+
+
Shares

भोजपुर सामूहिक हत्या : १६ वर्षीया ‘श्रीमती’ फिर्ता लिन नपाउँदा परिवारै सखाप

भोजपुरमा भएको सामूहिक हत्या बालविवाहसँग समेत जोडिने अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते २१:४५

२२ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, भोजपुरको प्रहरी कन्ट्रोल १०० मा आइतबार मध्यराति एक युवकले हडबडिंदै फोन गरे, ‘मेरो ज्यान खतरामा छ, तीन जनालाई छुरा हानेर आएको छु ।’

आफूमाथि आक्रमण भएको र प्रतिकारमा आफूले पनि हानेको भन्दै उनले प्रहरीलाई बताएका थिए । यो घटना ‘रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानी’ मा भएको सूचना समेत उनले प्रहरीलाई दिएका थिए ।

वडा नं. २ का वडाध्यक्ष राजकुमार तामाङका अनुसार, सदरमुकामबाट यो स्थानमा पुग्न कम्तीमा ५/६ घन्टा लाग्छ । नजिकैको प्रहरी युनिटबाट टोली पठाउँदा पनि कम्तीमा २ घन्टा लाग्ने स्थिति थियो ।

कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीका अनुसार, प्रहरी कन्ट्रोलमा फोन आउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट टोली खटिएको थियो ।

‘जिल्ला प्रहरी कार्यालयबाट समेत एउटा टोली पठाइएको थियो, टोली पुगेर हेर्दा घरमा तीन जनाको मृत्यु भइसकेको थियो’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले भने, ‘त्यसपछि अर्को टोलीले फोन गर्ने राजेन्द्र राईको खोजीलाई व्यापक बनाएको थियो ।’

बाँसको छाप्रोले बनेको घरभित्र खाटमा एकैठाउँ ६८ वर्षीय बेलबहादुर गिरी, सासू मन्जु गिरी, उनीहरूका १६ वर्षीया छोरी र १० वर्षीय छोराको शव फेला पर्‍यो

राई भने फोन गरेर घटनाबारे बताएको ठाउँमा भेटिएनन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रहरीले झण्डै आधा घन्टासम्म उनको खोजी गर्नु परेको थियो ।

‘हुनसक्छ उनी सबैको हत्यापछि आफू पनि मारिनसक्छु भन्ने डरले लुकेका थिए, प्रहरीलाई पनि त्यही कारण खबर गरेको जस्तो देखिन्छ’ ती अधिकृतले भने, ‘स्थानीयले पनि खोजी गरिरहेकाले उनी भागेको हुनसक्छन्, प्रहरी आएको भन्ने थाहा पाएपछि उनी बल्ल निस्किएको देखिन्छ ।’

भोजपुर प्रहरीका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार, रामप्रसाद राई गाउँपालिका वडा नम्बर १, हर्बुभञ्ज्याङमा फेला पर्दा उनी घाइते अवस्थामा थिए । पेटमा छुरा लागेको थियो भने उनी रगताम्ये अवस्थामा थिए ।

वडाध्यक्ष तामाङका अनुसार, चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्दछ । ‘घाइते अवस्थामा फेला पारेर पक्राउ गर्ने वित्तिकै उनलाई उपचारका लागि जिल्ला अस्पताल, भोजपुर लगेका थियौं’, श्रेष्ठ भन्छन् ।

अहिले अस्पतालले उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरेको छ । प्रहरीका अनुसार, प्रारम्भिक सोधपुछमा उनले आफूमाथि परिवारका सबैले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरेका छन् । त्यही कारण प्रहरीलाई फोन गरेको समेत उनको दाबी छ ।

प्रहरीका अनुसार, राई भोजपुर सदरमुकाममा पेन्टरको काम गर्दै आएका थिए । त्यही बेला ३० वर्षीय राजेन्द्रले गिरीकी १६ वर्षीया छोरीसँग प्रेम सम्बन्ध जोडिएको थियो ।

परिवारले नमान्ने भएपछि उनले किशोरीलाई भगाएर लगेका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, उनीसँग छोरी बसेको समेत ९ महिना भइसकेको थियो ।

‘तर, आमा र परिवारले त्यो विवाहलाई स्वीकारेका थिएनन्, पछिल्लो समय आमाले छोरीलाई लिएर घरमा गएकी थिइन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

त्यसपछि चार/पाँच दिन अगाडि राजेन्द्र श्रीमती लिन भन्दै गिरीको घरमा पुगेका थिए । ‘तर उनलाई परिवारले छोरी दिएनन्, त्यही विषयमा शनिबार राति पनि झगडा भएको उनले भनेका छन्’ ती अधिकृतले भने, ‘त्यसपछि सबैले मिलेर आक्रमण गरे भन्ने उसको दाबी छ ।’

तर, घरका सबै सदस्यहरूको मृत्यु भइसकेकाले यो विषय अब पुष्टि हुन कठिन देखिन्छ । ‘राति आमाले छोरी लैजान नदिने लगभग निश्चित भएपछि विवाद भएको देखिन्छ’ उनले थपे, ‘राति ९, १० बजेतिरै विवाद सुरु भएको देखिन्छ भने ११, १२ तिर हत्या भइसकेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’

प्रहरीले अहिले यो घटनालाई विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको छ । मृतक परिवार र राजेन्द्रसँग नजिक रहेका मानिसहरुसँग समेत सोधपुछ गरिरहेको छ । राई स्वय‌ंले चाहिं हत्या स्वीकार गर्दै आफूले निको भएपछि सबै बताउने दाबी गरेको अधिकृतहरू बताउँछन् ।

यसअघि ७ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको थियो । त्यसबेला हत्यामा संलग्न व्यक्ति २५ किलोमिटर पर रूखमा झुण्डिरहेको अवस्थामा फेला परेका थिए ।

अनुसन्धान अधिकृतहरुका अनुसार, अधिकांश सामूहिक हत्याका घटनामा आरोपीले पछि आत्महत्या गर्ने गरेको देखिन्छ । ‘परिवार नै बितेपछि आफू बँच्दिन भन्ने मानसिकता पनि हुनसक्छ, भोजपुर घटनामा पनि प्रहरी ढिलो पुगेको भए जे पनि हुनसक्थ्यो’, एक अधिकृत भन्छन् ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?