
३० असाेज, विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदी चोरीको स्कुटरसहित विराटनगरको सीमावर्ती क्षेत्र दरैयाबाट पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल बुधबार राति पक्राउ परेका हुन् ।
उनी विराटनगर महानगरपालिका-१ नेताचोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भारत तर्फ जाँदै थिए ।
विराटनगरबाट चोरी भएको मोटरसाइकल तथा स्कुटर भारतीय बजारमा बिक्री हुन्छ । बिक्री गर्न उद्देश्यसहित उनी भारततर्फ जान लागेको देखिएको प्रहरीको भनाइ छ ।
जैसवाललाई चोरीको स्कुटरसहित विराटनगर-१६ दरैयाबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
जैसवाल यसअघि मोटरसाइकल चोरीकै मुद्दामा कैदमा थिए । चोरी मुद्दामा जिल्ला अदालत सुनसरीले गत जेठ ३० गते उनलाई ५ महिना कैद र १० हजार जरिबानाको फैसला गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा उनी अन्य कैदीबन्दीसँगै कारागारबाट भागेका थिए ।
जैसवालविरुद्ध मोरङ प्रहरीले पुन चोरी मुद्दा चलाउने तयारी गरेको छ । उनलाई बाँकी कैद भुक्तानका लागि झुम्का कारागारमा पठाउनेछ ।
भदौ २४ गते राति झुम्का कारागारबाट १ हजार ५ सय ८६ जना भागेका थिए । ती मध्ये ९ सय ७९ जना कारागार फर्किएका छन् । बाँकी फरार छन् ।
सिन्धुलीबाट भागेका कैदी घरमा
जिल्ला कारागार सिन्धुलीबाट फरार भएका कैदी मोरङबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार नपालथान गाउँपालिका–३ सोराभागबाट ३९ वर्षीय उपेन मण्डल पक्राउ परेका हुन् ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनी जेनजी आन्दोलनका बेला भदौ २४ गते फरार भएका थिए ।
जिल्ला अदालत मोरङले उनलाई ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो । उनको १ वर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ ।
प्रतिक्रिया 4