+

कपाल उमार्न औषधि नै काफी : प्रा.डा. एके झा

२०७५ चैत  ८ गते १२:५२ २०७५ चैत ८ गते १२:५२
कपाल उमार्न औषधि नै काफी : प्रा.डा. एके झा

८ चैत, काठमाडौं । छाला रोगको उपचारमा प्रा.डा. अनिलकुमार झा (एके झा) अब्बल नाम हो । उनी डर्माटोलोजी विषय पढाउने नेपालको पहिलो प्राध्यापक पनि हुन् । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)मा डर्माटोलोजीमा एमडी (डक्टर अफ मेडिसिन) सुरु गर्ने पनि उनै हुन् ।

हाल महाराजगञ्जस्थित डि स्किन हेल्थ एण्ड रिफरल सेन्टरका संस्थापक अध्यक्ष तथा सिनियर कन्सल्टेण्ट डर्माटोलोजिस्टका रुपमा कार्यरत एके झा जोरपाटीको नेपाल मेडिकल कलेजको डर्माटोलोजी र भेनेरियोलोजी विभागका प्राध्यापक पनि हुन् ।

प्रा. डा. झाको स्थायी घर जनकपुर हो । जनकपुरबाटै एसएलसी र आईएस्सी गरेका उनी अलाहबादको मोतीलाल नेहरु मेडिकल कलेजका एमबीबीएस र बनारस हिन्दू विश्वविद्यालय (विएचयू) का एमडी हुन् । उनले डर्माटोलोजी सर्जरीमा एमडी सक्दा केश नपलाए, आँखीभौं काटिए वा खराब भए रौं रोप्ने बायोप्सी पञ्च प्रविधि आइसकेको थियो । १९९५ मा नेपाल आएपछि उनकै पहलमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा त्यो सेवा भित्रियो ।

अहिले सुन्दा सहज लागेपनि त्यो बेला आईओएममा बायोप्सी पञ्च प्रविधि भित्र्याउन बडा गाह्रो थियो । ‘एक त नयाँ प्रविधि, त्यसमाथि महँगो थियो’, प्रा. डा. झा सम्झन्छन्, ‘फेरि त्यो प्रविधि अपनाएका विरामीलाई बारम्बार अस्पताल धाइरहनुपर्ने बाध्यता थियो । यी कारणहरुले गर्दा सुरुमा धेरै समस्या भयो ।’

जसरीतसरी समस्या झेल्दै नेपालमा यो सेवाप्रति विश्वास बढाएका उनलाई अवरोधहरुले कहिल्यै छाडेन । त्यही क्रममा अवकास पाउने समय पाँच वर्ष बाँकी रहँदै राजिनामा दिएर आईओएम छाड्नुपर्‍यो ।

निरुत्साहित गरिएपछि राजिनामा

प्रा. डा. झाले डि–स्किन हेल्थ एण्ड रिफरल सेन्टर खोल्नुभन्दा करिब १० वर्ष अगाडि त्रिवि शिक्षण अस्पतालमा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने एउटा राम्रो इन्सटिच्यूट बनाउन जोडबल गरेका थिए ।

तर आईओएमका हर्ताकर्ता सामु उनको केही सीप चलेन । त्यसपछि राजीनामा दिएर निजी अस्पतालमा आफ्नो ‘भिजन’ लागु गर्न खोजे । ‘त्यो पनि सम्भव नभएपछि बाध्य भएर सन् २००९ मा यो सेन्टर खोलें’, डा. झा भन्छन्, ‘तर, यस्तो इन्ष्टिच्युट त सरकारी अस्पतालमा हुनु पर्थ्यो नि !’

उनले काम गर्न खोजेको ठाउँ अहिले पनि खाली छ । त्यहाँको जनशक्तिको राम्रो सदुपयोग भएको छैन । त्यो जनशक्तिसँग त्यो ठाउँमा काम गर्न पाएको भए योभन्दा धेरै राम्रो गर्न सकिने डा. झालाई लाग्छ । ‘योभन्दा सस्तोमा यही सेवा पाउने मानिस आजको भन्दा धेरै हुन्थे’, उनी भन्छन् ।

अन्तिम हतियार प्रत्यारोपण

डा. झाका अनुसार रोगले, चोटपटक लागेर, गलत सौन्दर्य प्रसाधन लगायत २–३ वटा कारणले रौं झर्ने वा खुइलिने समस्या हुन्छ । युरोपमा तालु खुइलिने समस्या आम समस्या हो । त्यहाँ ६० प्रतिशतसम्म पुरुषमा कपाल झर्ने समस्या छ ।

पुरुषको कपाल विशेषगरी वंशाणुगत कारणले छिटो झर्छ वा खुइलिन्छ । त्यसबाहेक, विभिन्न किसिमका रसायनयुक्त कलर र जेलको कारण पनि चाँडै कपाल झर्छ । डा. झा भन्छन्, ‘हामीकहाँ चाहिँ केमिकल्स एजेन्टका कारण पुरुषको कपाल खुइलिएको मेरो अनुभवमा छैन ।’

दक्षिण पूर्वी एसियाली समाजमा कपाल कपाल खुइलिने समस्यालाई अभिशापको रुपमा लिइन्छ । यही कारण कपाल प्रत्यारोपणका लागि अस्पताल आउनेको संख्या धेरै छ । त्यसमा पनि पुरुष धेरै हुन्छन् ।

खाने र लगाउने सही औषधीको ठीक प्रयोगले ४० देखि ५० प्रतिशत खुइले तालुमा कपाल उमार्न सकिने डा. झा बताउँछन् । त्यसबाहेक, स्थायी (फिक्स्ड) विग (नक्कली कपाल) राखेर पनि खुइलेपन हटाउन सकिने उनले बताए ।

‘खास अवसरको लागि मात्र हो भने अस्थायी विग प्रयोग गर्न सकिन्छ’, डा. झा भन्छन्, ‘प्राकृतिक जस्तै देखिने फिक्स विगलाई छ महिनाभन्दा बढी समयसम्म टाउकाको छालामा टासेर राख्न सकिन्छ ।’

कपाल रोप्ने (प्रत्यारोपण) प्रविधि पनि छ । नेपालमा पहिले धेरैजसो टाउको पछाडिबाट कपालको स–साना झुप्पा निकालेर बायोप्सी पञ्च प्रविधिबाट खुइलिएको भागमा प्रत्यारोपण गरिन्थ्यो । ‘अहिले त एक–एक वटा कपाल रोप्ने प्रविधि पनि आइसकेको छ’, डा. झा भन्छन्, ‘तर, योभन्दा औषधी खाएर, लगाएर हेर्नु उत्तम हो ।’

उनका अनुसार, कुनै कारणले कपालको जरा सधैंका लागि नष्ट भए प्रत्यारोपण गर्ने हो । कपाल प्रत्यारोपण गर्दा टाउको वा शरीरको अन्य भागको रौको जरा खुइलिएको ठाउँमा राखिन्छ ।

‘कपाल प्रत्यारोपण भनेको अन्तिम हतियार हो, त्यसअघि औषधी चलाएर कपाल उमार्न वा विग प्रयोग गरेर हेर्नुपर्छ’, डा. झा भन्छन्, ‘र पनि, भएन भने अन्तिम अस्त्र चलाउने हो ।’

फेरि कपाल प्रत्यारोपण प्रविधि महंगो पनि छ । एक जनाको कपाल प्रत्यारोपण गर्दा आठ–नौ जनाको टिमलाई कम्तीमा दुईदेखि चार घण्टा लाग्छ । त्यसमाथि नेपालमा यस्तो जनशक्ति कमै भएकाले प्रत्यारोपण गर्ने टिम सही नै पर्छ भन्ने पनि हुँदैन ।

डा. झाका अनुसार, यो उपचारात्मक प्रविधि नभई कस्मेटिक अन्तर्गत पर्छ । अर्थात्, सौन्दर्यको दृष्टिले हेरिएका कारण यो प्रविधि महँगो हुँदै गएको उनी बताउँछन् ।

उनका अनुसार, ४० वर्षभन्दा कम उमेरकामा कपाल प्रत्यारोपण प्रभावकारी हुन्छ । तालु १० सेन्टिमिटरसम्म खाली छ भने टाउको छालालाई फुलाएर ‘हेयर रि–स्टोरेशन प्रोसेस’बाट प्रत्यारोपण गरिन्छ ।

हेर्नुहोस् भिडियो

कपाल प्रत्यारोपणमा आफ्नै शरीरको रौं प्रयोग हुने भएकाले एलर्जीको समस्या हुँदैन । निश्चित भागमा एनेस्थेसिया दिएर प्रत्यारोपण गरिने भएकाले पीडा पनि हुँदैन । एनेस्थेसियाको परिणाम मिलेन भने चाहिँ अत्याधिक रक्तश्रावबाट ज्यान नै जोखिमा पर्नसक्ने डा. झा बताउँछन् ।

विकृति बन्दै प्रत्यारोपण प्रविधि

नेपालमा थुप्रै हेयर ट्रान्सप्लान्ट सेन्टर खुलेका छन् । दुई लाख रुपैयाँ सम्म तिरेर त्यस्ता सेन्टरमा हेयर ट्रान्सप्लान्ट गराउनेको संख्या पनि प्रशस्तै छ । तर, जथाभाबी हेयर ट्रान्सप्लान्ट नगराउन डा. झाको सल्लाह छ ।

त्यसबाहेक, ‘ग्रोथ’ नहुने सम्भावना बढी हुने भएकाले ५० वर्ष काटेकाहरुले कपाल प्रत्यारोपण नगर्दा नै राम्रो हुने उनको भनाइ छ । डा. झा भन्छन्, ‘त्यस्तै, पातलो कपाल भएकाहरुले कपाल रोप्दैमा केही फरक देखाउँदैन ।’

तर, नेपालमा सम्बन्धित व्यक्तिको मागअनुसार नै कपाल रोप्ने वा प्रत्यारोपण गर्ने व्यापार बढेको छ । यसलाई उपचार होइन, विकृतिको रुपमा बुझ्नुपर्ने डा. झा बताउँछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?