+
+
Shares
सानदार स्कुल :

आँगनबाट सुरु भएको सिद्धि गणेश, जहाँ बोर्डिङ छोडेर आउँछन् ३ पालिकाका विद्यार्थी

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सिद्धि गणेश माध्यमिक विद्यालय काठमाडौं जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय घोषित भएको छ । स्तरीय पढाइकै कारण चाँगुनारायण र शंखरापुरदेखिका विद्यार्थी यो स्कूलमा आइपुग्छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ वैशाख २५ गते २०:३०

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।

तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।

यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्‍यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।

यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं ।  – सम्पादक

काठमाडौं । ४५ वर्षअघिसम्म काठमाडौंको गागलफेदी सातघट्टे टोलमा स्कूल थिएन । बाबु-आमा आफ्ना छोरोछोरीलाई पढाउन चाहन्थे । तर पढाउने कहाँ ?

गागलफेदीको छिमेकी इन्द्रायणीमा (एउटै गाविस) राष्ट्रिय निमावि (हाल मावि) थियो । जहाँ पढाउनको लागि राष्ट्रिय सेवादलबाट ४ जना शिक्षक आएका थिए– अरुणा श्रेष्ठ, सत्यलक्ष्मण प्रजापति, भवानी राजभण्डारी र मीना वैद्य ।

यी शिक्षकलाई कहाँ राख्ने ? कसको घरमा राख्ने ? शिक्षकलाई बास दिन स्थानीयको तँछाडमछाड चल्यो । र, सत्तघट्टे टोलका स्थानीयले ४ जना शिक्षकलाई बास दिने निर्णय गरे ।

ती शिक्षकले दिउँसो विद्यालयमा र बिहान–साँझको समयमा सातघट्टेका पिछडिएका बालबालिकालाई पढाउन थाले ।

उनीरूले स्थानीय बद्रीनारायण श्रेष्ठको घरमा ‘आँगन कक्षा’ सुरु गरे । आँगन कक्षामा विद्यार्थीको संख्या बढ्दै गएर ३ सय पुग्यो । आँगनले नथेग्ने भयो ।

अब कहाँ राखेर पढाउने ? स्थानीय शिक्षासेवी र समाजसेवीले विद्यालय नै स्थापना गर्ने निर्णय गरे । र, २०३५ सालमा जन्मियो, श्री सिद्धि गणेश विद्यालय, जहाँ प्रारम्भिक बालकक्षा सुरु गरियो ।

‘त्यो समयमा बाँस र छ्वालीको छाप्रो बनार विद्यालय खोलिएको रहेछ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा सुनाउँछन् ।

विद्यालयको ल्याब ।

२०३५ तिरै अखिल नेपाल माहायान बौद्ध समाजको सहयोगमा क्यानडाबाट विद्यालयले ५२ हजार रुपैयाँ सहयोग पायो । स्थानीय कृष्ण अर्यालले ४ आना जग्गा विद्यालयका लागि दान दिए । सोही जग्गामा ४ कोठे कच्ची भवन बनाइयो ।

‘दाताहरूले जग्गा दान गरेर बनाएको स्कुल हो,’ विद्यालयको भित्तामा टाँगिएको दाताहरूको फोटो देखाउँदै विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापा भन्छन् ।

लक्कीदेवी श्रेष्ठ र हर्कबहादुर श्रेष्ठले ३ रोपनी जग्गा दिएपछि ६ कोठे भवन निर्माण गरिएको हो । आधारभूत तहको भवनका लागि चित्रकुमारी कुइँकेलले १ रोपनी जग्गा दान गरेकी हुन् ।

विद्यालय प्रशासनका अनुसार विद्यालयको नाममा जग्गा छैन । सरकारी जग्गा सम्बन्धित निकायको सिफारिसमा विद्यालयले भोगचलन गरिरहेको छ ।

‘९–१० रोपनी जग्गा विद्यालयले भोगचलन गरेको छ,’ विद्यालयका सहायक प्रधानाध्यापक सरोज धिताल भन्छन् ।

विद्यालयको स्तरोन्नति हुँदै गयो । २०४८ सालमा निम्न माध्यमिक तह र २०५४ सालमा माध्यमिक तहका कक्षा सञ्चालन गरियो । २०६४ सालमा उच्च माध्यमिक तहका कक्षा र २०७३ सालदेखि प्राविधिक धारतर्फको बाली विज्ञानका कक्षा सञ्चालन गरिएको छ ।

यो विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुन्छ । तर यो विद्यालयको उतारचढावको कथा भने लामो छ ।

तीन पालिकाका विद्यार्थी पढ्छन्

हाल कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी सातघट्टेको डाँडामा छ, सिद्धि गणेश विद्यालय । निजीमा भन्दा सिद्धि गणेश विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण धेरै छ ।

‘छिमेकी नगरपालिका चाँगुनारायण र शंखरापुरबाट पनि विद्यार्थी पढ्न आउँछन्,’ सहायक प्रधानाध्यापक धितालले भने, ‘तीन वटा पालिकाको सिमानाबाट विद्यार्थी आउने हो । हिँडेर आउन १ घण्टा लाग्छ । विद्यालयको बस छ, त्यसैमा आउँछन् ।’

रोचक त के छ भने, विद्यालय भएको टोलमा विद्यालय जाने उमेर समूहका बालबालिका ४५ मात्र जना छन् । तर विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म ९०८ जना विद्यार्थी अध्ययनरत छन् ।

‘दुईवटा गाडीले तीन–तीन खेप गरेर ६ पटक विद्यार्थी ल्याउने गरेको छ । ल्याउन र पुर्‍याउन गरी १२ पटक गाडी ओहोरदोहोर गर्छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले भने, ‘नजिकैको दूरीमा ५ सय र टाढाको दूरीमा ९ सय भाडा लिने गरेका छौँ ।’

यो विद्यालयमा आफ्ना छोराछोरी पढाउन अभिभावक डेरा लिएर बसेका छन् । ‘५० वटा परिवार बच्चा पढाउनकै लागि अन्तबाट यहाँ आएर बस्नुभएको छ,’ अध्यक्ष थापाले भने ।

बोर्डिङ छोडेर आउँछन्, प्रवेश परीक्षा अनिवार्य

धेरै वटा निजी विद्यालय छिचोलेपछि मात्र सिद्धि गणेश मावि पुगिन्छ । तर निजीमा भन्दा यो विद्यालयमा विद्यार्थीको चाप बढी छ ।

‘बोर्डिङबाट निकालेर अभिभावकले हाम्रो विद्यालयमा बालबालिका भर्ना गर्न ल्याउनुहुन्छ । यसको कारण, निजीको भन्दा राम्रो नतिजा र आर्थिक अवस्था नै हो,’ सहायक प्रधानाध्यापक धितालले भने, ‘कोटा बढी भएपछि फर्काउनुपर्ने अवस्था छ । विद्यार्थीको संख्या बढेपछि राख्ने ठाउँ छैन । एउटा कक्षामा ४५ जनाभन्दा राख्न सकिँदैन ।’

निजीबाट विद्यार्थी आउन थालेपछि विद्यालयले प्रवेश परीक्षा लिन थालेको छ । ‘सुरुमा बोर्डिङबाट आएको भनेर भर्ना लियौं । तर तीन महिनापछि कमजोर देखियो ।

अभिभावकले पनि बोर्डिङमा राम्रो थियो, यहाँ किन कमजोर भयो भनेर प्रश्न गर्न थाल्नुभयो,’ धितालले भने, ‘निजीले विद्यार्थी टिकाउन नम्बर धेरै दिने गर्दारहेछन् । त्यसैले सुरुमै प्रवेश परीक्षा लिएर भर्ना गर्न सुरु गरेका हौं ।’

निजी विद्यालयबाट आएका विद्यार्थीको सर्टिफिकेटमा राम्रो नम्बर हुने तर प्रवेश परीक्षामा आफ्नै विद्यालयको नाम पनि लेख्न नसक्ने गरेको उदाहरण प्रशस्तै भेटिन्छ ।

‘प्रवेश परीक्षा अनुत्तीर्ण हुनेमा धेरै निजी विद्यालयकै हुन्छन् । भर्ना गरेपछि पछि आएर अभिभावकले प्रश्न गर्दा देखाउने गरेका छौं,’ उनले भने ।

प्रवेश परीक्षामा अनुत्तीर्ण भएका बालबालिकालाई अभिभावकले कक्षा घटाएर भए पनि भर्ना गर्न हारगुहार गर्छन् । ‘कसैलाई फर्कायो भने अभिभावकको आँखाबाट आँसु आउँछ । छोराछोरी पढाउन बुबाआमा आएर रुनुहुन्छ । कक्षा घटाएर भए पनि भर्ना गर्न भन्नुुहुन्छ,’ सहायक प्रधानाध्यापक धितालले भने ।

विद्यार्थी तान्न निजीको शैली अनुसरण

सिद्धि गणेश विद्यालयमा निजी विद्यालयमा झैं नर्सरी, एलकेजी र यूकेजीको कक्षा पनि सञ्चालन गरिएको छ । ‘समाजको मन जित्न र बोर्डिङभन्दा कम छैनौं भनेर देखाउनका लागि गरेका हौं । यसरी कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या बढ्दै गयो अनि निरन्तरता दिएका हौं,’ धितालले भने ।

विद्यालयले प्रवेश शुल्क भने लिने गरेको छ । नर्सरीमा वार्षिक शुल्क ४ हजार ५ सय र कक्षा १ देखि १० सम्म ५ हजार ५ सय प्रवेश शुल्क लिने गरेको विद्यालयले जनाएको छ । ‘मासिक शुल्क लिने गरेको छैन । प्रवेश शुल्क वर्षमा एक पटक लिने गरेका छौँ,’ उनले भने ।

सामाजिक र नेपाली बाहेक अरू विषय अंग्रेजी भाषामा पढाउने गरिएको छ । ‘एसईईको समयमा ५०–६० दिन विद्यार्थीलाई क्लोज क्याम्पमा राखेर पढाउँछौं,’ सहायक प्रधानाध्यापक धितालले भने ।

शिक्षकले छोराछारी आफ्नै विद्यालयमा पढाउनुपर्ने

कक्षा ९ मा पढ्छिन् प्रस्तुति अधिकारी । उनको बुबा–ममी दुवैजनाले सोही विद्यालयमा पढाउनुहुन्छ । ‘यहाँको पढाइ पनि राम्रो छ । बाबा–ममीले पनि यहीँ पढाउनुहुन्छ । बोर्डिङको भन्दा राम्रो पढाइ हुन्छ,’ प्रस्तुतिले भनिन् ।

२०६६ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने राजकुमार थापा । उनी अध्यक्ष भएको दुई वर्षपछि २०६८ मा एउटा कक्षा खाली भयो । विद्यार्थी भर्ना नै भएनन् । त्यसपछि उनले एउटा निर्णय गरे ।

‘मेरो छोरी निजी विद्यालयमा पढाउने गरेको थिएँ । आफू अध्यक्ष भएको स्कुलमा विद्यार्थी नभएपछि बोर्डिङबाट झिकेर यही स्कुलमा १ कक्षामा भर्ना गरेँ । प्रधानाध्यापकको छोरीलाई पनि भर्ना गर्न लगाएँ,’ अध्यक्ष थापा भन्छन् ।

दुई/तीनजना शिक्षकले छोराछोरी पढाउन मानेनन् । ‘त्यसपछि स्कुलको ढोका नै छेकेर बसेँ । अन्ततः ल्याउनुभयो । नल्याउने शिक्षकले राजीनामा दिनुभयो,’ उनी भन्छन्, ‘शिक्षकको छोराछोरी अनिवार्य पढाउने पर्ने व्यवस्था गरेका छौँ ।’

यति गर्दा पनि ८ कक्षासम्म ५५ जनाजति विद्यार्थी थिए । विद्यार्थी तान्न अध्यक्ष थापाले निःशुल्क किताब वितरणदेखि ब्यागसमेत दिए ।

‘१५–२० जना जति त थपिए तर काम लागेन,’ उनी भन्छन्, ‘२०७४ मा केही पनि नदिने निर्णय गर्‍यौं । त्यही वर्ष विद्यार्थी धेरै भए ।’

विद्यार्थीको संख्या बढेपछि हो, विद्यालयले शुल्क लिन थालेको । ‘सित्तैमा भयो भने महत्व नहुने रहेछ । शुल्क लिएपछि विद्यार्थी र अभिभावकले पनि महत्व दिने रहेछन्,’ अध्यक्ष थापा भन्छन्, ‘अचेल विद्यार्थी भर्नाको लागि राजनीतिक प्रेसर समेत आउँछ ।’

शिक्षक संघ–संघठनमा छैनन्, बिदामा पनि पढाइ

यो विद्यालयका शिक्षकहरू संघ–संगठनमा आवद्ध छैनन् । उक्त विद्यालयमा ३० जना शिक्षक छन् । ‘शिक्षक संघ संगठनमा बसेमो भेटेको छैन । शिक्षकहरू पढाउने काम मात्र गर्नुहुन्छ,’ अध्यक्ष थापा भन्छन् ।

बरु सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयले सार्वजनिक बिदामा समेत पढाउने गरेको छ । ‘समाजलाई असर नपर्ने बिदामा पढाउने गरेका छौं,’ सहायक प्रधानाध्यापक धितालले भने, ‘वर्षमा ४५ दिन बिदा पर्छ तर हाम्रोमा १८ दिन जति मात्र बिदा हुन्छ ।’

सुरुमा सार्वजनिक बिदाको दिन शिक्षकहरू आउन मानेका थिएनन् । तर विद्यालययको शैक्षिक सुधारको लागि एक इँटा भए पनि थप हुन्छ भनेपछि शिक्षकहरू बिदाको दिन पनि आएर पढाउन राजी भएका हुन् । ‘कतै जाँदा फलानो स्कूलको नतिजा यति राम्रो छ भनेर प्रशंसा हुन्छ । त्यसैले शिक्षकहरू पनि बिदाको दिन आएर पढाउनुहुन्छ,’ धितालले भने ।

विद्यार्थी र शिक्षकको समेत सीसी क्यामेराबाट निगरानी हुने गरेको छ । विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयले क्यान्टिनमा चाउचाउ, दालमोठ र चक्लेट बिक्री–वितरणमा रोक लगाएको छ ।

‘पालिकाले वर्षको एकपटक स्वास्थ्य जाँच गर्ने गरेको छ । त्यसमा हाम्रो विद्यालयको विद्यार्थीको दाँत अरुको भन्दा धेरै राम्रो भएको रिपोर्ट आएको छ,’ अध्यक्ष थापाले भने ।
विद्यालयमा एकजना विद्यालय नर्ससमेत राखिएको छ । बाली विज्ञान विषय पनि पढाइ हुने भएकाले विद्यार्थीले विद्यालय तहमै कृषिबारे पढ्दै/सिक्दै आएका छन् । कम्प्युटर, ल्याब र लाइब्रेरीको समेत व्यवस्था विद्यालयमा छ ।

उत्कृष्ट विद्यालय घोषित

सिद्धि गणेश विद्यालय काठमाडौं जिल्लामा रहेका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालय घोषित भएको छ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.२४ जीपीए ल्याएर जिल्लाकै उत्कृष्ट विद्यालय बनेको हो । त्यसैगरी २०७५ सालको माध्यमिक शिक्षा एसईईमा ३.५२ जीपीए ल्याएर प्रथम नै बन्यो ।

कागेश्वरी मनोहरा नगरपालिका भित्रका सामुदायिक विद्यालयमध्ये पनि यो उत्कृष्ट विद्यालय बनिरहेको छ । विद्यार्थी र अभिभावक पनि सामुदायिक विद्यालय भएर पनि राम्रो नतिजा आउने गरेकोमा उत्साहित छन् ।

‘सरकारी विद्यालयलाई प्राथमिकता दिइँदैन । सरकारी पनि राम्रो हुन्छ भनेर रोजेको हुँ,’ कक्षा ९ मा अध्ययनरत आसुतोष अर्यालले भने, ‘शिक्षकहरूले काउन्सेलिङ गरेर पढाउनुहुन्छ । पारिवारिक वातवरण छ । सरकारी भनेर नहेपियोस् । बोर्डिङभन्दा राम्रो छ ।’

विद्यालयको लाइब्रेरी
विद्यालयको बस ।
प्रयोगशाला ।
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?