८ चैत, काडमाडौं । उर्मिलाको कथा सुन्दै जाँदा लक्ष्मीप्रसाद देवकोटाको ‘मुना–मदन’ स्मरण हुन्छ । खण्डकाव्य ‘मुना मदन’मा प्यारी मुनालाई छोडेर मदन ल्हासा हिँड्ने सुर कस्छन् । मुनाले त भन्छिन्, ‘साग र सिस्नो खाएको बेश आनन्दी मनले ।’
तर, सुनको थैली लिने मदनको लालसालाई प्रेमिल विलौनाले जित्न सक्दैन । अन्ततः प्रतीक्षामा दिन गन्दै बसेकी मुनालाई माया गर्न मदन आइपुग्दैनन् । बरु, मुनाको हातमा आइपुग्छ, रातो धागोले बाँधेको सेतो चिठी ।
‘मुन मदन’की मुनाले त चिठीसम्म पाइन् । उर्मिलाले न चिठी, न खबर । मोवाइलमा कसैको फोन आयो कि झस्किहाल्छिन् उर्मिला, कतै त्यो फोन आफ्नै पतिको त होइन ?
तर, डेढ वर्षदेखि उर्मिलाको झस्काइ जहिल्यै बेकार, बेकार, बेकार…।
पति जोगिन्धर मलेसिया उडेको दुई वर्ष भयो । बेखबर जोगिन्दरको खबर ल्याइदेउ भन्दै सरकारसँग गुहार माग्न उर्मिला काठमाडौं आएको यो पाँचौं पटक हो । यो पटक गृहमन्त्रालयसम्म पुगिन् र, भनिन्, ‘मेरो बुढाको सास देउ, होइन भने लास भए पनि ल्याइदेऊ ।’
२७ वर्षीया उर्मिलाको भरिलो सिउँदो बोलेजस्तो लाग्छ, ‘जोगिन्दर मलेसियाको कुनै कुनामा बेल्चा चलाउँदै छन् ।’ उर्मिलाले सारीको घुम्टो तान्छिन् । सारीको सप्कोले मुख थुन्दै मधेसी लवजमा बोल्छन्, ‘मलाई त आउलाजस्तै लाग्छ ।’ उर्मिलाका हातका राता चुरा बोल्छन्, छिन् छिन्… ।
०००
उर्मिलाको घर भिमान धारापानी – ८, धनुषा । तर, १० धुर जमीनमाथिको त्यो घर अब उर्मिलाको स्वामित्वबाट फुत्किसकेको छ । उता, श्रीमान मलेसिया उडे, यता घर बन्धक बस्यो ।
अब बन्धक घर स्वामित्वमा लिनु उर्मिलाका लागि असम्भव प्रायः छ । श्रीमानले लिएको एक लाख १५ हजार ऋणको ब्याज बढेर पौने तीन लाख पुगिसक्यो । उर्मिलाको ज्यामी कामले फलाउने दैनिक पाँच सय रुपैयाँले साहुको ऋण चुक्ता गर्ने हैसियत राख्दैन । उर्मिला सुस्केरा हाल्छिन्, ‘कहाँबाट ल्याएर तिर्नु त्यति धेरै रकम ? घर नै दिने त होला ।’
तर, सानो दुःखले आर्ज्या होइन यो घर । यो १० धुर जमीन ।
०००
उर्मिला भर्खर १६ पुग्दै थिइन् । पढेकी थिइनन् । बा–आमाले जोगिन्दरसँग बिहे छिनाइदिए । उर्मिलाले एकैपटक विहेको दिन देखिन्, जोगिन्दरको अनुहार ।
उर्मिला सुन्छिन्, ‘विहेअघि जोगिन्धरसँग कुराकानी भएन ?’
उर्मिला भन्छिन्, ‘हाम्रोमा त्यस्तो चल्दैन ।’
तराईका उर्मिलाहरुलाई आफ्नो जीवनसाथी आफै छान्ने अधिकार छैन । केटाबारे जान्ने अधिकार छैन । बस्, केटाले चिने–जाने पुग्यो ।
जब उर्मिला कर्मघर पुगिन् । त्यहाँ न गतिलो घर थियो न अन्न उव्जाउने जमीन । तर, १६ वर्षीय जोगिन्दर भने लायकका थिए । उर्मिलालाई लाग्यो, ‘घर खेत नभएर के भो त । घर खेत जोर्ने जोगिन्दर त छँदैछ ।’
हो, त्यसैले कहिल्यै सुविस्ताको सास फेर्न पाएनन् उर्मिला–जोगिन्दर ।
खाडीको बालुवाको गन्ध बोकेर पाँच वर्षपछि फर्किए जोगिन्दर । अनि आफ्नो छोरासँग परिचय गरे । जोगिन्दरले काखमा लिन खोज्दा डराएर रुँदै भागेका थिए चार वर्षीय छोरा । त्यतिबेला जोगिन्दरको अनुहारमा कालो बादल मडारिएको थियो । बैदेशिक रोजगारले आफ्नै सन्तानलाई पनि बिरानो बनाइदिन्छ । परिवारलाई प्रेम गर्ने अधिकार खोजिदिन्छ । राज्य नै मानवअधिकार विरोधी !
केही समय श्रीमान–श्रीमती सँगै अरुको खेतबारीमा काम गरे । मजदुरी गरे । र, बिहान बेलुकाको छाक टारे । अनि जोगिन्धर मलेसिया लागे । मलेसियामा तलव थियो, ‘६०० रिंगेट ।’ उर्मिला भन्छिन्, ‘बुढाले पैसा पठाउँथ्यो । मैले सामान जोर्थेँ ।’
त्यसपछि ऋण–धन गरी घर जोडे । तर, विवशताले आफ्नै घरमा धित मर्ने गरी बस्न पनि दिएन । फेरि मलेसिया लागे जोगिन्दर । स्वास्थ्यले साथ दिएन । थलिएपछि एक महिनामै फर्किए । जोगिन्दरको थाप्लोमा ७० हजार ऋण थपियो ।
अनि जोगिन्दर लागे भारत । तीन वर्ष बिताए । उर्मिला जोगिन्दरलाई सम्झिरहेछिन् । ‘एक वर्षमा त्यस्तै १०/१२ हजार पठाएको थियो ।’ परिवारमा अरु दुई छोरा थपिइसकेका थिए ।
जोगिन्दर भारतबाट फर्किएको केही महिना मात्र भएको थियो । जोगिन्दरलाई अभावले फेरि मलेसियाको याद दिलायो । एक दिन उर्मिलालाई भने, ‘म मलेसिया जान्छु ।’
तर, उर्मिलालाई आफ्नो श्रीमान कहीँ नजाओस् भन्ने लागेको थियो । किनकि लामो समयदेखि श्रीमानविनाको खल्लो जीवन भोगिरहेकी थिइन् । उनलाई श्रीमानविना फेरि एक्लै तड्पिन मनै थिएन । आफ्नो मायालुको पर्खाइको क्रुर पीडा राम्रोसँग थाहा थियो उर्मिलालाई । त्यसैले रातको बेला रुँदै भनेकी थिइन्, ‘यहीँ काम गरेर खाउँला बुढा, पर्दैन मलेसिया–सलेसिया जान ।’
‘मैले नजानुस् भनेर कति भनेको थिएँ, मान्दै मान्नुभएन’, उर्मिलाका गाजलु आँखा तिल्मिलाउँछन्, ‘केही सिप नलागेपछि जानेबेलामा भनेकी थिएँ कि एक वर्ष बिताएर आइहाल्नु ।’
तर, उनै जोगिन्दर डेढ वर्षदेखि बेपत्ता छन् । उर्मिलाको जीवन नारायण गोपालको गीतजस्तै भएको छ, ‘पर्खि बसेँ, आउँला भनी मेरो उठ्ने पालो, कुर्दाकुर्दै जिन्दगी नै भैगएछ कालो कालो….।’
०००
जोगिन्दर मलेसिया पुगेको ६ महिना लाग्दै थियो । उर्मिलाले अरुको खेत रोप्न जानुअघि आफ्ना बुढालाई फोन लगाइन् । त्यही सानो बारफोनबाट फोन लगाएकी थिइन्, जुन मोवाइल मलेसिया जानेबेला जोगिन्दरले छाडेर गएका थिए ।
फोनमा जोगिन्दरले भन्दै थिए, ‘१५ हजार जति पैसा पठाइदिउँ ?’
उर्मिलाले भनिन्, ‘घर खर्च छ । ऋण धेरै छ । अलि पछि पठाउनु । बरु, तपाईले एउट ठूलो मोशाइल किन्नु । एक वर्ष पुगेपछि आउनु है ?’
तर, जोगिन्दरले छाडेको त्यो मोलाइल खेत रोप्दारोप्दै पानीमा रोपियो । बिग्रियो । उर्मिला भन्छिन्, ‘त्यही दिन मोवाइल पानीमा खस्यो । त्यही दिन बुढो हरायो ।’
त्यसपछि माइजूको मोवाइलबाट बुढाको नम्बरमा यति फोन गरिन्, यति फोन गरिन्, यति फोन गरिन्, कति कति … । अँह ! फोन उठ्दै उठेन । कहिलेकाँही उठ्यो । तर, उसले भन्यो, ‘म गार्ड हुँ । जोगिन्दरलाई चिन्दिनँ ।’
त्यसपछिका एक–एक दिन बडो कस्टकर छन् उर्मिलाका ।
०००
उर्मिला श्रीमान खोज्न कहाँ–कहाँ पुगिनिन् । पटक–पटक वडा कार्यालय पुगिन्, जिल्ला प्रशासन कार्यालय धाइन् । आफन्तसँग काठमाडौं आइन् । काठमाडौं आएकी उर्मिला भन्छिन्, ‘बुढा नभएपछि आफन्तैले पनि हेप्दा रहेछन् ।’
उसो त नौजवान उर्मिलालाई आफ्नै जिन्दगीले पनि नराम्रोसँग हिर्काइरहेछ । पति पनि खोजी गर्नुपर्ने । परिवारको गर्जो पनि टार्नुपर्ने ।
र, पनि जनतन सम्हाल्लिएकै थिइन् उर्मिला । छ महिना पहिले उर्मिलाको जीवनमा फेरि अर्को भूकम्प आइलाग्यो । सानो हो र ? नौ रेक्टर स्केलको ।
१३ मंसिर, ०७५ । उर्मिला कामबाट फर्कंदा कान्छो छोरा घरबाहिर चटपटे खाँदै थिए । उर्मिलाले अघि लगाएर घर पुर्याइन् । साँझ अकस्मात छोराले वान्ता गरे । तीन–तीन पटक । उर्मिला घाउ कोट्याउँछिन्, ‘किराको औषधि खुवाएँ । अनि सबै सुत्यौँ ।’
रातको तीन बजेको थियो । उर्मिलाले छेउको छोरातर्फ आँखा दौडाइन् । छोराले न हल्लिएका थिए, न सास फेरिरहेका । उनी कहालिँदै छिमेकी गुहार्न पुगिन् । बन्दिपुरको स्वास्थ्यचौकी दौडाइन् ।
उर्मिला छोरा सम्झँदा अहिले पनि फतक्कै गल्छिन्, ‘आफैं बोकेर बन्दिपुर हस्पीटलमा पुर्याएँ । तर, बाँचेन । यतिबेला बुढा भएको भए कति सजिलो हुन्थ्यो होला ।’
जीवनसाथी भनेकै यस्तै कठिन परिस्थितिमा एक अर्कालाई सम्हाल्नका लागि त हो । कसरी सम्हालिइहोलिन् उर्मिला ?
अहिले दुई छोरा छन् । ९ वर्षीय छोरा स्कुल जान्छन् । १३ वर्षीय छोराले ट्याक्टर सिक्न थालेका छन् ।
०००
मलेसियाको हावाले ल्याउने हल्लाले झन् हायल कायल पारेको छ, उर्मिलालाई । जोगिन्दरसँगै गएका साथीहरु फर्किसके । तर, उनीहरुले पनि स्पष्ट खबर लिएर आएनन् । ‘कतिले मारेर फालिदियो भन्छन्, कतिले के भन्छन् । सरकारले पनि केही भन्दैन ।’, सन्तान वियोग र पतिको प्रतिक्षाले थलिएकी उर्मिलाको बोली गालाभित्रै हराउँछ ।
उर्मिला केही दिन मजदुरी गर्छिन् । अनि बाटो खर्च जुटाएर पति खोज्न काठमाडौं आउँछिन् । पाँचौं पटकसम्म काठमाडौं आउँदा ३० हजारबढी खर्च भैसक्यो उनको । यो पटक काठमाडौं आएपछि सरोज रोयले उनलाई गृहमन्त्रालयसम्म पुर्याए । गृह मन्त्रालयले कन्सुलर विभागलाई चिठी लेखेको छ । थाहा छैन, कन्सुलर विभागले जोगिन्दरको खबर ल्याउँछ, ल्याउँदैन ।
जोगिन्दरहरु घर बन्धक राखेर खाडीमा बेचिइरहेका छन् । बेचिनका लागि हरियो लाइसेन्स थमाउने सरकारले आफ्नै नागरिकको खबर एक वर्षसम्म भन्न सक्दैन । उर्मिलाहरु खबरकै लागि पलपल मरिरहेका छन् ।
उर्मिलाको कथा सुनिसकेपछि लाग्यो, ‘यो मुनामदन–२ हो ।’
प्रतिक्रिया 4