+
+
Shares

सुधन र सोविताले आपत्तिजनक अभिव्यक्ति दिएपछि राष्ट्रिय सभामा उठ्यो प्रश्न

गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोविता गौतमले माथिल्लो सदनलाई लक्षित गर्दै भ्रामक तथा आपत्तिजनक अभिव्यक्ति दिएपछि राष्ट्रिय सभामा सांसदहरुले प्रश्न उठाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले जेनजी शहीद दिवसको कार्यक्रममा राष्ट्रिय सभाप्रति छेडखानी गरेपछि संसद्को माथिल्लो सभामा प्रश्न उठेको छ ।
  • कानुनमन्त्री सोविता गौतमले विधेयक निर्माणमा राष्ट्रिय सभाका कारण अप्ठेरो परेको भन्दै टिप्पणी गरेपछि सांसद रेणु चन्दले झुटो बोलिएको आरोप लगाइन् ।
  • रेणु चन्दले राष्ट्रिय सभाले कुनै विधेयक नरोकेको भन्दै कानुनमन्त्रीलाई रुलिङ गर्न सभाध्यक्षसँग आग्रह गरिन् ।

२४ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोविता गौतमले भ्रामक तथा आपत्तिजनक अभिव्यक्ति दिएपछि राष्ट्रिय सभामा प्रश्न उठेको छ ।

गृहमन्त्री सुधन गुरुङले मंगलबार राष्ट्रिय सभाप्रति छेडखानी गरेका थिए । जेनजी शहीद दिवसका अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘… धेरै जनाले शब्द नमिल्ला भनेर भन्ला । धन्नले यो राष्ट्रिय सभा चाहिँ होइन रहेछ ।’

संसद्को पुरानो भवन प्राङ्गणमा भएको कार्यक्रममा यति भनिसकेपछि गृहमन्त्री केहीबेर हाँसे । अनि थपे, ‘यो आफ्नै परिवार, आफ्नै घर माझमा बोल्दै गर्दा मेरो मनबाट आएको वक्तव्यलाई स्वीकार्दिनुहुन्छ ।’

सोही कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक निर्माणमा राष्ट्रिय सभा पनि रहेकाले आफूहरुलाई अप्ठेरो परेको भन्दै दोषारोपण गरेकी थिइन् ।

उनले गत चैत १२ मा सरकार गठन भएयताका साढे चार/पाँच महिनाको अन्तरालमा काम गर्दा सहज नभइरहेको टिप्पणी गरेकी थिइन् ।

‘यो साढे चार/पाँच महिनाको अन्तराल सरकारमा रहँदै गर्दा त्यति सहज पनि भइरहेको छैन जति यहाँहरूले प्रतिनिधिसभामा तपाईंहरूसँग बहुमत नम्बर छ भनिरहनुभएको छ । किनभने, कुनै पनि देशमा सरकार चलाउँदै गर्दा, संरचनाहरू चल्दै गर्दा आफ्नै नियम परिधिहरू हुन्छन्,’ उनले भनेकी थिइन् ।

यहाँनेर कानुन मन्त्री गौतमले संघीय संसद्का दुई वटा सभाको कुरा गरिन् ।

‘यहाँहरूलाई थाहा छ, हाम्रो देशमा दुई वटा सभा छन् । दुई वटा सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणित गरिसकेपछि बल्ल कानुन बन्छ । प्रतिनिधिसभामा त करिब दुई तिहाइ छ । एउटा कानुन पास गर्न पुग्ने संख्या छ । तर प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा जान्छ,’ उनले भनिन्, ‘राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति कहाँ गइसकेपछि बल्ल त्यसले कानुनको रूप लिन्छ ।’

अर्थात्, उनले प्रतिनिधिसभाबाट विधेयक पारित गर्न सके पनि राष्ट्रिय सभामा कठिन हुने संकेत गरिन् ।

‘मैले यहाँहरूलाई हामीसँग के छ, के छैन भन्दिनँ । प्रतिनिधिसभामा निर्वाचनबाट निर्वाचित तपाईंहरूले छानेका मानिसहरू हुनुहुन्छ । अब अरू ठाउँमा को हुनुहुन्छ ? कसले सहयोग गर्नुभएको छ ? कसले सहयोग गर्नुभएको छैन ? यो तपाईंहरूले मूल्यांकन गरिरहनुभएको होला,’ उनले भनिन् ।

यहाँनेर थपिन्, ‘सरकारका अप्ठ्याराहरू पनि तपाईंहरूले हेरिरहनुभएको होला । एक दिन पक्कै आउँछ जहाँ तपाईंहरूले छान्नुभएका नेताहरू ती सबै ठाउँहरूमा हुनु हुनेछ र तपाईंहरूले चाहेको जस्तै कानुन निर्माणको यात्रा सजिलो हुनेछ ।’

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ जना सांसद् छन् । राष्ट्रिय सभामा रास्वपाको उपस्थिति छैन ।

राष्ट्रिय सभा सदस्यहरू प्रदेशसभा सदस्यहरू र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतदानबाट निर्वाचित हुन्छन् । प्रदेश र स्थानीय तहको निर्वाचनपछि राष्ट्रिय सभामा रास्वपाको उपस्थिति हुने र कानुन बनाउन सहज हुने कानुन मन्त्री गौतमले बताइन् ।

कानुनमन्त्री गौतमले राष्ट्रियसभामा संख्या नहुँदा काम गर्न गाह्रो भयो भनी दाबी गरे पनि राष्ट्रियसभाले उनी तथा सरकारबाट लगिएका कानुनहरु अस्वीकार गरेको भने छैन ।

मन्त्रीहरूले राष्ट्रिय सभाको मानमर्दन गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको विषयलाई लिएर बुधबार राष्ट्रिय सभाकै बैठकमा प्रश्न उठेको छ ।

‘कानुन मन्त्रीले झुट बोल्नुभएको छ,’ नेकपा सांसद रेणु चन्दले आक्रोशित हुँदै भनिन्, ‘राष्ट्रिय सभाले कुन विधेयक रोक्यो ? कहाँनेर असहयोग गर्‍यो ? जानकारी दिनुपर्‍यो ।’

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यसबारे कानुन मन्त्री गौतमसँग जानकारी माग गरेकी हुन् ।

‘कतिवटा बिल (विधेयक) सरकारले पेस गर्‍यो ? हामीले कति रोक्यौं ? कति फिर्ता गर्‍यौं ? सबैको जानकारी दिनुपर्‍यो,’ उनले भनिन्, ‘मन्त्री स्वयंले जनतालाई मिथ्या सूचना दिने कुरा खतरनाक ।’

राष्ट्रिय सभालाई मानमर्दन गर्न खोजिएको उनको भनाइ छ ।

उनले भनेकी छन्, ‘राष्ट्रिय सभालाई डिफेम गर्न खोज्नुभयो । यो सैह्य छैन । जवाफ चाहियो, कानुन मन्त्रीलाई रुलिङ गर्न म सभाध्यक्षज्यूलाई आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?