
News Summary
Generated by OK AI. Editorially reviewed.- समितिले ८ महिनामा करिब ३० करोड रुपैयाँ असुल गरी ५६ हजार बचतकर्तालाई फिर्ता गरेको छ।
- समितिले २०८२ असार १५ सम्ममा २ अर्ब ५८ करोड १८ लाख रुपैयाँ बचत फिर्ता गरेको छ।
- समितिले २२ सहकारीबाट ३८ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ माग दाबी भए पनि ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ मात्र फिर्ता गरेको छ।
२२ असार, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चालु आर्थिक वर्षको ८ महिनामा करिब ३० करोड रुपैयाँ असुल गरेको छ । यो रकम समितिले समस्याग्रस्त सहकारीका ऋणी तथा सञ्चालकबाट असुल गरेको हो ।
समितिका अनुसार २०८२ असार १५ गतेसम्ममा नगद फिर्ता तथा हिसाब मिलान मार्फत २ अर्ब ५८ करोड १८ लाख रुपैयाँ बराबरको रकम बचतकर्तालाई फिर्ता मिलान गरेको छ ।
चालु आर्थिक वर्षको कात्तिक १३ गतेदेखि असार १५ गतेसम्ममा समितिले २९ करोड ८२ लाख रुपैयाँ असुल गरी ५६ हजार एक सय ६ बचतकर्तालाई फिर्ता गर्ने भएको हो ।
समितिका अनुसार चालु आवको ८ महिनामा असुल भएको रकम दामासाहीले वितरण हुनेछ । आगामी २० दिनसम्म सम्बन्धित सहकारीका बचतकर्ताको बैंक खातामा उक्त रकम वितरण गरिने समितिका सदस्य केशवप्रसाद पौडेलले जानकारी दिए ।
समस्याग्रस्त भएका २३ सहकारी मध्ये ३ वटाको सम्पूर्ण कारोबार राफसाफ भएको पौडेलको भनाइ छ । साथै यो ८ महिनाको अवधिका १५ सहकारीबाट २९ करोड ८२ लाख असुली भएको रकम दामासाहीले सम्बन्धित बचतकर्तालाई फिर्ता गर्ने उनले जानकारी दिए ।
यो रकम साना बचतकर्तालाई प्राथमिकतामा राखेर बचत फिर्ता गरिने पौडेलको भनाइ छ । समितिले तयार गरेको तालिका अनुसार बचतकर्ताले ६ सय ३ रुपैयाँ देखि ४५ हजार ८ सय ३१ रुपैयाँसम्म फिर्ता पाउँछन् ।
शिवशिखर बहुउद्देशिय सहकारी संस्थाका बचतकर्ताले ६ सय र हाम्रो नयाँ कृषि सहकारी संस्थाका बचतकर्ता ४५ हजार ८ सय ३१ रुपैयाँ पाउनेछन् ।
समस्याग्रस्त सहकारीको दायित्वको तुलनामा सम्पत्ति ५० प्रतिशत मात्रै रहेको समिति सदस्य काशीचन्द्र बरालले बताए । बरालका अनुसार हालसम्म राफसाफ भएका सहकारीका बचतकर्ताले पनि ४१ देखि ५७ प्रतिशतसम्मको बचत फिर्ता लिएर राफसाफ भएको छ ।
त्यसैगरी समितिले असार १५ गतेसम्ममा ३ हजार ६ सय ८९ बचतकर्ताको २ अर्ब ५८ करोड १८ लाख रुपैयाँ बारबारको बचत फिर्ता तथा हिसाब मिलान गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा यस्तो रकम एक हजार २ सय ९९ बचतकर्ताको बचत फिर्ता तथा हिसाब मिलान गरेको थियो ।
कुल २२ सहकारीका ६१ हजार ९४ बचतकर्ता रहेकोमा आंशिक बचत फिर्ता हुने बचतकर्ताको संख्या ५६ हजार एक सय ६ रहेको समितिले जनाएको छ ।
चालु आर्थिक वर्षमा मात्रै सत प्रतिशत बचत फिर्ता पाउने बचतकर्ताको संख्या भने एक हजार ६ सय ८२ रहेको छ । समितिका अनुसार अझै ३५ अर्ब एक करोड १२ लाख रुपैयाँ बचत रकम फिर्ता गर्न बाँकी छ ।
चालु आर्थिक वर्षको ८ महिनामा ४ सहकारीको कुनै पनि रकम उठेको छैन । ती सहकारीका बचतकर्ता तथा ऋणी ओरेन्टल को-अपरेटिभसँग सम्बन्धित भएकाले रकम असुली नभएको समितिले जनाएको छ । ओरेन्टलको राफसाफ हुँदा बाँकी अन्य ४ सहकारीको पनि राफसाफ हुने समिति सदस्य पौडेलले बताए ।
समितिका अनुसार २२ सहकारीको ६१ हजार ९४ बचतकर्ताले ३८ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ माग दाबी गरेका थिए । सो मध्ये ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ बचत फिर्ता तथा मिलान भएको समितिले जनाएको छ । अब १९ सहकारीको ३४ अर्ब ७१ करोड बचत फिर्ता गर्न बाँकी रहेको छ ।
समितिले सबैभन्दा पछि समस्याग्रस्त घोषणा भएको आइडियल नमूना सहकारी संस्थाको तथ्याङक यसमा समावेश गरेको छैन ।
प्रतिक्रिया 4