
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा नेताहरुले खुला रूपमा आवाज उठाएका छन्।
- गत ६ साउनमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय भएको थियो, तर अहिले त्यसलाई सच्याउन दबाब बढेको छ।
- केन्द्रीय सदस्यहरुले भण्डारीको सदस्यता नवीकरणसँगै भीम रावलको कार्बाही फिर्ता गर्नुपर्ने र ओलीलाई आजीवन अध्यक्ष बनाउने प्रस्ताव पनि राखेका छन्।
२८ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा आवाज उठाउने नेताहरु उल्लेख्य संख्यामा देखिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा नभएको र छलफलको एजेण्डा समेत नरहेको यो विषयमा केन्द्रीय सदस्यहरुले बोलिरहेका छन् । गत ६ साउनमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने र राजनीतिमा आउन रोक लगाउने निर्णय भएको थियो ।
त्यतिखेर पनि यो विषय बैठकको एजेण्डामा थिएन । ‘त्यसबेला एजेण्डामा नभएको विषयमा निर्णय भयो, त्यो गल्ती सच्याउन यो बैठकमा दबाब बढेको देखिन्छ,’ एक नेताले भने । विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा नेताहरुले खुलेर कुरा राखिरहेको उनी बताउँछन् ।
‘गएको केन्द्रीय कमिटी बैठकमा विद्या भण्डारीलाई राजनीतिमा आउन दिन हुन्न भन्ने आवाज उठाउनेहरुको एकछत्र चलेको थियो । अरु एजेण्डालाई ओझेलमा पार्नेगरी नेताहरुले विद्या भण्डारीको सदस्यता नवीकरण दबाव दिएका थिए,’ उनी भन्छन्, ‘तर यो बैठकमा विद्या भण्डारीको विपक्षमा लगभग शून्य आवाज छ । पुरापुर डिफेन्सिभ छ ।’
तर ठीक उल्टो विद्या भण्डारीले चाहँदा रोक्न नहुने आवाज उठाउनेहरुले खुलेर कुरा राखिरहेका छन् । ‘अघिल्लो बैठकमा केही महिला नेताहरुले मात्रै विद्या भण्डारीको कुरा गर्नुभएको थियो । यसपटक पुरुषहरु पनि बढ्नुभयो,’ एक नेताले आफ्नो अनुभव सुनाउँछन् ।
बैठकको पहिलो दिन, बुधबार सरिता न्यौपाने, सर्मिला कार्की, सोम मिश्र, हरि राई र विद्या सुन्दर शाक्यले विद्या भण्डारीको पक्षमा बोलेका थिए । उनीहरुले पार्टीभित्र एकता कायम राख्न पनि विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने आवाज उठाएका थिए ।
‘अर्को बैठकबाट सदस्यता नवीकरण हुने कुरा भएको थियो । तर अहिलेसम्म किन नवीकरण भएन ?,’ शर्मिला कार्कीको प्रश्न थियो । अरु नेताले पनि एमाले निर्माणमा ओली जत्तिकै योगदान भण्डारीको पनि रहेको तर्क गरेका थिए ।
दोस्रो दिन, आज पनि डेढ दर्जन केन्द्रीय सदस्यले खुलेर विद्या भण्डारीको सदस्यताबारे बोलेका छन् । बैठक स्रोतकाअनुसार ममता गिरी, राम अवतार, रविन कोइराला, रमेश पौडेल, नविना लामा, प्रभा बराल, रचना खड्का, युवराज बास्कोटा, दीपा शर्मा, मञ्जु देवी गुरुङ, प्रकाश शाह, झपट रावल, दिवाकर देवकोटा, तुलसा दाहाल, रामप्रित पासवान, माधव अर्याल, गणेश पहाडी र केदार न्यौपानेले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने मत राखेका छन् ।
‘निषेधको राजनीति गरेर पार्टी बन्दैन । एमाले बनाउन अरु नेताहरु जत्तिकै योगदान विद्या भण्डारीले पनि गर्नुभएको छ, त्यसैले उहाँलाई रोक्न मिल्दैन भनेर कुरा उठ्यो,’ एक नेताले भने ।
उनका अनुसार विद्या भण्डारीलाई स–सम्मान पार्टीभित्र काम गर्ने वातावरण बनाउनुपर्ने आवाज उठेको थियो । ‘उहाँलाई विवादमा पार्ने काम गरिएको छ । अनावश्यक तर्क र आरोप लगाइएको छ,’ उनीहरुको तर्क थियो, ‘अब स–सम्मान पार्टी काममा निरन्तरताको वातावरण बनाउनुपर्छ ।’
नेताहरुका अनुसार विद्या भण्डारीको सदस्यता नवीकरण नगर्दा पार्टीलाई क्षति पुगेको साझा उनीहरुले बैठकमा उठेको थियो । ‘जनतामा पार्टीको लोकतान्त्रिक छवि कमजोर हुँदै गएको छ । फौजदारी अभियोग बाहेक अन्य विषयमा व्यक्तिको पार्टी सदस्यता समाप्त गर्नु कसैको लागि पनि राम्रो नजीर होइन,’ रचना खड्काको प्रस्ताव थियो, ‘पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण खुला गरिदिनुपर्छ ।’
अर्का केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले त सदस्यता खोस्ने कुरा कम्युनिष्ट पार्टीमा ठूलो अपमानको विषय भएको तर्क गरेकी थिइन् । रुसको एक उदाहरण दिँदै उनले भनेकी थिइन्, ‘..मर्ने बेला के चाहिन्छ भनेर सोध्दा पार्टीको सदस्यता र पार्टीको झण्डा भनेका थिए । कम्युनिष्ट पार्टीमा लाग्नेहरुलाई सदस्यता अत्यधिक प्यारो हुन्छ ।’
विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने कुरा संवेदनशील विषय भएकाले निर्णय सच्याउन उनको आग्रह थियो । ‘यो संवेदनासँग जोडिएको विषय हो, उहाँलाई किन आउट गरियो ? यसको जवाफ दिनुपर्छ,’ गुरुङले भनेकी छन् ।
माधव अर्यालले विद्या भण्डारी राजनीतिमा आउँदा कुनै नोक्सान नहुने तर्क गरेका थिए । ‘उहाँले राजनीतिमा आउँदा हामीलाई के घाटा हुन्छ ? हामी सोच्नुपर्छ,’ उनको तर्क थियो ।
राम अवतार, युवराज बास्कोटा, दिवाकर देवकोटा, झपट रावल, प्रकाश शाह, ममता गिरीहरुले पनि विद्या भण्डारीलाई निषेध गर्दा पार्टीको लोकतान्त्रिक छवि राम्रो नगएको तर्क गरेका थिए ।
भण्डारीको सदस्यताबारे जवाफ दिनै नसक्ने परिस्थिति रहेको बताएकी थिइन् । ‘जनताले सोध्यो भने हामीसँग के उत्तर हुन्छ ?,’ गिरीले भनिन्, ‘यो निर्णयले नकारात्मक सन्देश गइरहेको छ ।’
विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्छ भन्ने मागसँगै भीम रावललाई गरिएको कार्बाही फिर्ताको आवाज पनि बैठकमा उठेको छ । केन्द्रीय सदस्यहरु झपट रावल र प्रकाश शाहले विद्या भण्डारीसँगै भीम रावलको कुरा उठाएका थिए ।
‘भीम रावलको कुरा मात्र होइन, हिजो एमाले पृष्ठभूमिका सबै नेताहरुलाई घर फिर्ता गर्नुपर्छ भन्ने आवाज बलियोगरी उठेको छ,’ अर्का एक नेताले भने, ‘विद्या भण्डारी अथवा भीम रावलको नामै नलिइकन यस्तो आशय राख्ने नेताहरुको संख्या धेरै देखियो ।’
जस्तो कि संगठन विभागका सचिव समेत रहेका माधव ढुंगेलले विद्या भण्डारीको सदस्यताबारे सचिवालयमा छलफल गरिनुपर्ने प्रस्ताव राखेका थिए । ‘विवादित बनाएर ल्याउनु राम्रो होइन । उहाँको भूमिकाबारे प्रष्ट भएर आउनु राम्रो हुन्छ,’ ढुंगेलको प्रस्ताव थियो, ‘यो विषयमा सचिवालयमा छलफल गरिनु राम्रो हुन्छ ।’
विद्या भण्डारीको सदस्यता नवीकरण गरिनुपर्ने पक्षमा खुलेर नेताहरुले बोलेको बैठकमा केही नेताले केपी ओलीलाई आजीवन अध्यक्ष घोषणा गरेर जानुपर्ने प्रस्ताव समेत राखेका थिए ।
केन्द्रीय सदस्यहरु महम्मद समीर र महम्मद हारुन हलुवाईले ओलीलाई आजीवन अध्यक्षको प्रस्ताव गरेका थिए । ‘१० वर्ष केपी ओलीलाई भन्ने सुनिन्छ । तर उहाँलाई आजीवन अध्यक्ष बनाइनुपर्छ भन्ने प्रस्ताव दुई केन्द्रीय सदस्यले राख्नुभएको थियो,’ स्रोतले भन्यो ।
प्रतिक्रिया 4