Comments Add Comment

सेनाको फास्ट ट्र्याक बढुवा खारेज

Photo Credit : फाइल तस्वीर

८ चैत, काठमाडौं । नेपाली सेनामा विवादित बनिरहेको फास्ट ट्र्याक बढुवा प्रणाली खारेज भएको छ ।

उपप्रधानमन्त्री एबं रक्षामन्त्री ईश्वर पोखरेलले फास्ट ट्र्याक बढुवा खारेजीको प्रस्तावसहित पेश गरेको सैनिक नियमाली २०७५ मन्त्रिपरिषदबाट पारित भएको छ । बिहीबारको बैठकले सैनिक नियमावली स्वीकृत गरेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

पोखरेलले रक्षा मन्त्रालय सम्हालेदेखि नै सेनाको चेन अफ कमाण्डमा नकारात्मक असर पर्ने गरी बनाइएको फास्ट ट्रयाक बढुवा प्रणाली खारेज गर्ने बताएका थिए । फास्ट ट्र्याकका नाममा तत्कालिन प्रधानसेनापतिले अन्याय गरेको भन्दै सैनिक अधिकृतहरुले मन्त्रिपरिषदमा उजुरी समेत गरेका थिए ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति गौरवशमसेर जबराको प्रस्तावमा मन्त्रिपरिषदले स्वीकृत गरेको सैनिक नियमावलीप्रति सेनाभित्र तीव्र असन्तुष्टि थियो । फास्ट ट्र्याक प्रणाली अनुसार सेनानीबाट प्रमुख सेनानी र प्रमुख सेनानीबाट महासेनानी बढुवा गर्दा बरिष्ठता भन्दा कार्य सम्पादन मुल्यांकनका आधारमा अतियोग्य, बढी योग्य र योग्य समूहमा वर्गिकरण गरिएको थियो ।

यसो गर्दा बरिष्ठ सैनिक अधिकृतहरु बढुवा नहुने र कनिष्ठहरुले शक्ति, पहुँच र नातागोताका आधारमा बढी नम्बर पाएर बढुवा पाउने अवस्था आएको गुनासो सैनिक अधिकृतहरुले गरेका थिए । यसले सेनाको चेन अफ कमाण्डमै गम्भिर असर पर्न सक्ने भएकाले सेनाको प्रस्ताव अनुसार नै सैनिक नियमावली संशोधन गरिएको रक्षामन्त्री पोखरेलले बताए ।

पोखरेलले सेनाको फास्ट ट्र्याक बढुवा नियमलाई निजामती कर्मचारीको २४ घ जस्तै भन्दै आएका थिए । संशोधित नियम अनुसार अब सैनिक अधिकृतहरुको बढुवा बरिष्ठता, तालिम, शैक्षिक योग्यता लगायत नियमित योग्यताका आधारमा हुनेछ । कतिपय असाधारण क्षमताका सैनिक अधिकृतलाई बढुवा गर्नुपर्ने अवस्थामा १० प्रतिशतसम्म कोटा निर्धाण गर्न सकिने प्राबधान राखिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment