+
+
Shares
सानदार सरकारी स्कूल :

सरकारी स्कूलको गरिमा उँचो बनाएको जन नमूना मावि

‘मेरा छोराछोरी बोर्डिङ पढ्छन्’ भन्दा गर्व गर्ने अभिभावकको मनोविज्ञान फेरिदिएको छ, सुर्खेतको जन नमूना माविले । प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन र रचनात्मक वातावरणले सरकारी स्कूलको गरिमा उँचो बनाएको छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ वैशाख २६ गते ९:४२

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।

तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।

यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्‍यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।

यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं ।  – सम्पादक

सुर्खेत । कर्णाली प्रदेशका धेरैजसो सामुदायिक विद्यालयको अवस्था उत्साहप्रद छैन । साँघुरो कक्षाकोठा, अपर्याप्त पाठ्य सामग्री, पुरातन पठन पद्धति, भद्रगोल व्यवस्थापन र न्यून विद्यार्थी संख्या सामुदायिक विद्यालयको परिचय नै बनेको छ ।

सामुदायिक विद्यालयको यो दुरवस्थाले हुनेखाने मात्र होइन, सामान्य आय भएका व्यक्तिले समेत ऋण खोजेरै आफ्ना बालबच्चा निजी स्कूलमा पढाउनुपर्ने बाध्यता छ ।

यस्तै कमजोर सामुदायिक विद्यालयहरूको भीडमा अब्बल बनेर उदाएको छ, सुर्खेतको जन नमूना माध्यमिक विद्यालय । सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भयो भने सामुदायिक विद्यालय पनि सानदार बन्न सक्छन् भन्ने उदाहरण नै बनेको छ, यो स्कूल ।

आम रूपमा ‘मेरा छोराछोरी बोर्डिङ पढ्छन्’ भन्दा गर्व गर्ने अभिभावकको मनोविज्ञान फेरिदिएको छ । प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन र रचनात्मक वातावरणले सरकारी स्कूलको गरिमा उँचो बनाइदिएको छ जन नमूना माविले ।

नयाँ शैक्षिक सत्र शुरू भएसँगै जन नमूना माविमा विद्यार्थीको ओइरो लाग्छ । प्रवेश परीक्षामा हजारौं विद्यार्थीले आवेदन दिन्छन् । अभिभावकहरू आफ्ना छोराछोरीलाई बोर्डिङबाट तानेर जन नमूनामा पढाउन चाहन्छन् ।

कतिसम्म भने, नयाँ शैक्षिक सत्र शुरू भएसँगै मन्त्री, सांसद, नेता र उच्चपदस्थ कर्मचारीहरूले समेत फोन गरेर आफ्ना छोराछोरीको नाम निकालिदिन दबाब दिन्छन् । ‘नयाँ भर्नाको समयमा आउने फोन थेग्नै मुश्किल पर्छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला भन्छन्, ‘नयाँ भर्नाको अवधिभर फोन नै अफ गरेर बस्नुपर्छ ।’

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–६ स्थित मुख्य बजार क्षेत्रमा रहेको जन नमूना माविसँग आफूलाई गए/गुज्रेको अवस्थाबाट देशकै अग्रणी सामुदायिक विद्यालयको कोटिमा उकास्न अपनाएका उपायको लामो शृङ्खला छ । एक दशक लामो अनुभवको यो कथाले प्रशासनिक पद्धति सुधार्न र शैक्षिक उपलब्धि हासिल गर्न अन्य विद्यालयलाई पनि बाटो देखाउन सक्ने भएको छ ।

मेरिटका आधारमा विद्यार्थी छनोट

विद्यार्थीको बढ्दो चापका कारण जन नमूना माविमा बालबालिका भर्ना हुन सजिलो भने छैन । बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा बाल विकास, कक्षा–६ र ९ बाहेकका कक्षामा नयाँ भर्ना बन्द जस्तै छ । ‘गत वर्षसम्म ७ र ८ मा पनि भर्ना लिने गरेका थियौं’ विद्यालयका प्राचार्य यामबहादुर श्रेष्ठले भने, ‘विद्यालयकै विद्यार्थीले कोटा पूर्ति हुने भएपछि अन्य कक्षामा नयाँ भर्ना लिन सकिएको छैन ।’

उनका अनुसार सबै कक्षामा सिट संख्या तोकेर नयाँ भर्ना लिइन्छ । यहाँ प्रवेश गरेका विद्यार्थी सामान्यतः पढाइ पूरा गरेर मात्र निस्कने भएकाले भर्ना लिइने कक्षामा पनि प्रवेश परीक्षाको कडाइले ठूलो संख्याका आवेदकहरू बाहिरै रहन पुग्छन् । यो वर्ष पनि बाल विकासमा २० जना, कक्षा–६ र ९ मा १५०/१५० जना विद्यार्थीको लागि मात्रै आवेदन खुला गरिएको प्राचार्य श्रेष्ठले बताए ।

२०७४ सालसम्म कक्षा ६ देखि माथि मात्र पढाइ हुने गरेको जन माविमा त्यसभन्दा तलका कक्षा वीरेन्द्रनगर–१४, तल्लो रानीमत्ताको महाकाली प्राविलाई समायोजन गरेर त्यहाँको अनुमति यहाँ सारिएपछि मात्र चलाइएको थियो । हाल जन माविमा बाल विकासदेखि कक्षा ५ सम्म एक–एक वटा सेक्सन सञ्चालन गर्दै आएको छ । कक्षा–६ मा ४, कक्षा ७–८ मा ५/५ वटा सेक्सन रहेका छन् । कक्षा ९ र १० मा ६/६ वटा सेक्सन सञ्चालन गरेर पठनपाठन गराइरहेको प्राचार्य श्रेष्ठले बताए ।

जन नमूना माविमा बाल विकासदेखि १० कक्षासम्म १ हजार ७०५ र प्लस टुमा १ हजार ७०० गरी जम्मा ३ हजार ४०० विद्यार्थी छन् । ‘अबको दुई वर्षभित्र ५ हजार विद्यार्थी पुर्‍याउने लक्ष्य दिएका छौं’, प्राचार्य श्रेष्ठले अनलाइनखबरसँग भने ।

गत वर्षको नयाँ शैक्षिक सत्रमा ७०० विद्यार्थी माग गरिएकोमा २५०० बढी विद्यार्थीले आवेदन दिएको प्राचार्य श्रेष्ठ बताउँछन् । ‘हामीले विद्यार्थी छनोट मापदण्ड नै बनाएर पारदर्शी तरिकाले विद्यार्थी छनोट गर्ने गरेका छौं’ उनले भने, ‘नाम ननिक्लने विद्यार्थी र अभिभावक सबैले पढ्न पाउनुपर्छ भन्दै विरोध पनि गर्नुहुन्छ । तर हामीसँग विकल्प नै छैन ।’

प्रवेश परीक्षा लिने कि नलिने भन्ने विषयमा विवाद हुँदा विद्यालयले पहिला आउने विद्यार्थीलाई पहिलो प्राथमिकता दिएर एक वर्ष भर्ना लिएको प्राचार्य श्रेष्ठ बताउँछन् । ‘त्यसो गर्दा झनै झमेला भयो । विद्यार्थी रातभरि लाइनमा बस्न थाले । लाइन राजा चोकसम्म पुगेपछि पुनः प्रवेश परीक्षा लिएर छनोट गर्न थाल्यौं’, उनी भन्छन् ।

हाल विद्यालयले लिखित परीक्षा लिने र मेरिटका आधारमा विद्यार्थीलाई भूगोल अनुसारको नम्बर दिएर छनोट गर्दै आएको छ । विद्यालय वीरेन्द्रनगर–६ मा रहेकाले सो वडाका विद्यार्थीलाई १० नम्बर, पालिकाभरका विद्यार्थीलाई ८, सुर्खेत जिल्लाभरका विद्यार्थीलाई ६, सुर्खेत जिल्ला छोएका जिल्लाका विद्यार्थीलाई ४ र कर्णाली प्रदेशभरका विद्यार्थीलाई २ नम्बर दिने गरिएको छ ।

‘नयाँ भर्ना हुने ५ प्रतिशत विद्यार्थी साबिकको कर्णालीका छनोट गर्ने गरेका छौं’ प्राचार्य श्रेष्ठले भने, ‘यो मापदण्ड पनि अभिभावक, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूसँगको छलफल र सहमतिमा निर्धारण गरेका हौं ।’

फरक पठन अभ्यास

जन नमूना माविले कक्षा ६–१० का विद्यार्थीका लागि अतिरिक्त कक्षा अनिवार्य गरेको छ । अन्य विद्यालयहरू बेलुका ४ बजे बिदा हुँदा जन माविमा भने ६ बजेसम्म पढाइ हुन्छ । बेलुका दुई घन्टा ‘उपचारात्मक कक्षा’ सञ्चालन हुने गरेको प्राचार्य श्रेष्ठ बताउँछन् ।

त्यसरी पढेबापत विद्यार्थीले थप शुल्क तिर्नुपर्दैन । तर पढाउने शिक्षकलाई भने विद्यालयले अतिरिक्त सुविधा दिने गरेको छ । ‘कुन विषयमा कति विद्यार्थी कमजोर छन्, बहुसंख्यक विद्यार्थीले के पढ्न चाहन्छन्, त्यही विषय पढाइन्छ’ उनले भने, ‘जसले गर्दा कमजोर विद्यार्थी पनि राम्रो बन्दै जान्छन् ।’

त्यसरी पढ्ने सबै विद्यार्थीले प्रत्येक शनिबार सुधारात्मक परीक्षा दिनुपर्छ । ‘परीक्षामा सहभागी हुन सबै कक्षाका सम्पूर्ण विद्यार्थीलाई अनिवार्य गरिएको छ । अनुपस्थित विद्यार्थीले जरिवाना तिर्नुपर्छ’, प्राचार्य श्रेष्ठ भन्छन् । उक्त परीक्षाका आधारमा विद्यार्थीको स्तर निर्धारण भने गरिंदैन, किनकि यो निर्णयात्मक नभई सुधारात्मक परीक्षा हो ।

परीक्षापछि विद्यार्थीका उत्तरपुस्तिका शिक्षकले राम्ररी पढ्छन् र सुधार गर्नुपर्ने विषयमा आवश्यक सुझाव लेखेर एक साताभित्र सम्बन्धित विद्यार्थीलाई नै फिर्ता दिने व्यवस्था गरिएको छ । शिक्षकहरूले परीक्षामा आउने प्रश्न र उत्तरको संरचनाका बारेमा विद्यार्थीलाई बुझाउँछन् । ‘परीक्षा दिंदा–दिंदा विद्यार्थीहरू यति अभ्यस्त हुन्छन् कि, सोध्न खोजेको के हो ? अंकभार कति हुन्छ ? त्यसलाई कति समय दिने र कस्तो उत्तर लेख्ने ?’, प्राचार्य श्रेष्ठ भन्छन् ।

कुनै शिक्षकको अनुपस्थितिमा कक्षा खाली हुँदा गणित र विज्ञान विषयका छुट्टै शिक्षक राखेर पढाउने गरिएको छ । विद्यार्थीका विभिन्न समस्याको समाधानका साथै परामर्श र खेलकुद गतिविधि सञ्चालनका लागि छुट्टै कर्मचारीको व्यवस्था छ ।

विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । बाल विकासदेखि कक्षा ५ सम्म स्टार्ट बोर्ड राखिएको छ भने त्योभन्दा माथि मल्टिमिडिया प्रोजेक्टरबाट पढाइन्छ । प्रत्येक शिक्षकलाई विद्यालयले नै अनुदान मार्फत ल्यापटप उपलब्ध गराएको छ । देश विदेशका अभ्यास र ज्ञानगुनका कुराहरूलाई प्रोजेक्टर मार्फत देखाइन्छ ।

शिक्षकलाई प्रतिस्पर्धी बनाउन विद्यालयले हरेक वर्षको मूल्याङ्कनबाट आदर्श शिक्षक घोषणा गरी २२ हजार २२२ नगद पुरस्कार सहित सम्मान गर्ने परम्परा बसालेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोइराला बताउँछन् । २०७५ सालदेखि निश्चित मापदण्डका आधारमा आदर्श विद्यार्थी र आदर्श अभिभावक पुरस्कार पनि दिइने गरेको छ ।

आर्थिक क्रियाकलापलाई विवादरहित र पारदर्शी बनाउन विद्यालयको सम्पूर्ण आम्दानी सीधै बैंकमा जम्मा गर्ने प्रणाली छ । विद्यालयको प्रशासनिक भवनमै एउटा निजी बैंकलाई विस्तारित सेवा काउन्टर सञ्चालन गर्न दिइएको छ ।

प्रत्येक कक्षाकोठामा विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता, डस्टबिन, भित्ते घडी, शैक्षिक क्यालेन्डर र डिस्पेन्सर सहित खानेपानीको जार राखिएको छ ।

विद्यालयले छात्राहरूलाई रजस्वला हुँदा चाहिने स्यानिटरी प्याड २०६९ सालदेखि नै निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । विद्यार्थी र अभिभावकलाई सम्पर्क गरी उनीहरूको शैक्षिक गतिविधिबारे संवाद गर्न विद्यालयमा छुट्टै ‘हेल्प डेस्क’ को व्यवस्था गरिएको छ ।

अनि सुध्रियो नतिजा

पछिल्लो एक दशक यताको एसएलसी वा एसईई परीक्षाको नतिजाले जन माविलाई कर्णाली प्रदेशका १० जिल्लाका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट देखाएको छ । २०७४ सालको एसईई परीक्षामा यहाँका दुई विद्यार्थी प्रदीप राना क्षेत्री र गणेश भण्डारीले जीपीए ४ ल्याएर सामुदायिक विद्यालयतर्फ राष्ट्रिय कीर्तिमान नै कायम गरेको विद्यालयको दाबी छ ।

६० को दशकमा विद्यालयले अभिभावक र स्थानीय समुदायबाट चरम निन्दा खेप्यो । अभिभावकहरूले आफ्ना छोराछोरीहरू त्यहाँबाट झिकेर बोर्डिङमा पढाउन थाले । अभिभावकको विश्वास जित्न विद्यालयका शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीहरूका छोराछोरीलाई निजी विद्यालयबाट धमाधम जन मावि पढाउन थाले ।

विद्यालयको शैक्षिक उपलब्धि समेत बढ्दै गएको छ । २०६९ मा ४२ प्रतिशत, २०७६ मा ७८, २०७७ मा ७२, २०७८ मा ६८, २०७९ मा ७२ र २०८० मा ७६ प्रतिशत शैक्षिक उपलब्धि पुगेको छ । विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठ ‘उत्कृष्ट प्रधानाध्यापक अवार्ड–२०८१’ बाट समेत सम्मानित भइसकेका छन् ।

यो विद्यालयमा २०७२ बाट विद्यार्थीको ग्राफ बढ्न थालेको प्राचार्य श्रेष्ठ बताउँछन् । २०७१ मा नयाँ विद्यालय व्यवस्थापन समिति चुनिएर आयपछि विद्यालयले नयाँ रणनीति बनाएर काम गरेको थियो । सोही रणनीतिका कारण २०७२ मा तत्कालीन मध्यपश्चिम विकास क्षेत्रमा सामुदायिक विद्यालयतर्फ एसएलसी नतिजामा जन मावि उत्कृष्ट भयो । त्यसपछि विद्यार्थीको ग्राफ ह्वात्तै बढ्न थालेको श्रेष्ठले बताए ।

उनका अनुसार, विद्यालयले २०७३ सालबाट प्रवेश परीक्षा लिएर विद्यार्थी छनोट गर्न थाल्यो । सोही वर्षको एसईईमा मध्यपश्चिमका सामुदायिक तथा संस्थागत तहका विद्यालयतर्फ नै जन मावि उत्कृष्ट भयो । २०७४ को नतिजाले त विद्यालयको चर्चा एकाएक देशैभर चुलिन थाल्यो । २०७५ बाट विद्यालयमा विद्यार्थी थेग्नै नसक्ने गरी चाप बढ्न थालेको प्राचार्य श्रेष्ठ बताउँछन् ।

पालिका स्तरको कक्षा ८ को परीक्षामा गत वर्ष मात्रै जन नमूना माविले ८०.३१ प्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ । गत वर्षको कक्षा १२ को परीक्षामा यो विद्यालय प्रदेश प्रथम हुन सफल भएको विद्यालयको दाबी छ ।

जनविश्वास दिलाउन संघर्ष

डेढ दशक अघिसम्म जन माविको अवस्था कहालीलाग्दो थियो । ६० को दशकमा विद्यालयले अभिभावक र स्थानीय समुदायबाट चरम निन्दा खेप्यो । अभिभावकहरूले आफ्ना छोराछोरीहरू त्यहाँबाट झिकेर बोर्डिङमा पढाउन थाले । त्यतिबेला आम मानिसलाई लाग्थ्यो, जन मावि पढ्नु/पढाउनु भनेको बालबालिकाको भविष्य बिगार्नु हो ।

विद्यालयमा जो–कोही, जति बेला पनि प्रवेश गर्थे । विद्यालय हातामा दिनहुँ जसो लडाइँ झगडा भइरहन्थ्यो । विद्यार्थीका लागि कुनै नियम कानून थिएन । कतिसम्म भने, एक दिन अपरिचित व्यक्तिले शिक्षककै अगाडि कक्षाकोठाबाट एक छात्रालाई अपहरण गरे ।

त्यसताका शिक्षकहरू समेत अराजक विद्यार्थीको आक्रमणमा पर्थे । परिणामस्वरूप विद्यार्थी पढ्न आउनै डराउन थाले । अभिभावकले आफ्ना छोराछोरीलाई निकालेर अन्यत्र सार्न थाले । २०६५ सालमा विद्यार्थी संख्या घटेर ५०० भन्दा तल झरेको प्राचार्य श्रेष्ठ बताउँछन् । त्यो बेला जन मावि अर्थात् गुन्डागर्दीको अखडा भन्ने मानक बजारमा स्थापित भएको थियो ।

२०६९ सालमा यामबहादुर श्रेष्ठले प्राचार्यको पद सम्हाले । उनले विद्यालयको अशान्त वातावरण चिर्दै तत्कालीन समस्या हल गर्ने योजना विद्यालय व्यवस्थापन समितिमा राखे । विद्यालय सुधार्ने प्रतिबद्धता सहित विद्यार्थी खोज्न विव्यस पदाधिकारी, प्रधानाध्यापक र शिक्षकहरू अभिभावकको घर–घरमा पुगे ।

विद्यालय प्रशासनमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न प्रशासनिक भवन शिक्षण भवनहरू भन्दा बाहिर पर्ने गरी नयाँ प्रवेशद्वार र पर्खाल बनाइयो । विद्यालय परिसरमा भित्री पर्खाल, भित्री गेट र नयाँ प्रशासनिक भवन समेत तयार गरियो ।

कर्णाली प्रदेशको राजधानी, वीरेन्द्रनगरको मुटुमा रहेको जन नमूना माविको इतिहास वीरेन्द्रनगर उपत्यका भन्दा पुरानो छ । यो विद्यालयको इतिहासले पश्चिम नेपालको शैक्षिक विकासलाई दर्शाउँछ ।

२०७१ मा अभिभावकको भेलाले गोविन्द कोइरालाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्‍यो । सोही समितिले विद्यालयको भौतिक विकाससँगै शैक्षिक उन्नतिका योजना बनाएर काम थालेपछि विद्यालयले थप उचाइ लिंदै गयो । अहिले पनि सोही विव्यस र शिक्षक अभिभावक सङ्घसँगै प्रशासनिक नेतृत्व लिइरहेका प्राचार्य निरन्तर सक्रिय छन् ।

२०७१ सालदेखि नै जन माविका शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबैले आफ्ना छोराछोरीलाई निजी विद्यालयबाट निकालेर यहीं पढाउने घोषणा गरे । प्राचार्य श्रेष्ठले पनि छोरालाई पुरानो विद्यालय छाडेर यता भर्ना गरे । विव्यस अध्यक्ष कोइरालाले दुई छोरालाई सुर्खेतकै एक निजी विद्यालयबाट निकालेर क्रमशः ८ र ६ कक्षामा भर्ना गरे । ‘हामीले आफ्ना छोराछोरीलाई समेत निजी विद्यालयबाट तानेर जन मावि भर्ना गर्‍यौं’ अध्यक्ष कोइराला भन्छन्, ‘त्यसपछि अभिभावकहरूले हामीप्रति थप विश्वास गर्नुभयो ।’

शिक्षक अभिभावक संघका अध्यक्ष विमल नेपालीले त छोरीलाई आफ्नै लगानीमा सञ्चालित, आफैं प्राचार्य रहेको सुर्खेत होराइजन एकेडेमीबाट छुटाएर कक्षा–८ देखि जन मावि भर्ना गरे । ‘सरकारी लगानी पाएर पनि सामुदायिक विद्यालयहरू पछि परेको देख्दा निराश हुन्थें । तर सामूहिक प्रयास, राजनीतिक हस्तक्षेपमुक्त व्यवस्थापन र शिक्षामा सुधार ल्याउने साझा सपनालाई साथ दिएँ’, उनी भन्छन् ।

अभिभावकको विश्वास जित्न विद्यालयका शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीहरूका छोराछोरीलाई निजी विद्यालयबाट धमाधम जन मावि पढाउन थाले । ‘सामूहिक रूपमा हामीले गरेका यी प्रयत्नहरूकै कारण विद्यालयले क्रमशः काँचुली फेर्दै गयो’, प्राचार्य श्रेष्ठ भन्छन् ।

एउटा ऐतिहासिक विद्यालय

कर्णाली प्रदेशको राजधानी, वीरेन्द्रनगरको मुटुमा रहेको जन नमूना माविको इतिहास वीरेन्द्रनगर उपत्यका भन्दा पुरानो छ । यो विद्यालयको इतिहासले पश्चिम नेपालको शैक्षिक विकासलाई दर्शाउँछ ।

१९५० को दशकमा हालको वीरेन्द्रनगरमा उपत्यकामा मान्छेहरू खेतीपाती गर्थे । औलोका कारण मान्छेहरू बास बस्न भने हालको वीरेन्द्रनगर–१४, गोठीकाँडामा पुग्थे । सोही दशकमा दाङबाट आएका थारू समुदाय जोखिम मोलेर वीरेन्द्रनगर उपत्यकामा बस्न थाले ।

१९७० को दशममा उपत्यकामा नापी शुरू भयो । मान्छेहरूको संख्या झनै बढ्दै गयो । पहाडियाहरू दिउँसो खेतीपाती गर्न आए पनि औलोको डरले बेलुका सुत्न भने गोठीकाँडा पुग्थे । त्यो बेलाको मुकाम गोठीकाँडा नै थियो ।

१९९० को दशकबाट अनौपचारिक शिक्षाको बीउ गोठीकाँडामै रोपिएको विव्यस अध्यक्ष कोइराला बताउँछन् । गाउँका केही टाठाबाठाहरू बनारस पढेर फर्किएका थिए । उनीहरूले घरको आँगनमा कर्मकाण्ड, ज्योतिष विद्या, तमसुक लेखन र रुद्री कथाहरू सिकाउन थाले ।

२०२५ सालमा जन नमूनाका विद्यार्थी ।

त्यो अभ्यासबाट नै अहिलेको जन नमूना मावि जन्मिएको अध्यक्ष कोइरालाको दाबी छ । उनका अनुसार, २००६ सालमा केही समाजका अगुवाहरूले आधिकारिक रूपमा विद्यालय खोल्ने निष्कर्ष निकाले । हालको वीरेन्द्रनगर–१४, गढीमा एउटा टुनीको रूखको छहारीमा गाउँका बालबालिकालाई बोलाएर पढाउन थालिएको थियो ।

२००७ सालमा नेपालमा प्रजातन्त्र आयो । तर त्यो वर्ष नै राणाहरूले विद्यालय सञ्चालनको अनुमति दिएनन् । तर १४ चैत २००८ मा मिडिल स्कूलका रूपमा यो विद्यालयले मान्यता प्राप्त गरेको कोइराला बताउँछन् । गोठीकाँडामा रहेको सोही विद्यालय २०१९ सालदेखि अहिलेको जन नमूना मावि भएको ठाउँमा सञ्चालनमा आएको थियो ।

‘पछि उपत्यकामा बसोबास बढ्न थालेपछि गोठीकाँडाको मिडिल स्कूलको हिउँदकालीन पढाइ अहिलेको जन मावि भएको ठाउँमै हुन्थ्यो’, कोइराला भन्छन् । अहिलेको जन मावि भएको ठाउँमा भाटाले बारेर, स–साना झुप्राहरू निर्माण गरी पढाउन शुरू गरिएको थियो ।

अहिलेको जन मावि भएको ठाउँलाई त्यो बेला गोलबजार भनिन्थ्यो । २०२३ सालमा वीरेन्द्रनगरमा औलो उन्मूलन भयो । सोही वर्ष वीरेन्द्रनगर विमानस्थल सञ्चालनमा आयो । मान्छेहरूको बसोबास बढ्न थाल्यो । मिडिल स्कूल पछि मिडिल हाईस्कूल बन्यो ।

२०१९ सालमा हिउँदकालीन विद्यालय रहेको मिडिल स्कूल २०२३ सालबाट पूर्ण रूपमा वीरेन्द्रनगर उपत्यकामा सरेको थियो । २०२२ सालमै तीन जनाले पहिलो पटक मिडिल हाईस्कूलबाट एसएलसी दिएको अध्यक्ष कोइराला बताउँछन् ।

उनका अनुसार, २०३७ सालमा विद्यालय जन व्यावसायिक माविमा रूपान्तरित भयो । कुखुरापालन र काष्ठकला जस्ता व्यावसायिक विषय पढाइन्थ्यो । तर यो लामो समय टिकेन । २०४४ मा व्यावसायिक कक्षाहरू हटाएर जन माविका रूपमा पुनस्र्थापना गरियो । त्यो बेला अंग्रेजी, गणित र विज्ञान पढाउन भारतको उत्तरप्रदेश र बिहार राज्यबाट शिक्षक ल्याइन्थ्यो ।

२०४५ मा कोइराला स्वयंले यहींबाट एसएलसी दिएका थिए ।  कोइरालाका अनुसार २०५४ मा जन माविले प्लस टुमा विज्ञान सङ्काय शुरू गर्‍यो । लगत्तै पब्लिक साइन्स क्याम्पसको समेत स्थापना भयो । तर आर्थिक बोझले २०६८ मा यो क्याम्पस मध्यपश्चिम विश्वविद्यालयलाई हस्तान्तरण गरियो । विश्वविद्यालयको हालको विज्ञान तथा प्रविधि सङ्काय त्यसैको जग भएको कोइराला बताउँछन् । ‘हाम्रो पब्लिक साइन्स क्याम्पस नै अहिलेको विश्वविद्यालयको साइन्स डिपार्टमेन्ट हो’, कोइराला भन्छन् ।

२०७३ सालमा सरकारले प्लस टुलाई पनि माध्यमिक तहमा झारेपछि जन उच्चमावि, माध्यमिक विद्यालय बन्यो । २०७४ मा आएपछि जन नमूना माविमा परिणत भएको कोइराला बताउँछन् ।

भौतिक पूर्वाधार

जन नमूना मावि तीन बिघा पौने सात कट्टा जग्गामा फैलिएको छ । विद्यालयको भवनमा १२ वटा ब्लक छन् । एउटा छुट्टै सभा कक्ष छ । पुस्तकालय, ल्याब र सङ्गीत कक्ष समेत छुट्टाछुट्टै भवनमा सञ्चालन हुन्छन् ।

अन्य ब्लकहरू शैक्षिक कार्यका लागि प्रयोग भएका छन् । विद्यार्थीका निम्ति सुविधासम्पन्न खेल मैदान छ । जहाँ विभिन्न खेल र दैनिक रूपमा प्रार्थना गर्ने गरिएको छ । सुन्दर फूलबारी छ । दैनिक पठनपाठनका लागि आवश्यक पर्ने ५ वटा विज्ञान प्रयोगशाला र ३ वटा कम्प्युटर ल्याब छन् । एक/एक गणित र सामाजिक तथा सङ्गीत ल्याब छन् ।

विद्यालयका सबै भवनमा ५४ कक्षा कोठा छन् । प्रशासनिक कामकाजका लागि छुट्टै भवन छ । विज्ञान, कम्प्युटर, गणित लगायत प्रयोगशालामा विभिन्न उपकरण व्यवस्थापन गरिएको छ । चमेना गृह–२, बस–१, मोटरसाइकल–१, प्रवेशद्वार–३, जेनेरेटर–२ र पाँच दर्जन बढी सीसीटिभी क्यामेरा जडान गरिएको छ ।

त्यस्तै एउटा फूलबारी, फाउन्टेन फोहोरा, दुई वटा गेट पोस्ट, साउन्ड सिस्टम, क्यामेरा, पिउने पानीको पर्याप्त व्यवस्था, सार्वजनिक शौचालय, स्टाफ नर्स सहितको प्राथमिक उपचार कक्ष समेत रहेको प्राचार्य श्रेष्ठले बताए ।

विद्यालयमा मावितर्फ स्थायी शिक्षक ११, निमावितर्फ १२, प्रावितर्फ ३, त्यस्तै अस्थायी शिक्षक अन्तर्गत साबिक उमाविमा ३ जना, प्रदेश सरकार अनुदान शिक्षक मावितर्फ ३, स्थानीय तह स्वयंसेवक शिक्षक अनुदान मावितर्फ १ र आधारभूततर्फ १ जना रहेका छन् ।

कक्षा ११ र १२ मा आंशिक शिक्षक ३४, आंशिक शिक्षक दिवा सत्रमा १०, निजी स्रोत स्थायी शिक्षक निमावितर्फ २, प्रावितर्फ २, निजीस्रोत अस्थायी/करार गरी ४ जना शिक्षक रहेका छन् । ८ जना स्थायी र १ जना अनुदान अस्थायी कर्मचारी रहेका छन् । आंशिक करारतर्फ १५ जना कर्मचारी रहेको प्राचार्य श्रेष्ठले बताए ।

विद्यालयको जग्गामा बनेका ६२ वटा सटरको भाडाबापत प्राप्त आम्दानीबाट निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई पनि सरकारी स्केल सरहको पारिश्रमिक दिइएको प्रअ श्रेष्ठले बताए ।

भाडाबाट वार्षिक ४५ लाख उठ्छ । आज जन माविमा विज्ञान, व्यवस्थापन, शिक्षा, कानून र तीनवर्षे सिभिल सब–इन्जिनियरिङ पढाइ हुन्छ । ३० भन्दा बढी जिल्लाका विद्यार्थी पढ्दै आएका छन् । भौतिक पूर्वाधार, शैक्षिक जनशक्ति र आवश्यक कर्मचारी अभाव लगायत कारणले विद्यार्थी संख्या धेरै राख्न नसकिएको उनी बताउँछन् । विद्यालयले एक करोड, ११ लाख ११ हजार ११ रुपैयाँको कोष स्थापना गरेको छ ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?