+

एन्फा साधारणसभा : भित्र उद्‍घाटन, बाहिर लफडा

२०८२ वैशाख  २६ गते ११:२८ २०८२ वैशाख २६ गते ११:२८

कडा सुरक्षा घेराका बीच एन्फाको साधारण सभा आयोजना गरिएको छ ।

एन्फा साधारणसभा : भित्र उद्‍घाटन, बाहिर लफडा

२६ वैशाख, धुलिखेल । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद भएको छ ।

तर धुलिखेल नगरपालिकाको हलभित्र साधारण सभाको उद्‍घाटन समारोह आयोजना गरिएको थियो । राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारण सभा उद्‍घाटन गरे । संक्षिप्त रुपमा उदघाटन समारोह सम्पन्न गरी बन्दसत्र सुरु हुँदै छ ।

साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै आयोजकले थापालाई गेटमै रोक्दा विवाद भएपछि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरीको डिएसपीकै नेतृत्वको टोली साधारण सभा स्थलमा परिचालन गरिएको थियो ।

थापा र उनका समर्थकहरु भने भित्र प्रवेश गर्न पाउनुपर्ने माग राखे पनि सुनुवाइ भएन । थापाको भनाइ थियो, ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो ।’

उदघाटन समारोहमा थापालाई प्रवेशमा रोक लगाएको विषयमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ बोल्न चाहेनन् ।

एन्फाका प्रवक्ता सुरेश शाहले भने अदालतबाट आएको फैसलाबारे औपचारिक जानकारी नभएको जिकिर गरे । ‘यसको प्रक्रिया होला, सचिवालयमा पेपरहरु आउला,’ उनले भने, ‘हामीले के बुझ्न जरुरी छ भने, ‘एन्फाको अहिले केस हेर्नुहुन्छ भने २५–३० केस छन् । कुन सचिवालयमा आयो/आएन भन्ने सबै विषयहरु सचिवालयले मलाई जानकारी गराउने हो । त्यो जानकारी पछाडि मैले आधिकारिक हिसाबले बोल्ने हो । तर वास्तविक के छ भन्ने जबसम्म मैले सचिवालयसँग सम्पर्क गर्न सक्दिनँ तबसम्म मलाई पनि थाहा हुँदैन ।’

‘अदालतको निर्णय मान्ने कि नमान्ने ?’ भन्ने प्रश्नमा उनले ‘अदालतको निर्णय मान्दैनौं’ नभनेको जिकिर गरे ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै भएका थिए । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए ।

थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा परेका थिए ।

प्रतिबन्ध अवधिमा उनले सामाजिक सन्जाल र मिडियाहरुमार्फत् एन्फाको गतिविधिको चर्को आलोचना गर्दै आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

यसबीच प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा आफूलाई रोक लगाउन सक्ने संकेत पाएको भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए ।

२१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल गएका थिए ।

एन्फा साधारणसभा गणेश थापा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय