
२४ वैशाख, काठमाडौं । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् ।
आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो ।
पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ ।
ती आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ । भारतको हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सेनाले जम्मू नजिकै पाकिस्तानको एफ–१६ विमान खसालिदिएको छ ।
पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैन्य ब्यारेकमा आक्रमण गरेको तर ती सबैलाई असफल पारेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।
पाकिस्तानले कहाँकहाँ हमला गर्यो ?
भारतबाट सञ्चालित अनलाइन द भाष्करका अनुसार पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोनबाट हमला गरेको छ । जम्मू विमानस्थल र पठानकोट एयरफोर्स स्टेशनलाई लक्षित गरेर पाकिस्तानले ड्रोन प्रहार गरे पनि त्यसलाई भारतीय एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरिएको छ ।
भारतीय मिडियाहरुका अनुसार जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानमा आक्रमण भएको छ ।
यसैगरी पञ्जाबको गुरदासपुर, राजस्थानको जैसलमेर र गुजरातको भुज क्षेत्रमा पनि आक्रमण भएको छ ।
जम्मु विमानस्थलमा पनि ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन ।
बस्तीमा ब्ल्याकआउट
आक्रमण तीव्र भएपछि खतराको संकेत स्वरुप साइरनहरु बजाइएको छ । जम्मू, किश्तवाड, अखनुर, साम्बा र पठानकोटमा बत्ती समेत निभाइएको छ । राजस्थानका सबै सीमा क्षेत्रका जिल्लाहरूमा पूरै ब्ल्याकआउट गरिएको छ । पञ्जाबको जालन्धर र अमृतसर तथा बिकानेर र श्रीगंगानगरमा पनि पूर्णरूपमा ब्ल्याकआउट गरिएको छ ।
आईपीएलको खेल चलिरहेको बेलामा पनि स्टेडियमको बत्ती केहीबेर निभाइएको थियो । त्यसपछि खेल नै स्थगित गरिएको हो । स्टेडियमबाट दर्शकहरुलाई घर फर्काइएको छ ।
सुरक्षाकर्मीहरुले घर, पसल र आफ्ना सवारी साधनहरुको बत्ती निभाउन आह्वान गर्दै माइकिङ गरिरहेका छन् । उनीहरुले घरबाट बाहिर ननिस्किन पनि भनेका छन् । स्थानीयवासीहरूका अनुसार धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ र मानिसहरुमा आतंक छ ।
पहलगाम आक्रमणपछि चर्कियो द्वन्द्व
कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु गरेको थियो ।

भारतले पाकिस्तान नियन्त्रित कश्मिरका ५ र पाकिस्तानकै भूमिका ४ गरी ९ स्थानमा एयर स्ट्राइक गरेको थियो । तीमध्ये पाकिस्तानको बहावलपुर भन्ने स्थानमा भएको आक्रमणबाट आतंकवादी संगठन जैश ए मोहम्मदका एक जना कमाण्डर मसुद अजहरको परिवारका १० जना मारिएका छन् । उनीहरु मारिएको जैश ए मोहम्मदले समेत स्वीकार गरेको छ ।
भारतको आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तान सरकारले समेत पुष्टि गरेको छ ।
‘अपरेसन सिन्दूर‘ नाम दिइएको भारतको एयर स्ट्राइकपछि सीमा क्षेत्रमा दुवैतर्फबाट आक्रमण तीव्र भएको छ । अन्धाधुन्ध गोलीबारीका कारण सयौं बासिन्दा भूमिगत बंकरहरूमा शरण लिन वा सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् । आक्रमणबाट घर, सवारीसाधनहरू, धार्मिक केन्द्र लगायतका अन्य भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।
यति ठूलो आक्रमण सन् २०२१ को २५ फेब्रुअरीमा भएको संघर्षविराम सम्झौताको नवीकरणपछिकै पहिलो भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
प्रतिक्रिया 4