Comments Add Comment

दासढुंगामा अलपत्र मदन–आश्रित !

९ चैत, चितवन । फुस्स उडेको रंग । हेर्दा भित्रबाट नै मन अमिलो बनाएजस्तो गरी उभिएका दुई शालिक । एउटाको घाँटीमा बाँधिएको खादा । अर्को, शालिकको टाउकोमा रहेको टोपी खुस्किन तयार भएजस्तै अवस्था ।

फराकिलो सडकमा एकाहोरो हुइँकिने गाडीको आवाज । तलतिर चुपचाप बगिरहेको नारायणी नदी । वर्षौंदेखि घामपानी, हावाहुरी झेल्दै केही आशामा उभिरहेको जस्तो लाग्ने जननेता मदन भण्डारी र जीवराज आश्रितका दासढुंगामा अलपत्र छन् शालिकहरु । केही वर्षअघि नै दुवै नेताको शालिकका चश्मा तोडिए ।

तत्कालीन एमाले विभाजन हुँदा बनेको मालेले स्वर्गीय नेताद्वय भण्डारी र आश्रितका शालिकसहितको केही संरचना बनायो । मदन–आश्रितको शालिक भएको स्थानभन्दा केहीपर जीप खसेको स्थानसम्म जान बार लगाएर पेटी तयार गरियो । त्योभन्दा बढी कसैले केही गरेको छैन ।

मदन भण्डारी र जीवराज आश्रितको निधन भएको केही वर्षपछि मदन–आश्रित स्मृति विश्रामस्थलको नाममा एउटा समिति बन्यो । समितिको अध्यक्ष बनेका जागृतप्रसाद भेटवालको गत वर्ष निधन भयो । सो समितिले दुर्घटनास्थलभन्दा उत्तरतर्फ रहेको स्वर्गीय सूर्यबहादुर मास्केको करिब दुई विगाहा जग्गा १० लाख रुपैयाँमा किन्यो र त्यहाँसम्म पुग्ने सडक बनायो । शालिक रहेको स्थानमा सामान्य जाली लगाउने बाहेक अरू काम भएन ।

राष्ट्रपति बन्नुअघि मदन भण्डारी फाउण्डेशनको तत्कालीन अध्यक्षको हैसियतमा विद्या भण्डारीले गाँजीपुरमा मदन भण्डारीको अर्धकदको शालिक राख्ने ठाउँ शिलान्यास गरिन् । त्यो शालिक अझैसम्म स्तम्भमाथि बस्न पाएको छैन । शालिक मदन भण्डारी स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गौरस तामाङको घरमा थन्किएको छ

सो समितिका उपाध्यक्ष रहेका बद्री अधिकारी समितिको स्मृति पनि धुमिल भएको बताउँछन् । समिति अहिले पूर्ण रूपमा निष्कृय छ ।

मदन भण्डारी र जीवराज आश्रितको दुर्घटना हुँदा तत्कालीन नेकपा एमालेको जिल्ला अध्यक्ष रहेका नेता विजय सुवेदी पार्टीले सत्तामा जाँदा समेत दासढुंगा दुर्घटनाको छानविन र सो क्षेत्रको पूर्वाधार निर्माणमा त्यति चासो नदिएको भन्दै आफू दुःखी भएको बताउँछन् ।

‘सबैले कुराका लागि कुरा गरे, कामका लागि कुरा गरेनन् केन्द्रीय नेताको प्राथमिकतामा समेत परेन,’ प्रदेश सभाका सांसद समेत रहेका सुवेदीले भने, ‘प्रि–प्लानसहित जिम्मेवारीपूर्वक काम गर्ने कुनै पनि निकाय भएनन्, पार्टीले पनि यसबारेमा केही सोचेन । दासढुंगा र गाँजीपुर क्षेत्रको विकास कसरी गर्ने भन्ने बारेमा कुनै गुरूयोजना छैन ।’

मदन भण्डारीको शालिक अध्यक्षको घरमा !

दासढुंगाको तुलनामा मदन भण्डारी शव भेटिएको गाँजीपुरमा केही संरचनाहरू निर्माण गरिएका छन् । तर, पर्याप्त छैनन् । दुर्घटनास्थलबाट गाँजीपुर करिब ३० किलोमिटर टाढा पर्दछ । गाँजीपुरको नारायणी बगरमा मदन भण्डारीको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

गाँजीपुरमा मदन भण्डारी स्मृति पार्क निर्माण उपभोक्ता समिति गठन गरिएको छ । त्यसको अध्यक्ष छन् गौरस तामाङ ।

राष्ट्रपति बन्नुअघि मदन भण्डारी फाउण्डेशनको तत्कालीन अध्यक्षको हैसियतमा विद्या भण्डारीले गाँजीपुरमा मदन भण्डारीको अर्धकदको शालिक राख्ने ठाउँ शिलान्यास गरिन् । त्यो शालिक अझैसम्म स्तम्भ माथि बस्न पाएको छैन । शालिक मदन भण्डारी स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गौरस तामाङको घरमा थन्किएको छ ।

उपभोक्ता समितिका अध्यक्ष तामाङले शालिक असुरक्षित हुने देखिएकाले घरमा नै राखेको बताए । रेशमलाल श्रेष्ठले एक लाख मूल्य बराबरको अर्धकदको शालिक निर्माण गरिदिएका थिए । त्यतिबेला नै शिलान्यास गरिएको एकतले भवन भने निर्माण सम्पन्न भएको छ ।

गाँजीपुरमा ०५५ सालमा निर्माण गरिएका सिमेन्टबाट बनेका तीनबाट छाता छन् । केही स्थानीय नेता कार्यकर्ताले सौजन्य स्वरूप दिएका १४ वटा क्रंक्रिटका बेन्च छन् । ७५ लाखको लागतमा यसपटक भ्यू टावर बनाउने गरी टेण्डर प्रकृया सकिएको अध्यक्ष तामाङ बताउँछन् ।

तर, गाँजीपुरमा स्मृति पार्ककका लागि ३ करोड रुपैयाँमा जग्गा किन्ने भनिए पनि त्यो काम पूरा भएको छैन । मदन भण्डारी स्मृती पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष तामाङले गाँजीपुरको विकासका लागि योजनासहित राष्ट्रपति समक्ष पुगे पनि काम नभएको गुनासो गरे ।

मदन भण्डारीको शव भेटिएको स्थान गाँजीपुर

बिर्सिएका मदन आश्रित

दास ढुंगामा रहेका मदन भण्डारी र जीवराज आश्रितका शालिकले सडकमा यात्रा गर्ने यात्रुहरुलाई स्मरण गराइरहेका छन्, ०५० साल जेठ ३ गते । अर्थात् नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा निधन भएको दिन । दासढुंगाकाण्ड भनेर चिनिने यो घटना भएको २५ वर्ष पुग्यो ।

हरेक वर्ष जेठ ३ गते तत्कालीन एमाले आवद्ध स्थानीय नेता–कार्यकर्ता दासढुंगा पुग्ने गर्दछन् । वर्ष दिनको श्राद्ध गरेजस्तै नेताद्वयको शालिकमा फूलमाला चढाउँछन्, मुठ्ठी कस्छन् र फर्किन्छन् । त्यसपछि यो स्थान कुर्ने तिनै शालिक बाहेक कोही हुँदैन । कसैले वास्ता गर्दैन । कसैले संरक्षण गरेको पनि छैन । नदी किनारको छेउमा लगेर थन्काइदिएको जस्तो अनूभुति हुन्छ ।

मदन भण्डारीले राजनीति सिकाएका र सँगै काम गरेका नेता अहिले हेलिकोप्टर चढ्ने भएका छन् । उनीहरूसँग सडकमा गुड्ने समय छैन । सडकमा गुड्ने जनताले सास्ती पाउँछन् । आकाशमा उड्ने नेताहरुले मस्ती गर्छन् । स्वर्गीय नेताको स्मृतीमा हुने कार्यक्रममा कुनै केन्द्रीय नेता आउन आवश्यक ठान्दैनन् । उनीहरूको रोजाई र प्राथमिकतामा दासढुंगा कहिल्यै पर्दैन ।

नेपाली राजनीतिका सर्वाधिक चर्चित नेताको रहस्यमय ढंगबाट अवसान भएको यो ठाउँको विकासमा पटक–पटक सत्ताको नेतृत्व गरेको साविक एमाले र हालको नेकपाका नेताले यी शालिकको संरक्षणमा सुको पैसा खर्च गरेका छैनन् ।

नजिकै एउटा मोटर हिँड्ने पुल बनेको छ । बन्दाबन्दै यही पुललाई पनि हावाले उडाइदियो । पछि बनेको पुल अहिलेसम्म उद्घाटन भएको छैन । पुलले देवघाटका जनतालाई राहत पक्कै भएको छ । तर, दुर्घटनास्थल क्षेत्रको विकासमा अरू चासो छैन ।

मदन भण्डारीको नाम भँजाएर गफको रास लगाउने धेरै छन् । गुट चलाउने पनि छन् । संघसंस्था खोल्ने बग्रेल्ती छन् । तर, मदन–आश्रितको रहस्यमय मृत्यु भएको दासढुंगा सधैं उपेक्षामा परेको छ ।

गाँजीपुरमा मदन भण्डारीको शालिक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी

स्वर्गीय नेता मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी एक कार्यकाल राष्ट्रपति बनेर दोस्रोपटक अहिले पनि राष्ट्रपति छिन् । दासढुंगा दुर्घटनापछि तत्कालीन एमालेबाट मनमोहन अधिकारीदेखि केपी ओलीसम्म चारजना प्रधानमन्त्री बने । सरकारको नेतृत्व पाँच पटक गरे । पटक–पटक अरूको नेतृत्वमा भएपनि एमालेले सत्ताको गुलियो खान छाडेन । तर, दासढुंगालाई सबैले उपेक्षाको नजर लगाए । तत्कालीन बाबुराम भट्टराईले नारायणगढ–मुग्लिन सडकखण्डको नाम ‘रामराजाप्रसाद सिंह’ राखिदिए ।

बृहत गुरुयोजना निर्माणको प्रयास

मदन–आश्रितको निधन भएको २५ वर्षपछि दासढुंगा र गाँजीपुरलाई जोडेर एकीकृत विकास गर्ने योजना अघि सारिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनको सकृयतामा दासढुंगाको विकास कसरी गर्न सकिन्छ भन्नेबारेमा काठमाडौंमा छलफल चलिरहेको छ । यसको नेतृत्व फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले गरेका छन् ।

मदन भण्डारीको नाम भँजाएर गफको रास लगाउने धेरै छन् । गुट चलाउने पनि छन् । संघ–संस्था खोल्ने बग्रेल्ती छन् । तर, मदन–आश्रितको रहस्यमय मृत्यु भएको दासढुंगा सधैं उपेक्षामा परेको छ

मदन भण्डारी फाउण्डेशन चितवनले दासढुंगामा मदन भण्डारी अध्ययन प्रतिष्ठान, पार्क, संग्रहालय लगायतका पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । उक्त ठाउँमा दुई विघा जमिन यसअघि नै खरिद भइसकेको छ ।

यसैगरी नदी तटीय क्षेत्र देवघाटधाम, नारायणगढ नदी किनार, नगरवन, काभ्रेघाट, ज्ञानेश्वर ब्लक, गाँजीपुर, गोलाघाट लगायतका क्षेत्रको एकीकृत विकास गर्ने योजना बनाएको फाउण्डेशनका अध्यक्ष डा. भट्टराईले जानकारी दिए ।

जिल्लाका अन्य नेताहरुको पनि साथ लिएर डा. भट्टराईले विकासको पहल अघि बढाएका छन् । उनले दासढुंगा र गाँजीपुरको विकासमा अब ढिलाई स्वीकार्य नहुने बताए । भरतपुर महानगरपालिकालाई पनि यसमा जोडिएको छ । दासढुंगादेखि देवघाट, गाँजीपुर, गोलाघाट हुँदै त्रिवेणीसम्मको नदी तटीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको डा. भट्टराईले जानकारी दिए ।

प्रदेश नं. ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले यो परियोजना अगाडि बढाइएको बताएका छन् । विगतका सरकारहरूले अघि बढाउन नसकेको परियोजना वर्तमान सरकारले प्राथमिकताका साथ अगाडि बढाएको दावी डा. देवकोटाको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो परियोजनाको अधिकांश भाग भरतपुर महानगरपालिकाभित्र पर्ने भएकाले महानगरका तर्फबाट पूर्ण सहयोग र सहभागिता रहने बताइन् ।

नेकपा नेता एवम् प्रदेश सांसद विजय सुवेदी पनि मदन भण्डारीका जन्मघर, दासढुंगा र गाँजीपुरलाई विकास गरिनुपर्ने बताउँछन् । ‘दासढुंगा प्रिय नेताहरुको स्मृतिमा बन्ने राजनीतिक तीर्थस्थल हुन सक्छ,’ सांसद सुवेदीले भने, ‘चीनमा माओको, भारतमा माहात्मा गान्धीको समाधिस्थल जस्तै गरी विकास गर्न सकिन्छ, यसमा सरकारले चासो दिनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment