Comments Add Comment

दुई करोडमा बिकेको हरियो तस्वीरको कालो कथा

९ चैत, काठमाडौं । सोभियत युद्धको शुरुवाती वर्षको कुरा हो । त्यतिबेला अमेरिकी फोटो पत्रकार स्टिभ म्याक्करी अफगानिस्तानमा बसेर नेसनल जियोग्राफिकका लागि तस्वीर खिच्थे ।

सन् १९८४ को एक दिन म्याक्करीले अफगानिस्तानको छात्राहरू पढ्ने एउटा विद्यालयमा गएर आठ वर्षीय शरबत गुलाको तस्वीर खिचे । तस्वीरमा रातो रंगको फाटेको शल ओढेर हरियो आँखा भएकी शरबतले एकटकले क्यामरामा हेरिरहेकी छन् ।

यो तस्वीर १९८५ को जुन महिनामा नेसनल जियोग्राफिक पत्रिकाको आवरण पृष्ठमा छापियो । त्यसपछि यो संसारकै लोकप्रिय तस्वीरको सूचिमा चढ्यो । यसले फोटो पत्रकार म्याक्करीलाई जबरजस्त प्रसिद्धि र परिचय दियो ।

पश्चिमी देशका पाठकका लागि यो तस्वीर अफगानिस्तान र शरणार्थी संकटको प्रतीक नै बन्यो । जबकी नेसनल जियोग्राफिक पत्रिकाभित्र शरबतका बारेमा एक शब्द पनि लेखिएको थिएन ।

तस्वीरको क्याप्सनमा लेखिएको छ– हन्टेड आइजः टेल अफ ऐन अफगान रिफ्युजीज फियर्स’ ।

अमेरिकन फोटो (भिडियो) ब्लगर टोनी नर्थरुपले खुलासा गरेका छन्–तर त्यो तस्वीरमा देखिएको डर शरणार्थी संकटको नभई फोटोग्राफर म्याक्करीको बढी थियो । यो तस्वीर प्रकाशित भएको १७ वर्षपछि म्याक्करीले नेसनल जियोग्राफिक टेलिभिजन तथा फिल्मका कर्मचारीसँग मिलेर शरबतलाई फेरी भेटे ।

नेसनल जियोग्राफिकको २००२ अप्रिल अंकको आवरणमा शरबतलाई कसरी फेला पारियो भन्ने विस्तृतमा उल्लेख छ । ‘अ लाइफ रिबिल्ड’ शीर्षकमा छापिएको म्यागेजिनको आवरण कथामा शरबतलाई भनिएको छ । उनका बाबाअमा अफगानिस्तानको बमबारीमा मारिएको उल्लेख छ ।

तर यो कुरा झुठो सावित भइसकेको छ । शरबत आफैले के बताईसकेकी छिन् भने उनकी आमाको मृत्यु एपेन्डिसाइटिसबाट भएको थियो । र, उनका बाबामा पनि बमबारीमा मारिएका होइनन् । उनी जीवित छन् र पाकिस्तान गएका छन् ।

२००२ मा भएको एक साक्षात्कार कार्यक्रममा शरबतलाई यो तस्वीर खिच्दा तँपाईलाई कस्तो महशुस भयो भनेर सोधिएको थियो । उनले तस्वीर खिच्ने बेलामा आफू आक्रोशित र उदास भएको बताएकी छन् ।

फोटो ब्लगर नर्थरुपले यस्तो तथ्य प्रस्तुत गरेका छन् की ती तथ्य म्याक्करी कार्यरत नेसनल जियोग्राफीका सम्पादक र बाँकी जनतालाई पनि थाहा थिएन ।

फोटोग्राफर स्टीभ म्याक्करी एक अपरिचित थिए । परम्परावादी पस्तुन संस्कृति अनुसार कुनै पनि केटी अपरिचित व्यक्तिका अगाडि अनुहार नछोपी जाँदैनन् । आँखा पनि मिलाउँदैनन् । तर, यो तस्वीरमा तस्वीर खिचाउनका लागि पर्याप्त प्रकाश र सफा पृष्ठभूमिमा लगिएको छ ।

जब फोटो पत्रकार म्याक्करी अफगानिस्तानको एक विद्यालयमा पुगे उनको नजर हरियो आँखा भएकी शरबत गुलामाथि पर्‍यो । भलै त्यतिबेला शरबतले आफ्नो अनुहार लुकाउने कोशिस गरेकी थिइन् । त्यसपछि म्याक्करीले शरबतको शिक्षकसँग सहयोगको आग्रह गरेर यो तस्वीर खिच्न सफल भए ।

नर्थरुपले आफ्नो अध्ययनबाट पत्ता लगाएका छन्– म्याक्करीले ८० को दशककै पहिलो ग्ल्यामर्स पोज गराएका थिए । शरवतको काँध क्यामरातर्फ झुकेको थियो । अनुहार सामुन्ने फर्केको थियो । लाइट राम्रो मिलाइएको थियो ताकी आँखाको चमक र आईकन्ट्याक्ट नबिग्रियोस् । जुन शरबत कहिले पनि गर्न चाहन्नथिन् ।

म्याक्करी अझै धेरै तस्वीर लिन चाहन्थे । तर, शरबत त्यहाँबाट भागिन । पत्रिकामा शरबतको विषयमा केही लेखिएको थिएन । यतिसम्मकी शरबतको नामसम्म उल्लेख थिएन (म्याक्कसरीले नाम पत्ता लगाउन समेत आवश्यक ठानेन) । उनले यो तस्वीर प्रकाशित गर्छु भनेर शरबत र उनका बुबासँग अनुमति पनि लिएका थिएनन् ।

अन्ततः शरबतले आफ्नो तस्वीर पत्रिकामा देखिन् र भनिन्, ‘म त्यतिबेला निकै नर्भस र उदास थिएँ ।’

सन् १९८५ मा यो पत्रिका पहिलो पटक प्रकाशित भएपछि संसारभरिका लाखौं पाठक कहाँ पुगेको थियो । पत्रिकामा शरबतको बारेमा केही उल्लेख थिएन । क्याम्पसनमा अफगानी शरणार्थीको आँखा जसले युद्धको बयान गरिरहेको थियो भन्ने उल्लेख थियो ।

‘तर यो कुरा गलत हो । किनभने उनको आँखामा देखिएको डर एक अपरिचित पुरुष उनको संस्कृति विपरीत विद्यालयमा नजिक आउकाले देखिएको थियो’ फोटो ब्लगर नर्थरुपले भनेका छन् ।

म्याक्करी र नेसनल जियोग्राफकले मोटो रकम लिएर यो तस्वीर बेचेको थियो । स्टिभले २० इन्टु २४ इन्चको यो तस्वीर १९ लाख ८० हजार रुपैयाँ (१८ हजार डलर)मा बेचेका थिए । यसको ठूलो प्रिन्ट एक करोड ९६ लाख ७९ हजार रुपैयाँ ( एक करोड ७८ लाख नौ सय डलर) मा बिक्री भएको थियो ।

शरबत नक्कली परिचयपत्र राखेको आरोपमा २०१६ मा पाकिस्तानमा पक्राउ परेकी थिइन । उनलाई १५ दिन जेलमा राखेर अफगानिस्तान पठाइएको थियो ।

आफू पाकिस्तानमा पक्राउ पर्नुमा यो तस्वीर जिम्मेवार रहेको शरबतको भनाई छ । उनी भन्छिन्, ‘यो तस्वीरले मेरो लागि फाइदा भन्दा पनि धेरै समस्या खडा गर्‍यो, यसले मलाई लोकप्रिय बनायो । तर, मेरो गिरफ्तारीको कारण पनि बन्यो ।’

त्यतिमात्रै होइन, नेसनल जियोग्राफिकको आवरण पृष्ठमा तस्वीर आएपछि अफगानी कट्टरपन्थीबाट निरन्तर खतरामा परिन् । किनभने कट्टरपन्थीहरू मिडियामा महिला आउनु हुँदैन भन्ने मान्यता राख्छन् ।

फोटो ब्लगर नर्थरुपले भनेका छन्, ‘इतिहासमा फोटो पत्रकारिताको भयानक दूरुपयोग भएको छ, प्राय: फाइदाका लागि गरिबको शोषण हुने गरेको छ ।’

अफगानी युवती शरबतको तस्वीर कुन अवस्थामा लिइयो भन्ने जान्दाजान्दै यो तस्वीरको चौतर्फी प्रशंसा हुनुको अर्थ हो, अहिले पनि ठूलो परिवर्तनको खाँचो छ ।

स्रोत– दिवायर डटइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment