदेशको के सुरक्षा गर्नुभयो होला र?
आशा छ, गगन-विश्वले यत्रो मिहिनेतले ल्याएको यो परिवर्तनलाई जिल्ला-जिल्लाका पाका नेताहरूले माटोमा नमिलाऊन्। किनकि, अन्तिम चुनाव लड्ने जिल्ला-जिल्लामै हो। यस्तो तरिकाले न पार्टी परिवर्तन हुन्छ, न त देश र समाज नै।
‘सेलेक्सन’ को राजनीतिले हामीलाई झन् खोक्रो बनाउँछ। लोकतान्त्रिक पार्टीकै महाधिवेशनमा लोकतान्त्रिक पद्धति अपनाउन सक्दैनन् भने केको लोकतान्त्रिक पार्टी?
जो मान्छे आफ्नै पार्टीको चुनावमा हारको कारणले डराउँछ भने बाहिर जनतासामु कसरी चुनाव लड्छ र कसरी जित्न सक्छ? यो सबैमा कहाँ कसको कति कमजोरी भयो, तपाईंहरू आफैँ बुझ्ने कोसिस गर्नुस्, तर मलाई एउटै कुरा भन्नु छ- गगन दाइ, विश्व दाइ! यस्ता चुनावदेखि डराउने र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न नसक्ने नेताहरूलाई जिल्ला-जिल्लामा बोकेर कहाँसम्म पुग्ने हो?
मैले चाहेको ठाउँमा उनीहरूले कसलाई ल्याए भन्ने कुरामा मलाई कुनै दुखेसो छैन। किनकि, ती युवाहरूले पनि कुनै न कुनै ठाउँमा पार्टीको काम गरेरै आएका होलान्। हो, कुनै-कुनै ठाउँमा ३५ वर्षमुनिको खुलातर्फ नेताहरूले आफ्नै भतिजा-भतिजी, भान्जा-भान्जीसम्मलाई ल्याएका छन्।
तर, एउटा लोकतान्त्रिक पार्टीमा चुनावदेखि डराउनुपर्ने त्यस्तो के थियो? एउटा युवा ‘चुनावबाट हार्न तयार छु’ भन्दै गर्दा पार्टीका नेताहरूले चुनाव गराइदिँदा के फरक पर्थ्यो? मेरो प्रश्न त्यहीँनेर हो।
इलेक्सनबाट गर्न सकिने कुरालाई सेलेक्सनबाट किन गरियो? यसको जवाफ कसले दिने? यस्ता कुरालाई सम्बोधन कसले गर्ने? आफ्नो राजनीति जोगाउनका निम्ति लोकतन्त्र, लोकतान्त्रिक अभ्यास र पद्धतिको हत्या किन गरिन्छ र पनि केन्द्रीय युवा नेतृत्व के हेरेर बस्छ? यसरी पार्टीमा युवा आकर्षित हुन्छन् कि भएका युवा पनि भाग्छन्?
जसरी केन्द्रमा शेरबहादुर देउवालाई फ्याँक्ने आँट गर्नुभयो, त्यसरी नै जिल्लाहरूमा यस्ता नेताहरूलाई ससम्मान विश्राम दिन खोज्ने युवाहरूभित्र हिम्मत भर्नुहोस्। उनीहरूको साहस बन्नुहोस् र उनीहरूलाई साथ दिएर पार्टीलाई जरैबाट परिवर्तन, रूपान्तरण एवं पुस्तान्तरण गर्नुहोस्।
प्रतिक्रिया 4