
२५ वैशाख, काठमाडौं । भारतले इजरायलमा निर्मित ड्रोन पाकिस्तान विरुद्ध प्रहार गरेको छ । इजरायलमा निर्मित दुई दर्जन बढी ‘हारोप ड्रोन‘ भनिने ‘हार्पी ड्रोन २’ भारतले प्रहार गरेको भारतीय रक्षा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार लाहोरस्थित पाकिस्तानी मिसाइललाई असफल बनाउन इजरायलमा निर्मित हारोप ड्रोन प्रयोग गरिएको हो ।
यद्यपि ती ड्रोनलाई विफल बनाएको दाबी पाकिस्तानले गरेको छ । यसअघि बुधबार पाकिस्तानले पाँच वटा भारतीय लडाकु विमानलाई पनि खसालेको दाबी गरेको थियो ।
हारोप ड्रोनको विशेषता के हो ?
हारोप ड्रोन इजरायली रक्षा कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई)ले विकास गरेको एक अत्याधुनिक अस्त्र हो । यसलाई ‘सुसाइड ड्रोन’ पनि भनिन्छ ।
यसलाई मुख्य रूपमा शत्रुका रेडार र एयर डिफेन्स प्रणालीहरू नष्ट गर्न डिजाइन गरिएको हो । यो अस्त्र हवाई मार्गमा लामो समयसम्म लक्ष्यको खोजीमा घुमिरहन्छ र लक्ष्य भेट्टाएपछि आफैं त्यहीँ ठोक्किएर विस्फोट हुन्छ ।
यो करिब ६ घण्टासम्म आकाशमा रहन सक्छ र यसमा उच्च विस्फोटक वारहेड जडान गरिएको हुन्छ ।
यसले करिब एक हजार किलोमिटरसम्मको दुरीमा मार हान्न सक्छ । यसलाई स्वचालित वा रिमोट–कन्ट्रोल दुबै तरीकाबाट चलाउन सकिन्छ ।
भारतले यसलाई आफ्नो हवाई प्रतिरक्षा रणनीति अन्तर्गत प्रयोग गर्दै आएको छ ।
विहीबार राति पाकिस्तानले एक्कासी भारतीय भूमिमा मिसाइल र ड्रोनमार्फत् आक्रमण सुरु गरेपछि भारतले एन्टीमिसाइल सिस्टम एक्टिभ गर्दै सबै क्षेत्रमा उच्चसतर्कता अपनाएको छ । साथै यही हारोप ड्रोन समेत प्रयोग गरेको छ ।
पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान, पञ्जाब लगायतका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको र त्यसलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ ।
दुवै पक्षबाट मिसाइल हानाहान
भारतले अहमदपुर इस्ट, मुरिदके, सियालकोट र शकरगढ (पञ्जाब) तथा मुजफ्फराबाद र कोटली (आजाद कश्मिर) मा हवाई हमला गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानले पनि भारतीय आक्रमणलाई विफल बनाएको दाबी गरेको छ ।
भारतका खसाइएका ड्रोनहरू लाहोर, अट्टक, गुजरांवाला, चकवाल, रावलपिन्डी, बहावलपुर, सुक्कुर, उमरकोट र कराँची नजिकका विभिन्न स्थानहरूमा भेटिएको पाकिस्तानले जनाएको छ ।
पाकिस्तानबाट सञ्चालित अनलाइन द डनका अनुसार लाहोर नजिकैको सैन्य केन्द्रमा एक ड्रोन खस्दा चार जना सैनिक घाइते भएका छन् । उक्त ड्रोन हमलामा परी एक जना सर्वसाधारण नागरिकको मृत्यु र अर्को एक जना घाइते भएका छन् ।
विहीबार राति दुवै पक्षबाट मिसाइल हानाहान हुँदा सीमावर्ती क्षेत्रका जिल्लाहरुमा आतंक छ । बस्तीहरुका बत्ती पूरै निभाइएको छ भने खतराको संकेत स्वरुप साइरन बजिरहेका छन् ।
राजस्थानको धर्मशाला स्टेडियममा दिल्ली र पन्जाबबीच भइरहेको आईपीएलको खेल पनि बीचमै स्थगित गरिएको छ ।
भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला नेपालमा समेत उच्च सतर्कता अपनाइएको छ ।
प्रतिक्रिया 4