+
+
Shares

हाईअलर्टमा भारत : स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षणसंस्था बन्द

ताजमहलमा पनि चेकिङ र निगरानी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते ०:३४

२५ वैशाख, काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारतभर उच्च सतर्कता अपनाएको छ । ६ वटा राज्यमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । सरकारले सुरक्षा निकायहरू हाई अलर्टमा राखेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार भारत सरकारले पन्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहारमा उच्च सतर्कता अपनाइएको छ ।

यस्तै पन्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारन जस्ता सीमावर्ती जिल्लाका सबै स्कुल र कलेजहरुमा तीन दिन बिदा दिइएको छ ।

साथै भारत सरकारले देशभरका २७ विमानस्थलहरु बन्द गरेको छ ।

ताजमहलमा पनि उच्च सतर्कता

भारत-पाकिस्तानबीच बढ्दो तनाव र भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ पश्चात् विश्वप्रसिद्ध ऐतिहासिक धरोहर ताजमहलको सुरक्षालाई समेत उच्च सतर्कतामा राखिएको छ ।

ताजमहल क्षेत्रमा विशेष जाँच अभियान चलाइएको छ । वाच टावरहरू निरन्तर निगरानीमा छन्, फिल्ड युनिटहरू सक्रिय छन्, र बुलेटप्रुफ युनिट पनि परिचालनमा छन् ।

ताजमहल आउने–जाने प्रत्येक व्यक्तिमाथि निगरानी राखिएको छ । वरपरका होटलहरूमा पनि सुरक्षा जाँच भइरहेको छ ।

प्रहरीले सर्वसाधारणलाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ ।

ताजमहलको प्रवेश बिन्दुबाटै कडाइका साथ चेकिङ भइरहेको छ । सुरक्षा बलहरू ताजमहलको परिसरभित्र र बाहिर दुबै स्थानमा तैनाथ छन् । प्रत्येक आगन्तुकको सोधपुछ गर्ने गरेका छन् ।

निगरानीका लागि ९ वटा चेकिङ बेरियर, ८ वटा बुलेटप्रुफ टोली र ६ वटा वाच टावरलाई सक्रिय बनाइएको छ ।

ताजमहल वरपरका होटलहरूमा सुरक्षा प्रहरी, पर्यटन प्रहरी र ताजगञ्ज थानाको प्रहरीले आगन्तुकहरूमाथि सोधपुछ र जाँच गर्ने गरेका छन् । आवतजावत गर्नेहरूको विवरण समेत संकलन गरिएको ताज सुरक्षा एसीपी सैयद अरीब अहमदले बताए । उनले भनेका छन्, ‘ताजमहलको सुरक्षा थप बलियो पारिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?