१७ साउन, महोत्तरी । गृहमन्त्री सुधन गुरुङले महोत्तरीको बर्दिबास नगरपालिका–५ मा रहेको प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा गरेका छन् ।
देशमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गर्दै गृहमन्त्री गुरुङले आइतबार टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा–अर्चना गरेका हुन् ।
नेपालको बाबाधाम एवं ‘मधेशको कैलास’का रूपमा परिचित टुटेश्वरधाम पुगेको अवसरमा गृहमन्त्री गुरुङले मन्दिरमा दर्शन तथा पूजा गरेका हुन् ।
पूजापछि उनले साउन महिनाभर सञ्चालन भइरहेको धार्मिक मेलाको सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र श्रद्धालुलाई प्रदान गरिएका सेवा सुविधाबारे समेत जानकारी लिएका थिए ।
मन्दिरका पुजारी श्रीचन दासले गृहमन्त्रीबाट विशेष पूजा सम्पन्न गराएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले बताए । उनका अनुसार भ्रमणका क्रममा टुटेश्वरनाथ महादेव मन्दिरको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे गृहमन्त्रीलाई जानकारी गराइएको थियो ।
मन्दिरको संरक्षण, प्रवर्द्धन र विकासका लागि पुरातात्विक अध्ययन आवश्यक रहेको विषयमा समेत उनको ध्यानाकर्षण गराइएको अध्यक्ष यादवले बताए ।
साउन महिनाभर ‘नेपालको बाबाधाम’का रुपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा नेपाल र भारतका लाखौं श्रद्धालु जल चढाउन आउने गर्छन् । यस अवधिमा यहाँ लाग्ने धार्मिक मेलाले टुटेश्वरधामलाई मधेशकै प्रमुख तीर्थस्थलका रुपमा स्थापित गरेको छ ।
मन्दिर दर्शनपछि गृहमन्त्री गुरुङ टुटेश्वरधाम परिसरस्थित श्री रत्न छोलिङ गुम्बासमेत पुगेका थिए । त्यहाँ उनले गौतम बुद्धको प्रतिमा ढोग्दै शान्तिको कामना गरेका थिए ।
प्रतिक्रिया 4