+
+
Shares

कांग्रेस संस्थापनको छुट्टै भेला : मंसिरमा महाधिवेशन नगर्ने, चुनावमा केन्द्रित हुने रणनीति

संस्थापन पक्ष आगामी फागुनअघि पार्टीको १५औँ महाधिवेशन गर्न सम्भव नरहेको दाबी गरिरहेको छ । संस्थापन पक्षीय नेताहरू २१ फागुनको चुनावमा केन्द्रित हुनपर्ने भएका कारण त्यसअघि महाधिवेशन गर्न उपयुक्त नहुने बताउँछन् ।

केशव सावद केशव सावद
२०८२ कात्तिक १० गते २१:०६
पूर्णबहादुर खड्का । फाइल तस्वीर

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपछि पार्टी संस्थापन पक्ष आन्तरिक रणनीतिमा जुटेको छ ।

पार्टीको विधानमा टेकेर १४औँ महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा लिखित निवेदन दर्ता गरिएको छ ।

अन्तरिम सरकारले प्रतिनिधिसभा चुनावको मिति तोकेसँगै कांग्रेस पार्टीमा विशेष महाधिवेशनको माग उठेको हो ।

विशेष महाधिवेशन पक्षधर समूहले २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित लिखित आग्रह गरेको थियो ।

कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाएर लिखित निवेदन दिएको अवस्थामा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशनका लागि लिखित आग्रह गरेकै दिन कार्यवाहक सभापति खड्काले संस्थापन पक्षीय नेताहरूसँग छलफल गरेका थिए ।

ललितपुरको सानेपामा रहेको एक होटलमा बैठक सम्पन्न भएको भोलिपल्ट (३० असोज) बाट कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डासहित छलफल सुरु भएको थियो । हस्ताक्षरकर्ता प्रतिनिधिहरूको मागअनुसार बैठकमा विशेष महाधिवेशनको प्रस्तावले प्रवेश भने पाएको छैन ।

सोही होटलमा गत शनिबार (८ कात्तिक) संस्थापन पक्षीय नेताहरूको दोस्रो बैठक बसेको थियो । बैठकमा सहभागी स्रोतका अनुसार कार्यवाहक सभापति खड्काले दोस्रो बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारी तथा केही प्रभावशाली केन्द्रीय सदस्यहरूलाई बोलाएका थिए ।

‘१४औँ महाधिवेशनमा शेरबहादुर दाइलाई सभापतिमा सार्वजनिक र नैतिक समर्थन गरेका सबै नेताहरू थियौँ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीको जारी केन्द्रीय समिति बैठक र महाधिवेशनको कार्यतालिकाबारे छलफल भएको हो ।’

समूहको बैठकमा विशेष महाधिवशेनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको भावना सम्बोधन गर्ने गरी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय लिने सहमति भएको बैठकमा सहभागी अर्का नेताले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक १३ कात्तिकका लागि बोलाइएको छ । १ कात्तिकमा बसेको बैठक शोक प्रस्ताव पारित गर्दै १२ दिनका लागि स्थगित गरिएको थियो ।

पछिल्लोपटक बसेको केन्द्रीय समिति बैठक ।

संस्थापन पक्ष केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन फेरि आन्तरिक छलफलको तयारीमा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिइन् । ‘कात्तिक १२ गते फेरि बस्ने कुरो छ । सबैलाई दिउँसो १ बजे आउन भनिएको छ,’ ती नेतृले भनिन् । उनले बैठकस्थलबारे भने खुलाइनन् ।

पार्टीका तर्फबाट एक पटक सरकारमा सहभागी भइसकेका संस्थापन पक्षीय एक नेताले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्नुपर्ने आफूहरूको राय रहेको प्रतिक्रिया दिए ।

संस्थापन पक्ष आगामी फागुनअघि पार्टीको १५औँ महाधिवेशन गर्न सम्भव नरहेको दाबी गरिरहेको छ । संस्थापन पक्षीय नेताहरू २१ फागुनको चुनावमा केन्द्रित हुनपर्ने भएका कारण त्यसअघि महाधिवेशन गर्न उपयुक्त नहुने बताउँछन् ।

पार्टीका तर्फबाट एक पटक सरकारमा सहभागी भइसकेका संस्थापन पक्षीय एक नेताले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्नुपर्ने आफूहरूको राय रहेको प्रतिक्रिया दिए ।

‘चुनावपछि महाधिवेशन गर्नु पार्टीको हितमा छ । फागुनमा चुनाव भयो भने वैशाखमा महाधिवेशन हुन्छ,’ ती नेताले अनलाइनखबरसँग भने, ‘चुनाव नै वैशाखमा सर्‍यो भने फागुनमा महाधिवेशन गर्न सकिन्छ ।’

संस्थापन पक्षीय अर्का नेताले पनि प्रतिनिधिसभा चुनावको तयारी गर्ने गरी १५औँ महाधिवेशनको मिति तोकिने प्रतिक्रिया दिए । ‘चुनावको तयारी गर्ने गरी महाधिवेशनको मिति तोकिन्छ,’ ती नेताको भनाइ थियो, ‘चुनाव हुने हो भने त्यसअघि महाधिवेशन हुन सक्दैन ।’

पूर्व उपसभापति विमलेन्द्र निधिले अनलाइनखबरसँगको अन्तर्वार्ताका क्रममा २१ फागुनको प्रतिनिधिसभा चुनाव सम्पन्न भएपछि चैतदेखि जेठभित्र महाधिवेशनको कार्यतालिका ल्याउँदा हुने बताएका छन् ।

कार्यवाहक सभापति खड्काले २३ भदौको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर प्रष्ट मार्गचित्रसहित कांग्रेस अघि बढ्ने बताए ।

‘चुनाव सम्पन्न भएपछि चैत, वैशाख वा जेठ महिनामा गर्ने गरी कार्यतालिका बनाए भइहाल्यो नि,’ उनले भनेका छन् ।

दुई दिन (३० र ३१ असोज) सम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश केन्द्रीय सदस्य र आमन्त्रित सदस्यका रूपमा बोलाइएका प्रदेश सभापतिहरूले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।

विशेष महाधिवेशनको मागलाई पार्टीको नियमित महाधिवेशनको सीमाभित्र जोडेर बृहत एकताका साथ अघि बढ्ने कार्यवाहक सभापति खड्काको भनाइ छ । ‘पार्टीका महाधिवेशन प्रतिनिधिहरूले प्रस्तुत गर्नुभएको विशेष महाधिवेशनको प्रस्तावलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी सम्पूर्ण एकताका साथ अघि बढ्छौँ,’ उनले भने ।

कार्यवाहक सभापति खड्काले जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन लगायत विषयहरूमा निर्णय गरिने बताए ।

‘एकता र समीक्षाको जगबाट निकालिएको निष्कर्षका आधारमा चालु केन्द्रीय समिति बैठकबाट हामी निर्णयहरू गर्नेछौँ,’ उनले भने, ‘जति विषयहरू हामीले अघि सारेका छौँ, ती सबै विषयमा व्यापक छलफल चलिरहेको छ । फरक कोण र जोडलाई एकत्रित गरेर चुनाव, पार्टीको नियमित अधिवेशनलगायत विषयमा एकताका साथ अघि बढ्छौँ ।’

कार्यवाहक सभापति खड्काले २३ भदौको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर प्रष्ट मार्गचित्रसहित कांग्रेस अघि बढ्ने पनि बताए । ‘केन्द्रीय समितिबाट विशेष कार्यक्रम र प्रष्ट मार्गचित्रसहित अघि बढ्नेछौँ,’ उनले भने ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?