
२४ वैशाख, काठमाडौं । भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तानमाथि हमला सुरु गरेको छ । भारतले यो आक्रमणलाई किन ‘अपरेसन सिन्दूर’ नाम दियो होला ?
शक्ति राष्ट्रहरूले कुनै पनि सैन्य कारबाही गर्नुअघि, अपरेसन कहाँ हुने, कसरी हुने, कसलाई लक्षित गर्ने भनेर रणनीति बनाउँछन् । भारतले पनि यही गरेको हो । यसअनुसार सैन्य कारबाहीको महत्वलाई ख्याल गरेर हमला वा मिसनको नाम राख्छन् । नामकरण पछाडि गोप्यता, प्रेरणा वा मनोवैज्ञानिक मानसिकतासमेत जोडिन्छ ।
सैन्य कारबाहीको मिसनमा कोडमा आधारित नामहरू समेत तय गरिन्छ । प्रतीकात्मक नामकरण गर्ने अभ्यास संसारभरि छ । देशभित्रै आन्तरिक कारबाही चलाउँदा समेत यो अभ्यास हुन्छ ।
भारतीय सञ्चारमाध्यमले पहलगाम आक्रमणमा कैयन निर्दोष व्यक्तिहरू मारिएकोसँग यसको सम्बन्ध जोडेका छन् । भारतीय भूमितर्फ पर्ने कश्मिरको पहलगाम २२ अप्रिलको दिन पर्यटकलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।
पुरुषहरू मारिँदा तिनका श्रीमतीहरूको सिन्दूर पुछिएकाले उनीहरूको ‘न्याय’ का निम्ति भारतले सैन्य कारबाहीको नाम ‘अपरेसन सिन्दूर’ राखेको एबीपी न्युजले लेखेको छ ।
नेपाल र भारतीय समाजमा हिन्दु संस्कार अनुसार विवाह गर्दा वरले बधुको सिउँदोमा सिन्दूर लगाइदिने चलन छ । विवाह पश्चात श्रीमानको मृत्यु भएमा श्रीमतीले सिउँदोको सिन्दूर पुछ्ने गर्छन् ।
एबीपी न्युजका अनुसार २२ अप्रिलको दिन पहलगाम आक्रमणमा मारिएका निर्दोष व्यक्तिका श्रीमतीको सिन्दूर पुछिएको भनेर भारतले पाकिस्तानमाथिको सैन्य कारबाहीको नाम नै ‘अपरेसन सिन्दूर’ राखेको हो ।
तर, यही कारण यो नाम राखिएको हो भनेर एबीपी न्युजले कुनै सरकारी अधिकारीमार्फत् पुष्टि गरेको छैन ।
अलजजिराले पनि ‘अपरेसन सिन्दूर’लाई सांस्कृतिक र भावनात्मक सन्दर्भसँग जोडेर व्याख्या गरेको छ ।
सिन्दूर हिन्दू महिलाहरूले श्रीमान जीवित रहेको संकेतस्वरूप निधारमा लगाउने रातो रंगलाई जनाइने उल्लेख गर्दै अलजजिराले श्रीमानको मृत्यु भएपछि सिन्दूर लगाउने प्रथा रोकिने हिन्दुहरूको धार्मिक/सांस्कृतिक परम्पराबारे उल्लेख गरेको छ ।
२२ अप्रिलमा पहलगाम क्षेत्रमा भएको दर्दनाक घटनासँग यो नामलाई जोड्दै उक्त घटनामा खासगरी गैरमुस्लिम पुरुषलाई निशाना बनाएको र ती मारिएका पुरुषहरुको श्रीमती विधवा बनेको भन्दै अप्रेसनको नाममा ‘सिन्दूर’ जोडिएको उल्लेख गरिएको छ ।
यसरी ‘अप्रेसन सिन्दूर’ नाममार्फत भारतले त्यस त्रासदीप्रति भावनात्मक प्रतिक्रिया व्यक्त गरेको अर्थ्याइएको छ ।
प्रतिक्रिया 4