
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिरमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ।
- २४८८ प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए, तर बैठकमा नियमित महाधिवेशनमा जोड दिइएको थियो।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन आवश्यक नभएको र नियमित महाधिवेशन समयमै गर्ने विश्वास व्यक्त गरे।
३० मंसिर, काठमाडौं। १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको ५३ प्रतिशत भन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशन माग गरे पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनमै जोड दिइएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेका बैठकमा बोल्ने अधिकांश केन्द्रीय कार्यसमिति सदस्यहरूले नियमित महाधिवेशन आयोजना गरेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका हुन्।
कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका छन्। नेता गुरूराज घिमिरेले बुधबार देशभरबाट संकलित हस्ताक्षर कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।
विशेष महाधिवेशनका लागि संकलन गरिएको हस्ताक्षर बुझाइएको एक दिनपछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताले भने विशेष नभएर नियमित महाधिवेशनमै जानुपर्ने बताए।
महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू पेस गरिसकेपछि सबैभन्दा पहिलो मन्तव्य राखेका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी मंसिरमा नियमित महाधिवशेन हुनुपर्ने बताए।
कांग्रेसको भावी कदमबारे देशभित्र र बाहिरबाट समेत चासोका साथ हेरिएको उल्लेख गर्दै उनले भने, ‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं?’
कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउन मंसिरमा १५औं महाधिवेशन हुनुपर्ने नेता कोइरालाको भनाइ थियो। महामन्त्रीले मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने विश्वास उनको थियो।
‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु,’ कोइरालाले भने, ‘त्यसमा मेरो पूर्ण समर्थन रहने छ भन्ने स्पष्ट पार्न चाहन्छु।’ उनले विशेष महाधिवेशनका सन्दर्भमा उठेका र पार्टीमा उर्जा भर्नका लागि हस्ताक्षर अभियान सञ्चालन गरिएको रूपमा आफूले बुझेको बताए।
‘विशेष महाधिवेशनको सन्दर्भमा उठेका र कागे्रसभित्रबाट साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै ऊर्जा भर्नका लागि होे भनी म बुझ्छु,’ कोइरालाले भने, ‘यी सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनबाट मात्र सम्भव छ भन्नेमा म विश्वस्त छु।’
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विशेष महाधिवशेन गर्दा जेनजी पुस्ता प्रतिनिधि हुन नपाउने बताए। विशेष महाधिवशेन गर्दा १४ औं महाधिवेशनकै प्रतिनिधि हुने हुँदा नयाँले प्रतिनिधि हुन नपाउने उनको भनाइ थियो।
जेनजीको कुरा गर्ने, तर पुराना महाधिवेशन प्रतिनिधिबाट अधिवेशन गर्न सुहाउँछ?,’ आक्रामक रूपमा प्रस्तुत भएका बस्नेतले प्रश्न गरे, ‘नयाँ प्रतिनिधि आउन नदिने, अनि नयाँ भन्ने?’ नेता बस्नेतले विशेष महाधिवेशनका लागि भन्दै सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियान गलत भएको जिकिर गरे।
केन्द्रीय सदस्य गुरू बरालले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताए। विशेष महाधिवेशनका लागि चलाइएको हस्ताक्षर संकलन अभियानले पार्टीमा विभाजन आएको भन्दै उनले बिहीबारकै बैठकबाट एकताको सन्देश दिनुपर्नेमा जोड दिए।
‘यो संसद् विघटन असंवैधानिक छ। हस्ताक्षर संकलनले पार्टीमा विभाजन आयो,’ नेता बरालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘एकताको सन्देश आजै आओस्।’
अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पनि नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए। ‘महाधिवेशन नियमित नै गरौं,’ उनले भने। कँडेलले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनप्रति सशंय प्रकट गरे।
बैठकको सुरूवातमै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए। त्यसक्रममा उनले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको केन्द्रीय कार्यसमितिलाई जानकारी दिए।
विशेष महाधिवशेनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरूको जोड नियमित महाधिवेशन हुनुपर्नेमा रहेको कार्यवाहक सभापति खड्काको भनाइ थियो।
‘मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित महाअधिवशन हुनुपर्छ भन्ने विषय मुख्य हो,’ खड्काले बैठक सुरु गर्दै भने, ‘केन्द्रीय कार्यसमिति बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं।’
नियमित महाधिवशेनको वातावरण बनेको अवस्थामा विशेष महाअधिवेशन आवश्यक नहुने र त्यही दिशामा आफूहरू अघि बढ्ने कार्यवाहक सभापति खड्काको भनाइ थियो।
विशेष महाधिवेशन बैठकको एजेन्डामै छैन: प्रवक्ता महत
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको एजेन्डा नै नरहेको बताए। सञ्चारकर्मीहरूलाई बैठकबारे ‘ब्रिफिङ’ गर्दै उनले नियमित अधिवेशनलाई नै अगाडि बढाइने जिकिर गरे।
‘हाम्रा एजेन्डामा विशेष महाधिवेशन छैन। नियमित अधिवेशन नै अगाडि बढाउने तर, कहिलेसम्म गर्न सकिन्छ भन्ने बारेमा केन्द्रीय समितिको बैठक टुङ्गिँदासम्म हामी एउटा निष्कर्षमा पुग्छौं,’ प्रवक्ता महतले भने।
उनले विशेष महाधिवेशनको एजेन्डा नभए पनि बैठकमा यसबारे सामान्य कुरा उठेको जानकारी दिए। ‘विशेष महाधिवेशनको एजेन्डा नै प्रवेश गरेन। यद्यपि, बोल्ने क्रममा त्यसको ‘रेफ्रेन्स’ कुराहरू आए,’ महतले भने, ‘महामन्त्रीजी र उपसभापतिजी (कावा सभापति) ले यो दर्ता भएको कुरा गर्नुभयो।’
प्रवक्ता महतका अनुसार बिहीबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले मुलुकको वर्तमान चुनौतीपूर्ण अवस्थालाई कांग्रेसले नै अगुवाइ गरेर चिर्न सक्ने धारणा राखेका थिए।
‘चुनौतीपूर्ण अवस्था छ। यो चुनौतीपूर्ण अवस्थालाई नेपाली कांग्रेसले नै अगुवाइ गरेर चिर्न सक्दछ भन्ने कुरा नै साथीहरूले राख्नुभएको छ,’ उनले भने, ‘हाम्रा पार्टी सभापतिमाथि भएको आक्रमणको निन्दा बैठकले गरेको छ। सभापतिको मार्ग निर्देशनलाई मध्यनजर राखेर अगाडि बढ्ने कुरा भएको छ। यो निर्णय नै हो।’
महाधिवेशनमा सबैको सहभागिताको चासो
बैठकमा बोलेका केन्द्रीय सदस्यहरूले महाधिवेशनका बारेमा आ–आफ्नो धारणा राखेको पनि प्रवक्ता महतले जानकारी दिए। ‘बोल्ने साथीहरूले अधिवेशनका सम्बन्धमा पनि बोल्नुभएको छ। अधिवेशन चाँडोभन्दा चाँडो कसरी गर्न सकिन्छ, त्यो व्यवहारिक पनि होस्, गर्न सक्ने पनि होस्, सबैको सहभागिता पनि सुनिश्चित होस् र, विधि प्रक्रियाहरू पनि राम्रोसँग ‘फलो’ गरियोस्। त्यस किसिमबाट अधिवेशन कहिले गर्न सकिन्छ, त्यसबारेमा केन्द्रीय समितिले निर्णय गर्नुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो,’ महतले भने।
बैठकपछि केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि पुराना पुस्ताको सम्मान र नयाँ पुस्ता आकर्षित गर्नुपर्ने बाटोमा जानुपर्ने बाध्यता कांग्रेससामू देखिएका कारण विशेष भन्दा पनि नियमित महाधिवेशनतर्फ जानुपर्ने प्रतिक्रिया दिए।
‘पुराना पुस्तालाई सम्मान गर्ने र नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बाटोमा जानुपर्ने बाध्यता भएका कारण विशेषभन्दा पनि ‘रेगुलर’ महाधिवेशन तिर जानुपर्छ,’ उनले भने।
नेता खतिवडाले अहिलेको अवस्थामा कांग्रेसले सबैलाई समेटेर जानुपर्नेमा जोड दिए। ‘जेनजी पुस्तालाई महाधिवेशनमा सहभागी गराइएन र पुरानो महाधिवेशन प्रतिनिधिवबाट फेरि महाधिवेशन गर्न लागियो भने त हामी जेनजीका मागहरू सम्बोधन गर्न चुक्छौं,’ उनले भने, ‘कांग्रेसले अहिले सबैलाई समेटेर जानुपर्ने छ।’
बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार शुक्रबार बिहान ११ बजेबाट केन्द्रीय कार्यसमिति बैठक फेरि बस्ने छ। कांग्रेसले बैठकमा बोल्नका लागि प्रत्येक सदस्यलाई ११ मिनेटको समय निर्धारण गरिएको केन्द्रीय सदस्य खतिवडाले जानकारी दिए।
बैठकको प्रारम्भमा कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कार्यसमितिलाई जानकारी गराएका थिए। महामन्त्री थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए।
प्रतिक्रिया 4