Comments Add Comment

१७ अर्ब लागतमा बुटवल-नारायणगढ सडकको रुप फेरिदै

८ चैत, बुटवल । पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डको स्वरुप अब फेरिने भएको छ । सन् १९७२ मा बनेको ११३ किलोमिटर दुरीको यो सडक हाल दुई लेन मात्र छ ।

सडक साढे तीन वर्षमा ४ लेनमा बिस्तार भइसक्नेछ । यो सडकको स्तरोन्नतीका लागि चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले सम्झौता गरिसकेको छ ।

गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम हुनेछ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तार हुन थालेको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ ।

गैंडाकोट-दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

कूल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

पहिलो चरणको विस्तारको काम २०८० साउन २२ मा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको बुटवल-नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।

साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको छ ।

यसअघिका आयोजनाहरु एकवर्ष मात्र मर्मत गर्ने नियम रहेपनि यसमा भने थप चार वर्ष पनि ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ ।

विस्तार हुने सडकको गैंडाकोट-दाउन्ने खण्डको शहरी क्षेत्र (१७.७ कि.मि.) मा ६ मिटरको सर्भिस लेनसहित ४ लेन,ग्रामीण क्षेत्र -४२.७ कि.मि) सर्भिस रोड विना ४ लेनकै हुने छ ।

दाउन्ने पहाडको ४.१ किलोमिटर क्षेत्र भने ३ लेनको हुने छ । यो खण्डमा १२ वटा ठूला पुल र ६ वटा वन क्षेत्र पर्छ ।

यस्तै दाउन्ने बुटवल खण्डको शहरी क्षेत्र ४५.५ किलोमिटरमा ६ मिटरको सर्भिस लेनसहित ४ लेन, ग्रामीण क्षेत्र २७ किलोटिरमा सर्भिस रोड विना ४ लेन तथा ९.९ किलोमिटर दूरीको दाउन्ने पहाड खण्डमा ३ लेनको सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए ।

सडकलाई सुन्दर बनाउन मुख्य सडकको दुई लेनको बीचमा तीन मिटरको हरियाली भाग (ग्रिनरी) रहने छ । जहाँ बाह्रैमास हरियाली बनाइने छ ।

विस्तारित सडकको दुई तर्फको लेनको चौडाई ७-७ मिटर हुनेछ भने एक लेन साढे ३ मिटरको हुनेछ । दाउन्ने उकालोमा गुड्ने सवारीसाधनले २ लेन र ओरालोमा गुड्नेले १ लेन प्रयोग गर्ने छन् ।

बुटवलदेखि गैंडाकोटसम्म सडकको दुवै किनारामा रहेका झण्डै ११ हजार रुख काट्नु पर्ने भएकाले त्यसको प्रकृयासमेत अघि बढेको आयोजना प्रमुख न्यौपानेले बताए ।

सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डडेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने इन्जिनियर न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment