+
+
Shares

कार्यस्थलदेखि चलचित्रसम्म : महिलाको रिसलाई हेर्ने नजर कसरी बदलिँदैछ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतमा महिलाहरूले कार्यस्थल र घरायसी बोझबीच रिस दबाउने पुरानो अपेक्षा तोड्दै अन्याय र हिंसाविरुद्ध खुला रूपमा बोल्न थालेका छन्।
  • सन् २०२४ को सर्वेक्षणमा प्रत्येक पाँचमध्ये एक बेलायती महिलाले अघिल्लो दिनको ठूलो भाग रिसाएको बताएकी थिइन्, जुन सन् २०२० को तुलनामा दोब्बर हो।
  • संगीत, चलचित्र र सामाजिक सञ्जालले महिलाको आक्रोशलाई अनुभव साझा गर्ने र एकअर्काको आवाज सुन्ने माध्यम बनाइरहेका छन्।

महिलाको स्वभावलाई प्रायः कोमल र सहनशीलतासँग जोडेर हेरिन्छ । उनीहरू रिस उठ्दा पनि संयमित हुनुपर्ने, अरूको भावनाको ख्याल गर्नुपर्ने र आफ्ना असन्तुष्टिभन्दा अरूको खुसीलाई प्राथमिकता दिनुपर्ने अपेक्षा गरिन्छ ।

तर, अहिले यो सोच विस्तारै बदलिँदैछ ।

महिलाहरू आफ्नो रिस लुकाउनुभन्दा त्यसलाई खुलेर व्यक्त गर्न थालेका छन् । उनीहरू अन्याय, विभेद र हिंसाविरुद्ध बोल्न थालेका छन् ।

संगीतदेखि चलचित्रसम्म महिलाको आक्रोशले ठाउँ पाउन थालेको छ । सामाजिक सञ्जालले पनि महिलाहरूलाई आफ्ना अनुभव सुनाउन र एकअर्काको आवाज सुन्ने अवसर दिएको छ ।

‘सडकमा कसैले दुर्व्यवहार गरे म खुलेर रिसाउँछु’

संगीतकर्मी चेस ग्यालिया

बेलायतकी संगीतकर्मी चेस ग्यालिया कुनै समय आफ्नो रिस दबाएर राख्थिन् । उनलाई डर थियो, आफ्नो असन्तुष्टि व्यक्त गर्दा मानिसहरूले ‘धेरै भावुक’ वा ‘सँगै काम गर्न गाह्रो हुने महिला’ भनेर चित्रण गर्नेछन् ।

घरपरिवारको व्यवस्थापनदेखि कार्यस्थलमा हुने लैंगिक विभेद र महिलामाथिको हिंसासम्मका अनुभवले उनलाई लामो समयसम्म भित्रभित्रै असन्तुष्ट बनाइराख्यो । घरका लागि के किन्ने, के पकाउने, कसको के आवश्यकता छ भन्ने कुरा सम्झिरहने र सबै कुरा मिलाउने जिम्मेवारी पनि महिलामाथि नै बढी पर्ने गरेको उनको अनुभव छ ।

परिवारको व्यवस्थापनदेखि कार्यस्थलमा हुने लैंगिक विभेद र महिलामाथिको हिंसासम्मका अनुभवले उनलाई लामो समयसम्म भित्रभित्रै असन्तुष्ट बनाइराख्यो । घरका लागि के किन्ने, के पकाउने, कसको के आवश्यकता छ भन्ने कुरा सम्झिरहने र सबै कुरा मिलाउने जिम्मेवारी पनि महिलामाथि नै बढी पर्ने गरेको उनको अनुभव छ ।

तर, अहिले ग्यालिया आफ्नो आक्रोश लुकाउँदिनन् । सडकमा कसैले अश्लील टिप्पणी गरे प्रतिवाद गर्छिन् । अरूले आफूलाई कस्तो ठान्लान् भन्ने डरले आफ्नो असन्तुष्टि दबाएर नराख्ने उनी बताउँछिन् ।

३४ वर्षीया ग्यालिया बेलायतका ती महिलामध्ये एक हुन्, जसले अहिले आफूलाई पहिलेभन्दा बढी रिस उठ्ने गरेको बताएका छन् । महिलाहरूमा देखिएको यो परिवर्तनलाई व्यक्तिगत स्वभावमा आएको फेरबदलका रूपमा मात्र हेर्न सकिँदैन ।

यसका पछाडि वर्षौंदेखि भोग्दै आएका असमानता, जिम्मेवारीको बोझ र आफ्ना भावना व्यक्त गर्न पाउनुपर्ने चाहना पनि जोडिएका छन् ।

महिलाहरूमा किन बढिरहेको छ, आक्रोश ?

बेलायतमा सन् २०२४ मा गरिएको सर्वेक्षणमा प्रत्येक पाँचमध्ये एक महिलाले सर्वेक्षण हुनुअघिको दिनको ठूलो हिस्सामा आफूलाई रिस उठेको बताएका थिए । सन् २०२० मा यस्तो बताउने महिलाको संख्या प्रत्येक १० जनामध्ये एक थियो ।

विश्वव्यापी रूपमा पनि झन्डै दुई दशकदेखि पुरुषको तुलनामा बढी महिलाले आफूलाई दैनिक रूपमा रिस उठ्ने गरेको बताउँदै आएका छन् । महिला र पुरुषबीचको यो अन्तर समयसँगै बढिरहेको तथ्यले महिलाको आक्रोशबारे नयाँ प्रश्न उठाएको छ ।

मनोचिकित्सा विशेषज्ञ जेनिफर कक्सका अनुसार महिलाहरूमा आक्रोश बढेको पनि हुन सक्छ, तर उनीहरू पहिलेभन्दा खुलेर आफ्नो भावना व्यक्त गर्न थालेका पनि हुन सक्छन् । दुवै पक्षले यो परिवर्तन बुझ्न मद्दत गर्छन् ।

महिलाहरूको रिसबारे अध्ययन गर्न थालेकी कक्सले आफ्ना महिला बिरामीमा एउटा समानता देखेकी थिइन् ।  कोही माइग्रेनबाट पीडित थिए, कसैलाई पेटसम्बन्धी समस्या थियो भने कसैलाई मांसपेशी, हड्डी वा शरीरको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित समस्या थियो ।

उनका अनुसार ती महिलाहरू आफ्ना सन्तानको हेरचाह, परिवारको व्यवस्थापन र आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्दै जागिरसमेत सम्हालिरहेका थिए । यति धेरै जिम्मेवारीबीच उनीहरूले आफ्नै असन्तुष्टि र भावनालाई भने बेवास्ता गरिरहेका थिए ।

कक्सले महिलाहरूसँग सामूहिक छलफल गर्न थालेपछि धेरैले लामो समयदेखि दबाएर राखेको रिस व्यक्त गर्न थाले । त्यसले महिलाहरूको आक्रोश बुझ्न उनीहरूले सामना गरिरहेका परिस्थितिलाई पनि बुझ्नुपर्ने देखायो ।

‘असल महिला’ बन्ने दबाबले दबाएको रिस

महिलाहरूलाई सानैदेखि नरम, दयालु, विनम्र र अरूको ख्याल गर्ने हुनुपर्छ भनेर सिकाइन्छ । रिसाउनु, असहमति जनाउनु वा आफ्नो आवश्यकता स्पष्ट रूपमा राख्नुलाई धेरैपटक राम्रो व्यवहारका रूपमा हेरिँदैन ।

कक्सका अनुसार महिलालाई ‘असल केटी’ बन्न सिकाउने सामाजिक सोचले उनीहरूमा आफ्नो असन्तुष्टि दबाएर राख्नुपर्ने भावना विकास गरेको छ ।

अरूलाई दुःखी नबनाउने, विवादबाट टाढा रहने र सबैलाई खुसी राख्ने प्रयासमा महिलाहरूले आफ्नै भावनालाई पछाडि पार्ने गरेका छन् । तर, अहिले महिलामाथिको जिम्मेवारी झन् बढेको छ ।

उनीहरू रोजगारीमा सहभागी छन्, आर्थिक योगदान गरिरहेका छन् र घरपरिवारको हेरचाह पनि गरिरहेका छन् । तर घरको काम र अरूको हेरचाहमा उनीहरूले खर्च गर्ने समय तथा श्रमको उचित बाँडफाँट अझै चुनौतीपूर्ण छ ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार रोजगारीमा रहेका महिलाको संख्या पुरुषको तुलनामा लगभग बराबर छ ।

तर, घरायसी काम र अरूको हेरचाहजस्ता पारिश्रमिक नपाइने काममा महिलाहरूले पुरुषको तुलनामा दैनिक करिब एक घण्टा बढी समय बिताउने गरेका छन् ।

यससँगै घरपरिवार चलाउने अदृश्य मानसिक बोझ पनि महिलामाथि पर्छ । घरमा के सकियो, बच्चाको विद्यालयमा कहिले के चाहिन्छ, परिवारका सदस्यलाई के आवश्यक छ ?

कुन काम कहिले गर्नुपर्छ भन्ने कुरा सम्झिरहने जिम्मेवारी पनि प्रायः महिलाले नै लिइरहेका हुन्छन् ।

कामको जिम्मेवारी बाँडिए पनि त्यसलाई व्यवस्थित गर्ने जिम्मेवारी समान रूपमा बाँडिएको नहुन सक्छ । यही असमानताले महिलामा थकान, निराशा र आक्रोश बढाउन सक्छ ।

संगीत र चलचित्रमा पनि देखिन थालेको महिलाको रिस

महिलाको आक्रोश अब व्यक्तिगत कुराकानीमा मात्र सीमित छैन । संगीत, चलचित्र र लोकप्रिय संस्कृतिमा समेत यसले फरक स्थान बनाउन थालेको छ ।

पहिले पर्दामा रिसाउने महिलालाई धेरैजसो अस्थिर, खतरनाक वा अरूका लागि समस्या उत्पन्न गर्ने पात्रका रूपमा प्रस्तुत गरिन्थ्यो ।

‘फेटल एट्र्याक्सन’की एलेक्स फरेस्ट र स्टेफन किङको उपन्यासमा आधारित ‘क्यारी’का पात्रलाई यसका उदाहरणका रूपमा लिन सकिन्छ ।

तर, पछिल्ला वर्षमा महिलाको रिसलाई उनीहरूले भोगेको अन्याय, निराशा र स्वतन्त्रताको चाहनासँग जोडेर प्रस्तुत गर्ने क्रम बढेको छ । सन् २०२५ मा सार्वजनिक भएको गायिका लिली एलेनको एल्बम ‘वेस्ट एन्ड गर्ल’ यसको एउटा उदाहरण हो ।

यसमा उनले अभिनेता डेभिड हार्बरसँगको वैवाहिक सम्बन्ध टुटेको अनुभवलाई खुलेर प्रस्तुत गरेकी छन् ।

सन् २०२३ को चर्चित चलचित्र ‘बार्बी’मा पनि बाहिरबाट पूर्ण देखिने संसारभित्र आफ्नो अस्तित्व र जीवनप्रति असन्तुष्टि व्यक्त गर्ने पात्र प्रस्तुत गरिएको थियो ।

यस्ता प्रस्तुतिले महिलाको रिसलाई लुकाउनुपर्ने कमजोरीका रूपमा नभई उनीहरूले भोगेका अनुभव बुझ्ने माध्यमका रूपमा हेर्न सहयोग गर्न सक्छन् ।

तर, पर्दामा महिलाको रिसलाई स्वीकार गरिए पनि वास्तविक जीवनमा भने त्यसको मूल्य चुकाउनुपर्ने अवस्था अझै छ ।

रिस देखाउने महिलालाई किन गरिन्छ फरक व्यवहार ?

सन् २०२० को एउटा अध्ययनले कार्यस्थलमा रिस व्यक्त गर्ने महिलालाई उच्च पद र प्रभावशाली भूमिकाका लागि कम योग्य ठानिने सम्भावना देखाएको थियो ।

तर, त्यही व्यवहार देखाउने पुरुषलाई भने समान रूपमा मूल्यांकन नगरिने प्रवृत्ति अध्ययनमा देखिएको थियो ।

यसले महिलाको आक्रोशलाई समाजले कसरी फरक दृष्टिले हेर्छ भन्ने देखाउँछ । पुरुषले असहमति जनाउँदा उसलाई दृढ वा नेतृत्व गर्न सक्ने व्यक्ति मान्न सकिन्छ ।

त्यही कुरा महिलाले गर्दा उनलाई भावुक, आक्रामक वा अरूसँग मिलेर काम गर्न नसक्ने व्यक्तिका रूपमा चित्रण गर्न सकिन्छ ।

जीवन प्रशिक्षक यान डाङ पुरुषको वर्चस्व रहेका क्षेत्रमा नेतृत्व तहमा पुग्न चाहने महिलालाई आफ्नो असन्तुष्टि स्पष्ट रूपमा व्यक्त गर्न सिकाउँछिन् ।

लाइफ कोच यान डाङ

उनका अनुसार अरूलाई खुसी राख्ने प्रयासमा मात्र सीमित रहने महिलाले करियरमा एउटा तहसम्म प्रगति गर्न सक्छन् । तर, माथिल्लो नेतृत्वमा पुग्न स्थापित नियम र व्यवहारलाई प्रश्न गर्नुपर्ने अवस्था पनि आउँछ ।

यसको अर्थ जथाभावी रिस पोख्नु होइन । आफूलाई मन नपरेको कुरा स्पष्ट रूपमा भन्नु, अन्यायविरुद्ध उभिनु र आफ्नो सीमाबारे अरूलाई जानकारी दिनु हो ।

डाङ महिलालाई ‘यसका लागि मेरो जवाफ स्पष्ट रूपमा हुँदैन’, ‘मलाई यो मन पर्दैन’ र ‘म पनि यसबाट निराश छु’ जस्ता सीधा अभिव्यक्ति प्रयोग गर्न सुझाव दिन्छिन् ।

विभेद र हिंसाविरुद्ध एकजुट हुँदै महिला

कार्यस्थलमा हुने भेदभाव, सार्वजनिक स्थानमा दुर्व्यवहार, कसैले पछ्याउने वा सताउने व्यवहार र घरेलु हिंसाजस्ता समस्याले महिलालाई निरन्तर दबाबमा राख्न सक्छन् । यस्ता अनुभवले व्यक्तिगत असन्तुष्टिलाई सामूहिक आक्रोशमा बदल्न सक्छन् ।

इंग्ल्यान्ड र वेल्समा दर्ता भएका कुल अपराधमध्ये करिब २० प्रतिशत महिलामाथि हुने हिंसासँग सम्बन्धित रहेको तथ्यांकले देखाएको छ । यस्ता घटनामध्ये धेरैको उजुरीसमेत नपर्ने भएकाले वास्तविक अवस्था अझ जटिल हुन सक्छ ।

संगीतकर्मी ग्यालिया भन्छिन्, ‘मलाई लाग्छ, हामी लामो समयदेखि रिसाइरहेका छौँ । तर, अहिले सामाजिक सञ्जालका कारण हामी अरू महिलासम्म पुग्न सक्छौँ ।’

सामाजिक सञ्जालले एउटै किसिमका अनुभव भोगेका महिलालाई एकअर्कासँग जोडिन, आफ्ना कुरा सुनाउन र आफू एक्लै छैनौँ भन्ने महसुस गर्न सहयोग गरेको छ ।

रिसलाई कसरी सही दिशामा प्रयोग गर्ने ?

रिस आफैँमा खराब भावना होइन । मनोवैज्ञानिक डा. तारा र्ब्याकका अनुसार रिसले हामीलाई आफूले महत्त्व दिने कुरा, आफ्नो सीमामाथि भएको हस्तक्षेप र आफूलाई अस्वीकार्य लागेका व्यवहारबारे संकेत दिन्छ ।

रिसले अन्यायविरुद्ध बोल्न, आफ्नो सुरक्षा गर्न, व्यक्तिगत सीमा तय गर्न र परिवर्तनका लागि कदम चाल्न प्रेरित गर्न सक्छ । तर, रिसले नियन्त्रण गुमाउने अवस्था निम्त्यायो वा आफू अथवा अरूलाई हानि पुर्‍याउने व्यवहारतर्फ लग्यो भने

त्यसले समस्या थप्न सक्छ ।

त्यसैले, रिसलाई दबाएर राख्नु र रिसकै आवेगमा निर्णय गर्नु दुवैको सट्टा त्यसलाई बुझेर प्रतिक्रिया दिनु महत्त्वपूर्ण हुन्छ ।

र्ब्याकले यसका लागि ‘रेन’ विधि अपनाउन सुझाव दिन्छिन् । यो विधिमा आफूभित्र उठेको भावनालाई पहिचान गर्ने, त्यसलाई महसुस गर्न अनुमति दिने, त्यसको कारण बुझ्ने र आफूप्रति करुणा राख्ने अभ्यास समावेश हुन्छ ।

रिस उठ्दा तत्काल प्रतिक्रिया दिनुभन्दा केही समय रोकिनु, आफूलाई किन यस्तो महसुस भइरहेको छ भनेर बुझ्नु र त्यसपछि आवश्यक कदम चाल्नु उपयोगी हुन सक्छ । महिलाले आफ्नो रिस व्यक्त गर्नु भनेको सधैँ चर्को स्वरमा बोल्नु वा आक्रामक व्यवहार गर्नु होइन ।

आफूलाई मन नपरेको कुरा स्पष्ट पार्नु, अन्याय सहन बाध्य नहुनु र आफ्नो आवश्यकतालाई पनि महत्त्व दिनु त्यसका रूप हुन् ।

बीबीसीबाट..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?