Comments Add Comment

आईपीएल : धोनी भर्सेस कोहलीमा कसले मार्ला बाजी ?

८ चैत, काठमाडौं । तपाईं पूर्ण रुपमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा लाग्नुभएको छैन भने त्यहाँ भएको कुनै खेल केही दिनमा बिर्सिसक्नु हुन्छ तर, यदि खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हो भने त्यसले लामो समयसम्म तपाईंको मस्तिष्कमा ठाउँ बनाइरहन सक्छ ।

हुन पनि चौका, छक्काको वर्षासहित रोमाञ्चक खेल आईपीएलमा चेन्नई र बैंग्लोरबीच धेरै पटक देखिसकिएको हो ।

तर यदि जितको आँकडा मात्र हेर्ने हो भने तपाईंलाई त्यो रोमाञ्चकतामा विश्वास नहुन सक्छ । चार पटक फाइनलमा पराजित भएको चेन्नई तीन पटकको आईपीएल विजेता टिम हो भने बैंग्लोर तीन पटक फाइनलमा पराजित भएर उपाधिविहीन रहेको टिम ।

चेन्नईले २०१०, २०११ र २०१८ को आईपीएल जितेको थियो भने २००८, २०१२, २०१३ र २०१५ मा फाइनलमा पराजित भएको थियो । यता बैंग्लोर भने २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

आईपीएल १२ औं सिजनको सुरुवता पनि चेन्नइको चिदम्बरम स्टेडियममा यिनै दुई चेन्नई र बैंग्लोरको खेलबाट सुरु हुँदैछ । जसमा बैंग्लोरको नतिजा भने सुखद छैन । यसअघि चिदम्बरमा खेलेको ७ खेलमा बैंग्लोर ६ खेलमा पराजित भएको छ ।

अहिले अभ्यासकै बेला झण्डै १२ हजार दर्शकले घेरिएको चिदम्बरमा भोलि सभा ८ बजे खेल सुरु नहुँदै हजारौं दर्शक पुग्ने निश्चित छ ।

यसपटक पनि चेन्नईका कप्तान महेन्द्र सिंह धोनिकै पल्ला भारी होला कि बैंग्लोरका कप्तान विराट कोहलीले नयाँ बाटो बनाउलान् ?

किनभने यदि आईपीएलमा चेन्नईविरुद्ध कोही उत्कृष्ट ब्याट्सम्यान देखिएका छन् भने, त्यो विराट कोहली नै हुन् । चेन्नईविरुद्ध सबैभन्दा धेरै ७३२ रन कोहलीले नै बनाएका हुन् । साथै चेन्नईविरुद्ध सबैभन्दा धेरैपटक ३० रन कटाउने ब्याट्सम्यान पनि कोहली नै छन् । उनले १२ भन्दा बढी पटक ३० को आँकडा पार गरेका छन् ।

रोचक के छ भने आईपीएल इतिहासमा बंग्लोरविरुद्ध सबैभन्दा धेरै रन हान्ने ब्याट्सम्यान भने चेन्नई कप्तान धोनि नै हुन् । धोनिले बैंग्लोरविरुद्ध हानेको ७१० रन अहिलेसम्मकै धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment